खेलकुद

डेनमार्कका प्रशिक्षक कास्पर हुलमन्ड, जसलाई उनका खेलाडी साथी मान्छन्

इकागज |
असार १२, २०७८ शनिबार १९:५९ बजे

काठमाडौँ: युरो तोकिएको समयमै भएको भए जारी महादेशीय प्रतियोगितामा डेनमार्कका प्रशिक्षक ओग हौराइद नै हुन्थे । तर युरो एक वर्ष पछाडि धकेलिँदा डेनमार्कले प्रशिक्षक परिवर्तन गर्‍यो । र, टिमको जिम्मेवारी लिए कास्पर हुलमन्डले । पूर्वयोजना अनुसार हुलमन्डले युरो सकिएपछि मात्रै डेनमार्कको टिम सम्हाल्नेवाला थिए । 

हौराइदले डेनिस टिमलाई रुस विश्‍वकपको अन्तिम १६ सम्म पुर्‍याएका थिए । त्यस्तै जारी युरोको छनौटमा पनि डेनमार्क अपराजित रह्यो । तर डेनमार्कसँगको सम्झौता सकिन एक वर्षमात्रै रहँदा युरो पछाडि सरेपछि उनको बर्हिगमन निश्‍चित भयो । डेनमार्कको प्रशिक्षक परिवर्तनसँगै खेल्ने शैली पनि परिवर्तन भयो । हौराइद रक्षात्मक शैलीमा खेलेर भएपनि खेल जित्‍नुपर्छ भन्‍ने मान्यता राख्थे । उता हुलमन्ड भने आक्रमक फुटबलमा जोड दिन्छन् । उसो त पुराना दिनहरूमा डेनमार्कको छवि आक्रमक फुटबल खेल्ने टिमकै थियो ।


आफ्नो खेल करियर सानै उमेरमा टुङगाएका हुलमन्ड अहिले डेनिस ‘लिडर’ बनेका छन् । क्रिस्टियन एरिक्सन घटनापछिको अवस्थामा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई डेनमार्कमा तारिफ गरिएको छ । जुन १२ को त्यस घटनापछि डेनिस टिमलाई बाँकी खेलका लागि तयार गर्नु चानचुने कुरा थिएन । साथी एरिक्सन अस्पताल भर्ना भएपछि पिडामा परेका डेनिस खेलाडीहरूलाई ४९ वर्षीय प्रशिक्षकले मानसिक रूपमा बलियो बनाउन सकेका छन् ।  

फेरि एरिक्सनसँग हुलमन्ड आफैँ पनि नजिक थिए । हाल घरमा आराम गरिरहेका इन्टर मिलानका प्लेमेकरको हुलमन्डले बारम्बार प्रशंसा गरेका छन् । आफूसँग नजिक रहेका तथा टिमका सबैभन्दा महत्वपूर्ण खेलाडीलाई हृदयघात भएपछि हुलमन्डले बाँकी टिमलाई प्रभावकारी खेल देखाउन प्रेरित गर्न सकेका छन् । 

डेनमार्कका खेलाडीहरूले पनि आफ्ना प्रशिक्षकको प्रशंसा गर्न कन्जुस्याइ गरेका छैनन् । रुसलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेपछि डेनिस कप्तान कास्पर स्माइकलले सफलताको श्रेय हुलमन्डलाई दिए । ‘हामी खेलाडीहरूको प्रशंसा भएको छ । तर हामीभन्दा पनि धेरै महत्वपूर्ण कोही छ भने, ती व्यक्ति हुलमन्ड हुन्,’ स्माइकलले भनेका थिए । उता रक्षक सिमोन केरको भनाइ पनि स्माइकलको जस्तै छ । ‘हुलमन्ड जस्ता प्रशिक्षकको नेतृत्वमा खेल्न पाउँदा हामी सबैलाई गर्व महसुस हुन्छ । कठिन समयमा उनले देखाएको नेतृत्वदायी भूमिकाको जति तारिफ गरे पनि कम नै हुन्छ,’ केरले भने । 

