खेलकुद

कर्णालीमा दसौं राष्ट्रिय खेलकुद: उत्साहसँगै चुनौतीका सय दिन

इकागज |
साउन २७, २०८१ आइतबार ११:१८ बजे

काठमाडौँ - कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुदको १०० दिने ‘काउन्टडाउन’ सुरु गरेको छ। वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा यो महत्वपूर्ण खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक गरिएपछि अब तयारीको गति तीव्र बनाइएको छ। मंसिर २ देखि सुरु हुने यस प्रतियोगितामा २४ खेल समेटिएको छ ।  जहाँ अधिकांश खेल सुर्खेतमा आयोजना हुनेछन्।

खेलकुद परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले कर्णालीको चुनौतीपूर्ण भूगोल र पूर्वाधार निर्माणको अभावका बाबजुद पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक तयारी भइरहेको बताएका छन्। प्रमुख रंगशालाको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम अन्तिम चरणमा पुगेको छ।


यस महत्त्वपूर्ण आयोजनामा सहभागी हुन आउने खेलाडी र दर्शकको व्यवस्थापनको तयारीमा स्थानीय होटल व्यवसायीहरू समेत जुटिसकेका छन्। यद्यपि, प्रदेशको राजनीतिक अस्थिरता र पूर्वाधार निर्माणको चुनौतीले तयारीमा केही ढिलाइ गर्न सक्ने विश्लेषण गरिएको छ।

एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, बक्सिङ, रग्बी, लगायतका १६ खेल सुर्खेतमा हुनेछन्। अन्य खेलहरू जस्तै कराँते कालिकोटमा, कबड्डी दैलेख र मुगुमा, हक्की हुम्लामा, र बुद्धिचाल जुम्लामा आयोजना गरिनेछन्।

पूर्वाधारको कमीका कारण टेनिस, जिम्नास्टिक, साइक्लिङ लगायतका १३ खेलहरू कर्णालीमा समावेश हुन सकेनन्। हुम्लामा हक्की मैदान र रारामा कबड्डी मैदान तयार भएपनि, डोल्पा र जाजरकोटमा कुनै खेल संरचना नहुँदा प्रतियोगिता हुन सकेन। प्रतियोगिताको समयसीमामा कुनै समस्या नआउने बताइएपनि कर्णालीको सामर्थ्यलाई ध्यानमा राख्दै तयारी तीव्र बनाइएको छ।

 


Author

थप समाचार
x