खेलकुद

प्रिमियर लिगमा यस सप्ताहन्त

गुरु-चेलाको प्रतिद्वन्द्वीतादेखि रेलिगसनबाट बच्‍न संर्घषरतहरुको भिडन्तसम्म

इकागज |
मंसिर १३, २०७७ शनिबार ६:३० बजे

काठमाडौं : यस सप्ताहन्त पनि प्रिमियर लिगमा रोचक खेलहरू हुदैछन् । लिग अंक तालिकाको शिर्षस्थानमा रहेको टोटेनहम सहरी प्रतिद्वन्द्वी चेल्सीसँग भिड्दैछ भने दास्रो स्थानको लिभरपुलले ‘अवे’ खेलमा ब्राइटनको सामना गर्दैछ । त्यस्तै म्यानचेस्टर युनाईटेड लिगमा पाँचौ स्थानमा रहेको साउथह्याम्पटनसँग आमनेसामने हुनेछ । यी लगायत अन्य खेलहरूका बारेमा चर्चागर्न योग्य विषयहरू यस आलेखमा समिटिएको छ ।

ब्राइटनविरुद्ध लिभरपुल : 
लालनाको महत्व 

सधै महंगा खेलाडीहरू किन्न खोज्ने ब्राइटनले यस सिजनका लागि भिन्न नीति बनायो । बिगतमा ठूलो रकम खर्च गरेर भित्राइएका अलिरेजा जाहानबक्स र र्योगेन लोकाडिया जस्ता खेलाडीहरू सोचे अनुरुपको प्रदर्शन गर्न नसकेपछि ब्राइटनले आफ्नै एकेडेमीका उत्पादनहरुलाई मौका दिने योजना बनायो । साथै, कम मुल्यमा अनुबन्ध गर्न सकिने घरेलु बेलायती खेलाडीहरुलाई पनि क्लबमा ल्याउने नीति अगिंकार गरियो ।


नतिजास्वरुप, बेन ह्वाइट र आरोन कान्नोली जस्ता प्रतिभाहरुले यस सिजन मौका पाइरहेका छन् । अनि क्लबले स्टिभन अल्जेट र तारिक लाम्पटे जस्ता युवा प्रतिभाहरुलाई खरिद गर्‍यो । त्यस्तै, अनुभवी ड्यानी वेलब्याक र एडम लालना पनि ब्राइटज आइपुगेका छन् ।

ब्राइटनले च्याम्पियन लिभरपुलको सामना गर्दा सबैको नजर लालनामाथि हुनेछ । गत साता ब्राइटनले एस्टन भिल्लालाई हराउँदा, लालनाले गोलकर्ता वेलब्याकलाई पास उपलब्ध गराएका थिए । यस साता पनि लालनाले त्यही लय आफ्नो पूर्व क्लबविरुद्ध देखाउछन, देखाउदैनन् भन्ने चासो रहेको छ । आक्रमक मिडिफिल्डर लालनाले यस सिजन ब्राइटनका लागि सबै लिग खेल खेलेका छन् । लालना प्रिमियर लिगमा लामो अनुभव भएको खेलाडी भएका कारण पनि उनलाई ब्राइटनको मुख्य हतियारका रुपमा लिइएको छ ।

म्यानचेस्टर सिटीविरुद्ध बर्नली 
अग्वेरो फर्किदै

म्यानचेस्टर सिटीले जारी सिजनमा पर्याप्त मौका सिर्जना गर्न सफल भइरहेपनि स्ट्राईकरहरु राम्रो लयमा दखिएका छैनन् । च्याम्पियन्स लिगमा सिटीले ओलम्पियाकसको पोस्टमा २२ पटक आक्रमण गरे पनि एक गोल मात्र गर्न सक्यो । यस सिजन सिटीले १० गोल मात्र गर्न सकेको छ । जुन लिग उपाधि होडमा रहेका टोटनहम र लिभरपुलको भन्दा ११ गोलले कम हो ।

यता बर्नलीले पछिल्ला दुई खेलमा गोल आएको छैन । कप्तान बेन मी चोटमुक्त भएर आएसँगै बर्नलीको रक्षापंत्ती थप बलियो भएको छ । त्यसकारण पनि सिटीका लागि इतिहादमा हुने खेलमा गोल गर्न मात्र होईन, गोलका लागि मौका सिर्जना गर्न पनि सजिलो हुनेछैन । तर सर्जियो अग्वेरो घुडाँको चोटबाट मुक्त हुदै टीमको अभ्यासमा फर्किएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले राहतको महसुस गरेका छन् । अग्वेरो बिनाको सिटीे यस सिजन गोलका लागि संर्घषरत रहेकाले पनि उनको आगमनले टीमलाई पक्कै उर्जा प्रदान गर्नेछ ।  