हुलमन्डले २६ वर्षको उमेरमा आफ्नो खेल करियर त्यागेका थिए । घुँडाको मात्रै नौ पटक शल्यक्रिया गर्नु परेपछि उनले अब खेल्न नसक्ने निर्णयमा पुगे । त्यसपछि उनको ध्यान प्रशिक्षक बन्‍नेतर्फ गयो । सन् २००८ मा उनी डेनिस क्लब नोर्सल्यान्डको सहायक प्रशिक्षक बने । त्यसको तीन वर्षपछि नै उनलाई प्रमुख प्रशिक्षक बनाइयो । सन् २०१२ मा हुलमन्ड डेनिस लिग च्याम्पियन बने । डेनमार्कका सफल प्रशिक्षक दरिएपछि उनको यात्रा जर्मनीतर्फ मोडियो । जहाँ उनी बुन्डेसलिगा खेल्ने क्लब मेन्जको प्रशिक्षकमा नियुक्त भए । थोमस टुचेल बोरुसिया डर्टमन्ड लागेपछि उनलाई प्रतिस्थापन गर्नसक्ने प्रशिक्षकका रूपमा हुलमन्डलाई लिइयो । 

तर उनी जर्मनीमा सफल हुन सकेनन् । मेन्जमा उनी सात महिना मात्र टिके । त्यसपछि उनलाई डेनमार्क फर्कन कर लाग्यो । हुलमन्ड डेनमार्कको प्रशिक्षकमा नियुक्त गर्ने निर्णय विवादरहित रहन सकेन । योहान क्रुफका अनुयायी हुलमन्ड भन्दा रक्षात्मक खेलेर भएर पनि खेल जित्‍नुपर्छ भन्‍ने मान्यता राख्‍ने हौराइद नै डेनमार्कका लागि सही प्रशिक्षक हुन् भन्‍नेको संख्या कम थिएन । 

हुलमन्डको नेतृत्वमा डेनमार्कले लोभलाग्दो खल देखाएको छ । त्यसको उदाहरण, डेनमार्कले विश्‍वकप छनौटमा गरेको प्रदर्शन हो । डेनमार्कले अस्ट्रिया, माल्डोभा र इजरायललाई हराउँदा १४ गोल गर्‍यो भने एक गोल पनि खाएन । हुलमन्डले डेनिस टिमको आफ्नै फरक खेल शैली हुनुपर्ने बताएका छन् । ‘फुटबलमा नतिजा महत्वपूर्ण हुन्छ । तर हामीले डेनिस नागरिकलाई खुशी बनाउने खेल खेल्न पनि जरुरी छ । त्यसका लागि हाम्रो आफ्नै शैली हुन जरुरी छ । हामीले धेरै काम गर्न बाँकी नै छ । जसका लागि सबैजनाको साथ र सहयोग चाहिन्छ,’ हुलमन्डले भनेका छन् ।

डेनिस प्रशिक्षकलाई साथ दिन उनका खेलाडी तयार देखिन्छन् । ‘उनी हाम्रा लागि एकदमै महत्वपूर्ण छन् । उनको खेलाउने शैली हामी खेलाडीहरूका लागि उपयुक्त छ । उनले हामीलाई स्वतन्त्रपूर्वक खेल्न दिन्छन् । उनी हाम्रा प्रशिक्षक त हुँदै हुन् अनि साथी पनि,’ डेनमार्कका रक्षक योकिम माहलेले भनेका छन् । 

शनिबार डेनमार्कले अन्तिम १६ को भिडन्तमा वेल्सको सामना गर्दैछ । हुलमन्ड वेल्ससँगको खेललाई युरोको अन्तिम मान्‍न तयार छैनन् । ‘हामीले समूह चरण पार गर्न सक्यौँ । सायद हामीलाई भाग्यले पनि साथ दियो । तर हामी युरो क्‍वार्टरफाइनलका लागि तयारी गर्ने मौका पाउँछौँ भन्‍नेमा आशावादी र उत्साहित छौँ,’ हुलमन्डले भने ।  
दी गार्डियनबाट 


Author

थप समाचार
x