इंगल्यान्डविरुद्ध जर्मनी : पुराना प्रतिद्वन्द्वीहरूको प्रतिस्पर्धा
काठमाडौँ : युरो २०२० को अन्तिम १६ मा इंगल्यान्ड र जर्मनी भिड्दैछन् । यी दुईबीचको प्रतिद्वन्द्वीता नयाँ होइन । विश्वकप तथा युरोका नकआउट चरणमा इंग्लिस र जर्मन टोली कयौँ पटक आमनेसामने भएका छन् । उनीहरूबीचको प्रतिद्वन्द्वीताको कुरा गर्दा, विश्वकप १९६६ को फाइनल छुटाउनै हुँदैन । जहाँ जर्मनी ४-२ ले विजयी बनेको थियो ।
त्यसयता इंगल्यान्ड र जर्मनीले आपसमा विश्वकपका तीन र युरोको एक नकआउट खेलमा प्रतिस्पर्धा गरेका छन् । विश्वकप १९७० को क्वार्टरफाइनल, विश्वकप १९९६ को सेमिफाइनल र विश्वकप २०१० को अन्तिम १६ मा जर्मनी विजयी भएको थियो । त्यसैगरी युरो १९९६ को सेमिफाइनलमा पनि जर्मनीले इंगल्यान्डलाई निराश बनाएको थियो ।
इंगल्यान्ड र जर्मनीबीच कुल ३६ खेल भएका छन् । तीमध्ये १६ खेलमा इंगल्यान्ड विजयी भएको छ भने १३ खेलको नतिजा जर्मनीको पोल्टामा गएको छ । तर प्रमुख प्रतियोगिताहरूमा भने जर्मनी इंग्लिस टिममाथि हाबी हुँदै आएको छ । पछिल्लो ५५ वर्षको तथ्यांकले यही भन्छ ।
यस पटकको युरो नकआउटमा पनि इंगल्यान्डमाथिको प्रभुत्वलाई जर्मनी कायम राख्न चाहन्छ । वेम्बलीमा आउँदो मंगलबार साँझ हुने खेलबारेमा जर्मनीका प्रशिक्षक योकिम लोले रोचक टिप्पणी गरेका छन् । उनले दुई टिमबीचको खेल जारी युरोकै ‘हाइलाइट’ हुने बताएका छन् । ‘हामीले यो खेल जित्नै पर्छ,’ लोको प्रतिक्रिया थियो । दक्षिण अफ्रिकामा आयोजित विश्वकपकको अन्तिम १६ मा जर्मनीले इंगल्यान्डलाई ४-१ ले हराउँदै उनै लो जर्मन टिमका प्रशिक्षक थिए ।
जर्मनीका राइटब्याक जोसुआ किमिचले वेम्बलीमा इंगल्यान्डको सामना गर्न आफूहरू उत्साहित रहेको बताए । उनी मात्रै होइन, पूरा जर्मनी नै यस खेललाई लिएर उत्साहित छ । यरोमा सन्तोषजनक सुरुवात गर्न नसकेको जर्मनीले बुुधबार हंगेरीसँग बराबरी खेल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस खेल हेर्न जर्मनीका करिब दुई करोड ५० लाख फुटबल समर्थक टेलिभिजन सेट अगाडि थिए । इंगल्यान्डसँगको खेलमा टेलिभिजन हेर्ने जर्मन समर्थकको संख्या बढ्नेमा शंका छैन ।
जर्मनी चौँथो पटक युरोपेली च्याम्पियन बन्ने दाउमा छ । हंगेरीविरुद्धको खेल हार्नबाट जर्मनीलाई बचाएका लियोन ग्रोएज्काले आफूहरु वेम्बली भिडन्तका लागि तयार रहेको सन्देश दिइसकेका छन् । ‘हामीमा अत्मविश्वास जागेको छ,’ बायर्न म्युनिखका मिडफिल्डर ग्रोएज्काले टुईटरमा लेखेका छन् ।
हंगेरीसँगको खेल जर्मनीका लागि वास्तवमै महत्वपूर्ण थियो । तर जर्मनी दुई पटक पछि पर्यो । पहिलो हाफको ११ औँ मिनेटमै जर्मनीले गोल खाउको थियो । ६६ औँ मिनेटमा काई हाबर्टसले गोल गरेपछि जर्मनी १-१ को अवसथामा पुग्यो । दुई मिनेटपछि नै हंगेरीले अग्रता बनायो । दोस्रो हाफमा मैदान प्रवेश गरेको ग्रोएज्काले निर्धारित समय सकिन छ मिनेट रहँदा गोल गरेपछि जर्मनी हारबाट जोगियो ।
हंगेरीविरुद्धको खेल एकदमै कठिन रहेको जर्मनीका प्रशिक्षक लोको भनाइ थियो । ‘तर हाम्रा खेलाडीहरुले बलियो मानसिकता बोकेर खेले र अन्ततः हार टर्यो,’ युरोपछि जर्मन टिमको जिम्मेवारी त्याग्न लागेका लोले भने ।
हंगेरीसँगको खेलमा देखाएको लयले इंगल्यान्डलाई पराजित गर्न नसकिनेमा जर्मन खेलाडीहरू एकमत छन् ।
‘वेम्बलीमा हाम्रा लागि नौलो मैदान होइन । तर त्यहाँ पुग्दा हाम्रो लक्ष्य फरक खेल देखाउने हुनुपर्छ । घरेलु टिम विरुद्ध खेल्दा हामीले पछिल्ला खेलमा गरेका गल्ती दोर्याउनु हुँदैन,’ जर्मन कप्तान म्यानुएल नुएरको भनाइ थियो ।
हुन पनि जारी युरोमा जर्मन टिमको रक्षापंक्ति कमजोर देखिएको छ । हंगेरीविरुद्धको खेलमा पनि जर्मन रक्षकहरुबीच समन्वय सन्तोषनजक देखिएन । समूहको पहिलो खेलमा फ्रान्ससँग हारेको जर्मनीले पोर्चुगललाई जित्न आत्मघाती गोलको भूमिका उल्लेख्य रह्यो । रुस विश्वकपमा निराशाजनक प्रदर्शन गरेको जर्मनीका लागि इंगल्यान्डविरुद्धको खेल उसका युवा प्रतिभाहरूका लागि कठिन परीक्षा हो ।
‘हामीसँग असाधाराण खेलाडीहरू छन् । तर योजना मुताबिकको खेल प्रदर्शन भएन भने हामी खतरामा पर्नेछौं । इंगल्यान्ड आफ्नो घरमा खेल्दैछ । त्यसकारण हामी विशेष चनाखो रहनुपर्नेछ,’ लोले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया