कोपा अमेरिका : रक्षापंक्तिमा पनि अब्बल ब्राजिल
काठमाडौँ : ब्राजिल र आक्रामक फुटबल एक अर्काका पर्याय हुन् । सामान्यतया ब्राजिलको राष्ट्रिय टिमबाट रक्षात्मक खेलको अपेक्षा गरिँदैन । तर टिटेको नेतृत्वमा ब्राजिलले सन्तुलन कायम गर्ने प्रयत्न गरेको छ । मतलब रक्षापंक्तिमा पनि अग्रपंक्तिमा जस्तै ध्यान दिने ।
ब्राजिल कत्तिको सन्तुलित टिम हो भन्ने शनिबार चिलीसँगको खेलमा देखियो । ४८ औँ मिनेटबाटै १० खेलाडीमा सीमित भए पनि ब्राजिलले खेलमा जित निकाल्यो । र, कोपा अमेरिकाको सेमिफाइनलमा पुग्यो । ब्राजिलका लागि निर्णायक गोल गरे, लुकास पाकुएटाले । फ्रान्सेली क्लब लियोनबाट खेल्ने २३ वर्षीय मिडफिल्डरले ४६ औँ मिनेटका गोल गरेका थिए ।
स्ट्राइकर गाब्रियल जिजसले रातो कार्ड खाएपछि ब्राजिलले चिलीबाट निरन्तर आक्रमण खेप्यो । चिलीले ११ पटक आक्रमण गर्यो । बल पोसेसनमा पकड जमायो । ब्राजिलको भन्दा दोब्बर बढी पास खेल्यो । तर कप्तान थियागो सिल्भा नेतृत्वको रक्षापंक्ति तोड्न सकेन ।
शनिबारको नतिजासँगै ब्राजिलले चिलीविरुद्धको अपराजित यात्रालाई लम्ब्याएको छ । दुई पटकको कोपा च्याम्पियनविरुद्ध ब्राजिल पछिल्ला पाँच खेलमा अपराजित छ । ती खेलमा ब्राजिलले १२ गोल गरेको छ भने एक गोल मात्रै खाएको छ । उसो त टिटेको प्रशिक्षणमा ब्राजिलको रक्षापंक्ति थप मजबुत भएको छ । सन् २०१६ मा टिटे प्रशिक्षक बनेदेखि ब्राजिलले ५९ खेलमध्ये ४१ खेलमा गोल खाएको छैन ।
चिलीसँगको खेल दौरान, ब्राजिलका मिडफिल्डर कासिमिरोले चार महत्वपूर्ण ट्याकल गरे । त्यसैगरी, रक्षक मार्किन्योसलले चार पटक बल क्लियर गरे भने रिचारलिसनले पाँच पटक विपक्षीलाई अवरोध गरे । अग्रपंक्तिका खेलाडीले पनि रक्षात्मक खेल देखाउनु भनेको टिटेको रणनीति सफल हुनु हो । किनभने उनको नीति, सबै खेलाडीले मिलेर आक्रमण बुन्ने र मिलेरै विपक्षीलाई रोक्ने हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया