खेलकुद

रहिम स्टर्लिङ : इंगल्यान्डका ‘बिग गेम प्लेयर’

इकागज |
असार १६, २०७८ बुधबार १३:२७ बजे

काठमाडौँ : इंगल्यान्डको टिममा कयौँ आक्रमक खेलाडी छन् । तर ग्यारेथ साउथगेटको भरोसा रहिम स्टर्लिङमाथि नै छ । साउथेगले स्टर्लिङलाई जारी युरोमा प्रत्येक खेलमा मौका दिएका छन् । यसवापत उनी निकै आलोचित पनि बनेका छन् । तर स्टर्लिङले आफ्ना प्रशिक्षकलाई निराश बनाएका छैनन् । 

मंगलबार राति जर्मनीविरुद्धको जितमा पनि स्टर्लिङले एक गोल गरे । समूह चरणमा उनले दुई गोल गरिसकेका थिए । चेक गणतन्त्र र क्रोएसियासँगको खेलमा निर्णायक गोल गरेपनि स्टर्लिङको आलोचना रोकिएको थिएन । मंगलबार उनलाई बेन्चमा राख्नुपर्ने धारणा राख्‍ने इंगल्यान्ड समर्थकहरूको संख्या कम थिएन । 


इंगल्यान्डको लेफ्ट विङमा स्टर्लिङको ठाउँमा ज्याक ग्रेलिस, फिल फोडेन वा जेडोन सान्चोलाई खेलाउने पर्ने माग समर्थकहरूको थियो । तर साउथगेट आफ्नो निर्णयमा अडिग रहे । स्टर्लिङलाई निरन्तरता दिए । अनि स्टर्लिङले पनि आफ्नो लय कायम राखे । दोस्रो हाफमो ७५ औँ मिनेटमा इंगल्यान्डलाई अग्रता दिलाए ।

इंगल्यान्डको दोस्रो गोल गरे, ह्यारी केनले । जारी युरोमा इंग्लिस टिमबाट गोल गर्ने केन दोस्रो खेलाडी हुन् । केनले गेल गर्दा साउथगेटले राहतको सास फेरेका छन् । टिमका मुख्य स्ट्राइकरले नै गोल गर्न नसकिरहँदा साउथगेट दबाबमा थिए । अब भने उनले आफ्ना कप्तानलाई निरन्तरता दिँदा आलोचना खेप्नुपर्ने छैन । 

इंगल्यान्डको अर्को सकारात्मक पक्ष भनेको रक्षापंक्ति हो । खेलेका चार खेलमा इंगल्यान्डले एकै गोल पनि खाएको छैन । अन्तिम १६ को भिडन्तमा जर्मनीका टिमो बेरनर, काई हाबर्टस, थोमस मुलर जस्ता आक्रमक खेलाडीहरूले पनि इंग्लिस रक्षापंक्ति तोड्न सकेनन् । 

उसो त साउथगेटले प्रयोग गरिरहेका ३-४-३ संरचनाले पनि इंगल्यान्डलाई रक्षात्मकरुपमा बलियो बन्‍न मद्दत गरेको छ । संयोगवस जर्मनीले पनि मंगलबारको खेलमा उस्तै संरचनामा मैदानमा उत्रेको थियो । तर खेलमा नियन्त्रण इंग्लिस खेलाडीहरूले जमाए । 

दुई बलिया टिम भिड्ने खेलमा प्राय एक खेलाडीले निर्णायक प्रदर्शन गर्ने अपेक्षा गरिन्छ । त्यस्तो भूमिका स्टर्लिङले निर्वाह गरे । तर स्टर्लिङ स्टार बन्दा अच्चमित हुने बिरलै थिए । गत सिजन क्लब फुटबलमा खासै जम्‍न नसकेका स्टर्लिङले इंगल्यान्डको जर्सीमा भने निरन्तर बलियो खेल देखाइरहेका छन् । उनले इंगल्यान्डका लागि पछिल्लो २० खेलमा १५ गोल गरिसकेका छन् । 

राष्ट्रिय टिममा स्टर्लिङ युवा खेलाडीका लागि प्रेरणा बनेका छन् । २६ वर्षको मात्रै भएपनि स्टर्लिङ सान्चाे, फोडेन जस्ता उदयीमान खेलाडीका लागि पनि ‘मेन्टर’ बनेका छन् । मैदान र ड्रेसिङ रुममा प्रभावशाली देखिए पनि स्टर्लिङलाई इंगल्यान्ड समर्थकको ठूलो तप्काले स्विकार गर्न सकेको देखिँदैन । तर त्यसले उनलाई इंगल्यान्डको मुख्य खेलाडी बन्‍नबाट रोकेको छैन । 

म्यानचेस्टर सिटीमा पनि स्टर्लिङको भविष्यबारेमा अन्यौलता छ । सिटीसँगको उनको सम्झौता एक वर्षपछि सकिँदैछ । बेलायती अखबारहरूका अनुसार सिटी स्टर्लिङलाई बेचेर केन र ग्रेलिस खरिद गर्न चाहन्छ । तर युरोमा स्टर्लिङले देखाएको खेलले पेप ग्वार्डिओलाको योजना परिवर्तन गर्नसक्छ ।


Author

थप समाचार
x