रोनाल्डोविरूद्ध मेस्सी : अन्तराष्ट्रिय प्रतियोगिताहरूमा कसको तथ्यांक बलियो ?
फाइल तस्बिर
काठमाडौँ : क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलको युरो २०२० यात्रा अन्तिम १६ मै अन्त्य भयो । बेल्जियमसँग १-० को पराजय भोगेपछि पोर्चुगलको उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का लाग्यो । महादेशिय प्रतियोगितामा क्वार्टरफाइनल पुग्न नसके पनि रोनाल्डोले गोलको कीर्तिमान भने राखे ।
पोर्चुगलका कप्तानले चार खेलमा पाँच गोल गरे । यससँगै रोनाल्डो युरोको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले पाँच युरोमा कुल १४ गोल गरेका छन् । यसअघि युरोमा सर्वाधिक गोल गर्ने कीर्तिमान फ्रान्सका मिचेल प्लाटिनीको नाममा थियो ।
यही युरोसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीको पहिलो स्थानमा उक्लेका छन् । उनले इरानका अली डाईको एक सय नौ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।
युरोपमा युरो २०२० जारी रहँदा दक्षिण अमेरिकाको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा जारी छ । जहाँ रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेस्सीको प्रदर्शन अब्बल देखिएको छ । उनले त्यहाँ चार खेलमा तीन गोल गरिसकेका छन् । समूह चरणको पहिलो खेलमा मेस्सीले फ्रि-किक गोल गरे । यससँगै उनले आफ्नो करियरमा गरेको फ्रि-किक गोलको संख्या ५७ पुगेको छ । जुन रोनाल्डोको भन्दा एक गोल बढी हो । मेस्सी आफ्नै देशका डिएगो म्याराडोना भन्दा केही पछि छन् । म्याराडोनाको नाममा ६२ गोल छ ।
मेस्सीले कोपा दौरान नै अर्को कीर्तिमान पनि राखेका छन् । उनी अर्जेन्टिनाको जर्सीमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी बनेका छन् । अर्जेन्टिनाका कप्तानले कुल एक सय ४८ खेल खेलेका छन् । यो कीर्तिमान पूर्वकप्तान हाभियर मास्किरानोको नाममा थियो । पूर्व लिभरपुल तथा बार्सिलोना मिडफिल्डर/रक्षक मास्किरानोले अर्जेन्टिनाका लागि एक सय ४७ खेल खेलेका छन् ।
मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीहरुको सूचीको ९ औँ स्थानमा पनि उक्लेका छन् । अर्जेन्टिनाको जर्सीमा उनको गोल संख्या ७५ पुगेको छ । रोनाल्डो र मेस्सी दुवै आ-आफ्नो करियरको उर्ताद्धमा छन् । तर उनीहरूले गोल गर्न भने छाडेका छैनन् । बरु नयाँ नयाँ कीर्तिमान बनाउने र भएको कीर्तिमानको नजिक पुगिरहेका छन् ।
फ्रि-किक र पेनाल्टीमा को अगाडि ?
अन्तर्राष्ट्रिय फुटबलको मुख्य प्रतियोगिताहरूमा मेस्सीले रोनाल्डोको भन्दा बढी फ्रि-किक गोल गरेका छन् । अर्जेन्टिनाका कप्तानले विश्वकपमा एक फ्रि–किक गोल गरेका छन् । त्यसैगरी कोपामा उनले तीन फ्रि-किक गोल गरेका छन् । पेनाल्टीको मामलामा भने उनी रोनाल्डो भन्दा पछि छन् । उनले एक मात्रै पेनाल्टी गोल कोपा २०१५ मा गरे ।
उता रोनाल्डोले मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा एक फ्रि-किक गोल गरेका छन् । उनले विश्वकप २०१८ मा स्पेनविरुद्ध फ्रि-किक गोल गरेका थिए । त्यस्तै उनको नाममा तीन पेनाल्टी गोल छ । पोर्चुगलका कप्तानले विश्वकप २०१८ र युरो २०२० मा गरी कुल तीन पेनाल्टी गोल गरेका छन् ।
रोनाल्डाले मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको गोल :
युरो २००४ गोल २
विश्वकप २००६ गोल १
युरो २००८ गोल १
विश्वकप २०१० गोल १
युरो २०१२ गोल ३
विश्वकप २०१४ गोल १
युरो २०१६ गोल ३
विश्वकप २०१८ गोल ४
युरो २०२० गोल ५
कुल गोल २१
मेस्सीले मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको गोल :
विश्वकप २००६ गोल १
कोपा अमेरिका २००७ गोल २
विश्वकप २०१० गोल ०
कोपा अमेरिका २०११ गोल ०
विश्वकप २०१४ गोल ४
कोपा अमेरिका २०१५ गोल १
कोपा अमेरिका सेन्टेनारियो २०१६ गोल ५
विश्वकप २०१८ गोल १
कोपा अमेरिका २०१९ गोल १
कोपा अमेरिका २०२१ गोल ३
कुल गोल १८
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया