खेलकुद

एडेन हाजार्ड र केभिन डे ब्रुएनाको चोटले चिन्तित बेल्जियम

इकागज |
असार १४, २०७८ सोमबार १४:२ बजे

काठमाडौँ : अन्तिम १६ मा पोर्चुगललाई पराजित गर्दै बेल्जियम आइतबार राति युरो २०२० को क्वार्टरफाइनल प्रवेश गर्‍यो । तर बेल्जियमले जितमा पूर्ण खुशीयाली भने मनाउन सकेन । किनभने उसका दुई मुख्य खेलाडी एडेन हाजार्ड र केभिन डे ब्रुएना खेल दौरान चोटका कारण मैदान छाड्न बाध्य भए । 

एडेनले ह्यामस्ट्रिङको चोट बोके भने डे ब्रुएनाको एंकलमा समस्या आएको भनिएको छ । दुवै खेलाडीको थप जाँच हुन बाँकी भएकाले उनीहरुले आगामी खेल गुमाउँछन् वा गुमाउँदैनन् भन्ने टुङगो छैन । कप्तान हाजार्डको चोटका कारण उनका भाई थोर्गन हाजार्डले गरेको गोल छायामा पर्‍यो ।


थोर्गनले आफ्ना दाजुको चोटबारे चिन्ता व्यक्त गरेका छन् । ‘उनको चोटले हामी सबैलाई चिन्तित बनाएको छ । उनको चोट गम्भिर जस्तो देखिन्छ । आशा छ उनी चाँडै मैदान फर्कनेछन् । केभिन पनि घाइते भए । यी दुवै खेलाडी हाम्रा लागि महत्वपूर्ण छन् । हाम्रो मेडिकल टिम राम्रो छ । त्यसकारण एडेन र केभिनको जाँच र उपचार राम्रो हुनेछ भन्‍नेमा हामी ढुक्क छौँ,’ थोर्गनले भने । 

जारी युरोमा थोर्गनले तारिफयोग्य प्रदर्शन गरिरहेका छन् । उनी बेल्जियमका लागि पहिलो पटक लगातार दुई गोल गर्न सफल भएका छन् । उनले सन् २०२१ मा राष्ट्रिय टिमका लागि चार गोल गरिसकेका छन् । जबकि उनका दाजु एडेनले नोभेम्बर २०२० यता बेल्जियमको जर्सीमा एक गोल पनि गर्न सकेका छैनन् ।   

उता एडेनले आफूले आगम खेल खेल्न नसके पनि टिमसँगै रहने बताएका छन् । आफू कप्तान रहेकाले टिमसँगै रहनु आफ्नो कर्तब्य रहेको उनको भनाइ थियो । ‘कप्तानका रुपमा म टिमको साथमै रहनेछु । मैदानमा उत्रन पाइन भने पनि टिममा मेरो भूमिका रहन्छ नै,’ एडेनले खेलपछि भने ।

पछिल्लो समय एडेन चोटका कारण संघर्षरत छन् । रियल म्याड्रिडका आक्रमक खेलाडी एडेनले गत सिजन क्लब फुटबलमा चोटका कारण ३० खेल गुमाएका थिए । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले एडेन र डे ब्रुएनाको चोटबारेमा अहिल्यै केही भन्न नसकिने बताए । ‘उनीहरुको थप जाँच गरी नतिजा आउन ४८ घण्टा लाग्नेछ । हामी अब बेल्जियम फर्कनेछौँ । उनीहरुको जाँच त्यही हुनेछ,’ मार्टिनेजले पोर्चुगलमाथि जित दर्ता गरेपछि सञ्चार माध्यमसँग कुरा गर्दै भने । 


Author

थप समाचार
x