खेलकुद

स्टिभन जेरार्ड कुनै दिन लिभरपुलको प्रशिक्षक बन्‍ने नै छन् : लुइस स्वारेज

इकागज |
असार ९, २०७८ बुधबार १०:५५ बजे

काठमाडौँ : लुइस स्वारेज साडे तीन वर्ष लिभरपुलमा रहे । डच क्लब आयाक्सबाट जनवरी, २०११ मा लिभरपुलसँग आबद्ध भएका स्वारेजले इंग्लिस क्लबका लागि १ सय ३३ खेल खेल्दै ८२ गोल गरे भने ८२ असिस्ट दर्ता गरे । लिभरपुललाई २०१३/१४ सिजनमा इंग्लिस प्रिमियर लिग उप-विजेता बन्‍न मद्दत गरेका स्वारेज एनफिल्डमा निकै लोकप्रिय रहे । 

उनै स्वारेजले हालै लिभरपुल र प्रिमियर लिगबारेमा प्रतिक्रिया दिएका छन् । उनले लिभरपुल समर्थकहरूसँग आफ्नो हार्दिक सम्बन्ध रहेको बताएका छन् । उनले भविष्यमा लिभरपुलबाहेक अर्को इंग्लिस क्लबबाट खेल्न आफूलाई अप्ठेरो हुने पनि बताए । 


‘इंगल्यान्डमा लिभरपुल बाहेकको क्लबबाट खेल्न मलाई सजिलो हुने छैन । किनभने अहिले पनि लिभरपुल समर्थकहरूसँग मेरो सम्बन्ध राम्रो छ । मैले लिभरपुललाई लिग जित्न मद्दत गर्न सकिन । लिभरपुलसँग लिग जित्न सकेको भए विशेष हुन्थ्यो । जे होस लिभरपुल योर्गेन क्लपको नेतृत्वमा च्याम्पियन बनेको छ,’ स्वारेजले वल्र्ड सकर म्यागजिनसँग भनेका छन्, ‘च्याम्पियन बन्‍न लिभरपुलले धेरै वर्ष पर्खनु पर्‍यो । अब भने लिभरपुल इंगल्यान्डमा बलियो टिम बनेको छ । र, आउँदा वर्षहरूमा पनि लिभरपुलले थप उपाधि जित्नेछ ।’

लिभरपुल छाडेर बार्सिलोना गएका स्वारेजले त्यहाँ स्पेनी ला लिगा, च्याम्पियन्स लिग सहित कुल १३ उपाधि जिते । गत सिजन मात्रै एथ्लेटिको म्याड्रिडसँग आबद्ध भएका स्वारेजले डिएगो सिमओनेको टिमलाई पनि ला लिगा च्याम्पियन बनाए । 

हाल कोपा अमेरिकामा व्यस्त रहेका ३४ वर्षीय स्ट्राइकरले प्रिमियर लिग फर्कने प्रस्ताव आए आफू फर्कन तयार रहेको संकेत गरे । तर त्यस्तो प्रस्ताव लिभरपुलले राख्नुपर्ने स्वारेजको धारणा थियो । यद्यपि आफू एथ्लेटिकोमा खुशी रहेको भन्‍न छुटाएनन् । ‘अहिले म एथ्लेटिकोमा खुशी छु । सिमओने पनि म बाट खुशी छन् । त्यसकारण अहिले नै एथ्लेटिको छाड्नेबारेमा सोच्‍न जरुरी छैन,’ स्वारेजले भने । 

उरुग्वेली स्ट्राइकरले स्टिभन जेरार्ड र रेन्जर्सबारेमा प्रतिक्रिया दिए । ‘जेरार्डले रेन्जर्समा राम्रो गरिरहेका छन् । उनले त्यहाँ लिग जित्दा मलाई अचम्म लागेन । कुनै दिन उनी लिभरपुलको प्रशिक्षक बन्‍नेछन्,’ स्वारेजको भनाइ थियो । 


Author

थप समाचार
x