खेलकुद

काभा महिला भलिबलमा पुलिसले ताजकिस्तानको डाइमेडलाई हरायो

इकागज |
असोज १, २०८१ मंगलबार २१:२७ बजे

काठमाडौँ - माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको थियो ।

माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । पुलिसले यसअघि पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्सलाई समान ३–० को सेटमा नै पराजित गरेको थियो ।


आजको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पार्यो । त्यसैगरी खेलको तेस्रो सेट २५–१५ ले जित्यो । यस जितसँगै पुलिसले ९ अंक जोडेको छ ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । उक्त प्रतियोगिता अन्तर्गत पुलिसले यही असोज ३ गते माल्दिभ्सको क्लबसँग खेल्नेछ । 
 


Author

थप समाचार
x