चेल्सीविरुद्ध टोटेनहम
उपाधि होडमा रहेको टीमलाई चेल्सीको बाधा

यस सिजन जोसे मौउरिन्होको नेतृत्वमा रहेको टोटेनहमले लिगमा कुनै खेल हारेको छैन । यदि टोटेनहमले स्टाम्र्फोड ब्रिजमा जितको लयलाई कायम राख्ने हो भने, मौउरिन्होलाई उपाधि जित्नबाट रोक्न सकिने सम्भावना कम हुदैजानेछ । तर चेल्सीले लन्डन प्रतिद्वन्द्वीलाई हराए, फ्रान्क लाम्पार्डले आफ्नो पनि प्रिमियर लिग जित्न सक्ने क्षमता रहेको सन्देश दिनेछन् । त्यसकारण पनि, शनिबारको खेल धेरै कोणबाट महत्वपुर्ण छ । किनभने यसको नतिजाले प्रिमियर लिगको उपाधि होड कसरी अघि बढ्नेछ भन्ने संकेत दिनेछ । 

त्यसो त यस खेलका लागि चेल्सीले टोटनहमको भन्दा दुई दिन बढी तयारी गर्ने मौका पाएको छ । च्याम्पियन्स लिग र युरोपाको तालिका अनुसार चेल्सीले आफ्नो खेल मंगलबार नै सिध्याएको थियो भने टोटेनहम बिहिबार सम्म ब्यस्त रह्यो । प्रिमियर लिग खेल्ने ठुला क्लबहरुले प्रत्येक सिजन ब्यस्त तालिकाको सामना गनुृपर्ने बाध्यता भएका कारण कतिपय अवस्थामा पर्याप्त आराम नपाउनु स्वाभाविक हो । त्यससकारण पनि जसको टीममा पुग्दो खेलाडीहरु छन्, उसैले बाजी जित्ने हो । 

एभरटनविरुद्ध लिड्स 
सबैको आँखा निल्स एनकन्कु माथि 

धेरै वर्षसम्म एभरटनले लेफ्ट ब्याक खेल्ने खेलाडीका बारेमा चिन्ता लिनु परेन । एक दशकसम्म लेइटन बेन्स एभरटनको लेफ्ट ब्याक बनेर खेले । डिफेन्समा मात्र होईन उनी आक्रमणमा पनि उत्तिकै निपुर्ण थिए । उनले प्रिमियर लिगमा गरेको ३३ गोल त्यसकै प्रमाण हो । उनलाई प्रतिस्थापन गर्न आइपुगे लुकास डिन । तर फ्रेन्च लेफ्ट ब्याक घाइते भएपछि, उनको ठाउँमा कसले खेल्ने भन्ने चिन्ता सुरु भयो । बेन्सले सन्यास लिइसकेको अवस्थामा एभरटनका प्रशिक्षक कार्लो एनसिलोटीले लेफ्टब्याकका लागि एकेडेमी उत्पादन निल्स एनकन्कुलाई खेलाउने बाहेक अर्को उपाय छैन ।

आठ खेलमा चार एसिस्टको योगदान गरेका डिनलाई प्रतिस्थान गर्नु एनकन्कुका लागि सजिलो हुने छैन । उमेर समूहमा प्रभावशाली प्रदर्शन गर्ने गरेका एनकन्कु सिनियर टिममा भने प्रमाणित हुन बाँकी छन् । एनकन्कलेु एभरटनको सिनियर टिमका लागि एक खेल मात्र खेलेका छन् । त्यसकारण पनि लिड्स विरुद्धको खेल उनका लागि मौका र परिक्षा हो ।    

वेस्टब्रुमविरुद्ध सेफिल्ड युनाईटेड
रेलिगेसन ब्याटल  

यस सिजन प्रिमियर लिगबाट घटुवामा पर्ने क्लबहरुको नाम लिदाँ वेस्टब्रुम र सेफिल्ड युनाईटेडको नाम अनिवार्य रुपमा उल्लेख गरिन्छ । अंक तालिकामा पनि यी दुई क्लब पुच्छारमा छन् । त्यसकारण पनि आईतबार हुने यी दुईबीचको खेललाई ‘रेलिगेसन ब्याटल’ का रुपमा लिन सकिन्छ । दुबैलाई खेल जित्नै पर्ने दवाब छ ।

खेलअघिको प्रेससँग कुरा गर्दै वेस्टबु्रमका प्रशिक्षक स्लाभेन बिलिचले सेफिल्डसँगको खेललाई लिएर आफ्नो टीम सकारात्मक रहको प्रतिक्रिया दिएका थिए । त्यसो त वेस्टब्रुमले जारी सिजनमा सुन्दर फुटबल पस्किने प्रयास गरेको छ । तर नतिजा सोचे जस्तो आएको छैन । वेस्टब्रुमले लिगमा एउटा पनि खेल जित्न सकेको छैन । तर तीन खेलमा बराबरी भने गरेको छ । त्यसकारण पनि सेफिल्डसँग आमनेसामने हुदाँ प्रशिक्षक बिलिच सिजनको पहिलो जितको खोजीमा हुनेछन् ।

