खेलकुद

पेलेसँग नेयमारको तुलना : गोल कीर्तिमान त तोड्लान, तर के पेले झैँ महान खेलाडी पनि दरिएलान् ?

इकागज |
असार १०, २०७८ बिहिवार ६:३० बजे

काठमाडौँ : नेयमार आउँदो विश्वकपसम्ममा ब्राजिलको सर्वकालिन उच्च गोलकर्ता बनिसक्ने अनुमान छ । हाल यो कीर्तिमान पेलेको नाममा छ । जसले आफ्नो खेल जीवनमा ७७ गोल गरेका थिए । नेयमार हाल पेलेको कीर्तिमान नजिक पुगेका छन् । कोपामा बिहीबार कोलम्बियाविरुद्ध मैदान उत्रनु अघि नै नेयमारले ब्राजिलका लागि ६८ गोल गरिसकेका छन् ।   

नेयमारले गोलको कीर्तिमान त राख्लान् । तर के सर्वाधिक गोल संख्याका भरमा उनले महान ब्राजिलियन खेलाडीको पगरी कमाउलान् त ? कतिपयले भन्न सक्छन्, ‘लेजेन्ड’ बन्न नेयमारले विश्वकप जित्नु पर्छ । उनीहरूले थप्न सक्छन्, पेले वा अन्य महान ब्रजिलियन खेलाडीको इज्जत बढेको पनि विश्वकप पदकले त हो । हो, यस मामलामा नेयमार अझैँ कमजोर छन् ।   


नेयमार ब्राजिलको जर्सीमा मैदान उत्रदा, सधैँ दंग देखिन्छन् । टिमका लागि शतप्रतिशत दिने प्रयास गर्छन् । उनले ब्राजिलको जर्सीलाई हलुंगो मानेको देखिँदैन । त्यही भएर हुनसक्छ, पेरुसँगको खेलमा गोल गरेपछि उनी भावुक देखिए । किनभने त्यस गोलले उनलाई पेलेको कीर्तिमान नजिक पुर्‍यायो । 

‘राष्ट्रिय टिमबाट खेल्न पाउनु मेरो अहोभाग्य हो । मैले यतिको संख्यामा गोल गर्नसक्छु भनेर कहिले पनि सोचेको थिइन । यो उपलब्धीले मेरो जिवनमा विशेष महत्व राख्छ । पछिल्ला दुई वर्ष मेरा लागि खराब रहे । त्यसकारण पनि म अहिलेको समयलाई विशेष मान्छु,’ नेयमारले पेरुसँगको खेलपछि भने । 

नेयमारले भनेझैँ गएका दुई वर्ष उनका लागि शुभ रहेन । चोटका कारण कोपा अमेरिका गुमाए । बलात्कारको आरोप पनि खेपे । तर यसपटकको कोपामा उनले तारिफयोग्य खेल देखाएका छन् । सन् २०२० र २०२१ मा गरी नेयमारले छ खेल खेलेका छन् । ती खेलमा उनले सात गोल गरेका छन् । अनि छ असिस्ट पनि उनको नाममा छ । यस अवधिमा ब्राजिलले कुल २० गोल गर्दा नेयमारको संलग्नता १३ गोलमा छ । 

उसो त ब्राजिलले पछिल्लो समय हार्न मानेको छैन । गएका १० खेलमा ब्राजिल अपराजित छ । ब्राजिलको यस किसिमको प्रदर्शनमा नेयमार नायक बनिरहेका छन् । ब्राजिलले कोपा अमेरिकाको उपाधि रक्षा गर्ने हो भने त्यस सफलतामा नेयमारको भूमिका उल्लेख्य रहने अनुमान गर्न सकिन्छ । ब्राजिलको प्रमुख गोलकर्ता रहे पनि नेयमार टिम कप्तान होइनन् । तर उनी टिमका निर्विवाद स्टार हुन् । अनि लिडर पनि । व्यक्तिगत कौशलमा उनलाई पछि पार्ने अर्का ब्राजिलियन खेलाडी छैनन् । 

यति हुँदा हुँदै पनि नेयमारको विरासतलाई लिएर प्रश्न उठ्छ । नउठोस पनि किन, उनले जितेका उपाधिका सूचीमा विश्वकप नभएपछि । यति हुँदा हुँदै पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डलाई ब्राजिलमा पेलेसँग तुलना गर्न छाडिएको छैन । पेलेको उत्तराधिकारी मान्न छाडिएको छैन । जबकि पेलेले तीन विश्वकप जितेका छन् । तर नेयमारले कोपा महादेशिय प्रतियोगिता समेत जित्ने सौभाग्य समेत पाएका छैनन् । 

अब अर्को प्रश्न, के एक असाधारण खेलाडीलाई देशकै सर्वकालिन महान् खेलाडीसँग दाँज्दा कुनै एक प्रतियोगिताकै सहारा लिनुपर्ने हो ? पेले सक्रिय खेलाडी रहँदाको फुटबल र अहिलेको आधुनिक फुटबलमा भिन्नता छैन ? दुई फरक पुस्ताका खेलाडीलाई दाँज्‍न सकिन्छ ? 

नेयमार किशोर नै थिए, जब उनी सान्तोसको स्टार बने । २१ वर्षको उमेरमा बार्सिलोना पगे । हाल पएिसजीबाट खेलिरहेका उनी २९ वर्षका भए । नेयमारका प्रत्येक सफलता लिपिबद्ध गरिएका छन् । उनको प्रदर्शनबारेमा लेखिएका छन् । उनका सबै तथ्यांक स्पष्ट छन् । यद्यपि उनको उदयबाट विश्व चकित भने भएन । जसरी १७ वर्षिय पेलेले ब्राजिललाई विश्वकप जिताउँदा विश्व अवाक् भएको थियो । 

उसो त नेयमारले विश्वकप जित्ने मौका नपाएका होइनन् । ब्राजिल आफैँले विश्वकप आयोजना गर्दा नेयमार र उनका साथीहरू ट्रफी घरमै राख्‍ने योजनामा थिए । तर नेयमार कोलम्बियाविरुद्धको क्वार्टरफाइनलमा घाइते भए । उनको विश्वकप यात्रा त्यही सकियो । बाँकी ब्राजिलियन टिम सेमिफाइनलबाट बाहिरियो । नेयमार ब्राजिलका मुख्य खेलाडी थिए । उनको अनुपस्थितीमा ब्राजिलले जर्मनीसँग लज्जास्पद पराजय व्यहोर्‍यो । 

सन् १९५८ मा विश्वकप जित्दा किशोर रहेका पेले चार वर्षपछि ब्राजिलका मुख्य आर्कषण बनिसकेका थिए । तर चिलीमा भएको १९६२ विश्वकपमा पेले चाँडै घर फर्किए । उनले नेयमारकै नियती भोगे । यद्यपि पेलेबिनाको ब्राजिलले विश्वकप भने जित्यो । किनभने त्यसबखतको ब्राजिलियन टिममा एक सय एक खेलाडी थिए । गारिन्चा देदि अर्मालिदोसम्म । जबकि २०१४ मा नेयमार नहुँदा ब्राजिललाई डोर्‍याउने खेलाडी कोही भएन । 

विश्वकप २०१८ मा त ब्राजिल सेमिफाइनल पनि पुगेन । क्लब करियरको उत्कर्षमा रहँदै गर्दा नेयमार ब्राजिलको जर्सीमा फेरि एकपटक असफल भए । विश्व फुटबलको सर्वोच्च प्रतियोगितामा लगातार असफल हुँदै आए पनि नेयमारले आफूलाई सिद्ध गरिसकेको मान्नेहरू छन् । पेलेको भनाइ पनि यही छ । ‘नेयमारको मुहारमा सधैँ मुस्कान हुन्छ । उनी मुस्कुराएको देख्दा आफूलाई पनि मुस्कुराउन मन लाग्छ । अन्य ब्राजिलियन नागरिक जस्तै म पनि नेयमारको खेलले दंग पर्छु । उनी अवश्य पनि मेरो कीर्तिमान भंग गर्ने बाटोमा छन्,’ नेयमारसँग लिएको तस्बिर इन्स्टाग्राममा राख्दै पेलेले भनेका छन् । 

पेलेले भनेझैँ नेयमार उनको कीर्तिमान भंग गर्ने पथमा अघि बढेका छन् । जसको नजिक सन् १९७१ यता कोही पनि पुग्न सकेको थिएन । माथि उल्लेख गरिएझैँ कतारमा हुने विश्वकपमा भाग लिँदै गर्दा नेयमार ब्राजिलको सर्वकालिन उच्च गोलकर्ता बनिसकेका हुनेछन् । खाडीको गर्मीमा आयोजना हुने त्यस विश्वकप नेयमारका लागि सम्भवत अन्तिम हुनेछ । त्यसकारण पनि नेयमार जसरी भएपनि विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ कतार ओर्लनेछन् । फेरि ब्राजिल पनि छैटौँ विश्वकप उपाधिको प्रतिक्षामा छ । 

नेयमारले ब्राजिलको जर्सीमा एक अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । कन्फेडेरेसन कप २०१३ बाहेक नेयमारले रियो ओलम्पिकमा स्वर्ण पदक पनि जिते । राष्ट्रिय टिमबाट उनले हासिल गरेका उपलब्धी यति हुन् । त्यसकारण जारी कोपा अमेरिका जिते नेयमारले राहतको सास फेर्नेछन् । तर फेरि पनि उनका लागि ठूलो सपना भनेको विश्वकप नै हो । हुन त पेलेले नेयमार आफैँमा एक आइडल भएको भनिसकेका छन् । यद्यपि विश्वकप जिते नेयमार स्वत ब्राजिलका महान् फुटबलरहरूको सूचीमा अट्नेछन् । (गोल डटकमबाट)


Author

थप समाचार
x