खेलकुद

युरो २०२०: क्‍वार्टरफाइनल हेर्न किन रोम पुग्‍ने छैनन् इंगल्यान्ड र युक्रेनका समर्थक ?

इकागज |
असार १७, २०७८ बिहीबार १३:४० बजे

काठमाडौँ: आउँदो शनिबार राति इंगल्यान्ड र युक्रेन युरो २०२० को क्‍वार्टरफाइनलमा भिड्दैछन् । खेल इटालीको रोमस्थित स्टाडियो ओलम्पिकोमा हुँदैछ । तर त्यस खेलका लागि इंगल्यान्ड र युक्रेनबाट दर्शक जान पाउने छैनन् । 

इंगल्यान्ड फुटबल संघ (एफए)ले इटाली जान लागेका आफ्ना समर्थकहरूलाई टिकट उपलब्ध गराउन नसकिने बताइसकेको छ । बरु इटालीमै बसोबास गर्ने बेलायतीहरूलाई भने टिकट उपलब्ध गराउन प्रयास गर्ने बताएको छ । त्यसका लागि समन्वय गर्न रोमस्थित बेलायती राजदूतावासलाई आग्रह गरेको छ । 


युक्रेनका समर्थकहरू पनि इटाली प्रवेश गर्न पाउने छैनन् । अत्यावश्यक काममा बाहेक युक्रेनबाट इटाली प्रवेश गर्न वर्जित छ । 

इंगल्यान्डका समर्थकहरू किन युक्रेनसँगका खेलमा उपस्थित हुने छैनन् ?
बेलायतबाट इटाली प्रवेश गर्नेहरू पाँच दिन आइसोलेसनमा रहनु पर्ने हुन्छ । आइसोलेसन अवधिपछि कोभिड–१९ परीक्षणमा नेगेटिभ आउनु पर्ने हुन्छ । यसको मतलब, शनिबार हुने खेलका लागि इंग्लिस समर्थकहरू सोमबार नै रोम पुगिसक्नु पर्ने थियो । 

उसो त इटालीबाट बेलायत प्रवेश गर्नेहरूले पनि अनिवार्य रूपमा पाँच दिन आइसोलेनमा रहनुपर्नेछ । यसकारण, रोमबाट इंगल्यान्ड फर्कने समर्थकहरूले वेम्बलीमा हुने सेमिफाइनल खेल गुमाउनेछन् ।


Author

थप समाचार
x