उता सेफिल्ड लिगकै सबैभन्दा कमजोर टीमका रुपमा देखा परेको छ । सेफिल्डको जारी लिगका एक अंक छ । गत सिजन प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेको सेफिल्डले यसपटक भने एक अंक मात्र जोड्न सकेको छ । आईतबारको खेलका लागि खेलाडी छनौट प्रशिक्षक क्रिस वाइल्डरका लागि टाउको दुखाईको विषय बन्न सक्छ । ओली म्याकब्रुनाईले निरन्तर गोल गर्ने मौका खेर फालिरहेकाले वाइल्डरलाई यसै सिजन लिभरपुलबाट आएका युवा स्ट्राइकर रायन ब्रुस्टरलाई मौका लिदनुपर्ने दबाब छ ।

आर्सनलविरुद्ध उल्भरह्याम्पटन 
संर्घषरत सेबालस 

पेयर एमेरिक आबुमेयाङ, अलेक्जेन्डर लाकाजेट जस्ता आक्रामक खेलाडीहरुको उपस्थिती भएपनि आर्सनल जारी लिगमा सबैभन्दा कम गोल गर्ने टीमहरुको सूचीमा छ । तर आर्सनल गोल गर्नेमा मात्र होईन, गोलका लागि अवसर सिर्जना गर्नेमा पनि कमजोर देखिएको छ ।

आर्सनलले एथलेटिको म्याड्रिडबाट अनुबन्धन गरेको मिडफिल्डर थोमस पार्टे घाईते भएपछि लन्डन क्लबको मिडफिल्ड कमजोर देखिएको छ । त्यसका साथै, डानी सेबालसको कमजोर लय पनि प्रशिक्षक मिकेल आर्टेटाका लागि टाउको दुखाईको विषय बनेको छ ।

आर्सनलमा पहिलेबाटै गोलको अवसर सिर्जना गर्नसक्ने खेलाडीको कमी भएकाले पनि सेबालेसको उपस्थितीलाई महत्व दिईएको थियो । तर स्पेनिस मिडफिलडरले पनि सोचे जस्तो खेल्न नसकेपछि आर्सनलको मिडफिल्ड फिक्का देखिएको छ । सेबालससँग प्रिमियर लिगमा जम्नका लागि सम्पुर्ण कौशल भएपनि उनी गोल गर्ने अथवा गोलका लागि अवसर सिर्जना गर्ने कार्यमा सफल हुनसकिरहेका छैनन् । 

साउथह्याम्पटनविरुद्ध म्यानचेस्टर युनाईटेड
भान डे विक र फर्नान्डेजको जोडी जम्‍ने मौका 

म्यानचेस्टर युनाईटेडका प्रशिक्षक ओले गनर सोल्स्यारलाई कसैले उनको बलियो पहिलो एघारमा कुन कुन खेलाडी पर्छन भनेर सोध्यो भने शायदै उत्तर दिन सक्लान । यस सिजन उनले भिन्न भिन्न पहिलो एघारको प्रयोग गरेका छन् । तर सन्तुलित टीमको पहिचान गर्न सकेका छैनन् । त्यसकारण पनि सोल्सयारले युनाईटेडलाई प्रिमियर लिगको शिर्ष चारमा छनौट गराउन सक्छन् सक्दैनन् भन्ने बहस सुरु भइसकेको अवस्था छ ।

युनाईटेडले मिडफल्ड बलियो बनाउने उद्देश्य सहित डच मिडफिल्डर डोनी भान डे विक खरिद गर्‍यो । तर सोल्सायरले विकलाई सोचे जस्तो उपयोग गर्न सकेका छैनन् । यसै हप्ता, युरोपा लिगमा सोल्सायरले भान डे विक र फ्रेडलाई डिफेन्सिभ मिडफिल्डमासँगै खेलाए । टर्किस प्रतिद्वन्द्वी विरुद्धको खेलमा दुबै मिडफिल्डरले चित्तबुझ्दो खेल देखाए ।

अहिले युनाईटेड समर्थकहरुमा भान डे विक र र्पोचुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेज सँगै खेल्न सक्छन सक्दैनन् भन्ने चासो छ । तर युरोपा लिगमा देखिएको उनीहरुको साझेदारीले त्यस किसिमको चासोलाई उकहदसम्म सम्बोधन गरेको छ । अब प्रिमियर लिगका खेलहरुमा यी दुईले मिलेर खेल्न सके युनाईटेड र सोल्सायरलाई केही हदसम्म राहत प्रदान गर्न सक्ने देखिन्छ । (अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)


Author

थप समाचार
x