खेलकुद

युरोमा इटालियनबाट समर्थन खोज्दै युक्रेनी प्रशिक्षक सेभचेन्को

इकागज |
असार १९, २०७८ शनिबार १४:२४ बजे

काठमाडौँ: युरो २०२० को क्वार्टरफाइनलमा शनिबार राति युक्रेन र इंगल्यान्ड आमने सामने हुँदैछन् । अन्तिम १६ मा स्विडेनमाथि रोचक जित हासिल गरेको युक्रेनका लागि इंगल्यान्डसँगको खेल फलामको चिउरा सावित हुने पक्का छ । किनभने इंगल्यान्डलाई जारी महादेशिय प्रतियोगिताको सम्भावित विजेताका रुपमा हेरिएको टिम हो ।

यस्तोमा युक्रेनका खेलाडीहरू सचेत छन् । त्यसमाथि इंगल्यान्डमै क्लब फुटबल खेल्ने अलेजान्डर जिन्चेन्को त इंग्लिस टिमको तागतप्रति झनै सजग छन् । सन् २०१६ देखि म्यानचेस्टर सिटीसँग आबद्ध जिन्चेन्कोलाई इंग्लिस खेलाडीहरूको स्तरबारेमा बेखबर छैनन् । त्यसैकारणले उनले भनेको हुनसक्छ, ‘इंगल्यान्डलाई हराउन हामीले आफ्नो जीवन कै सर्वोत्कृष्ट खेल देखाउनु पर्छ,’


हुन पनि जारी प्रतियोगितामा इंगल्यान्डले एक गोल पनि खाएको छैन । त्यसकारण पनि उसको रक्षापंक्तिका बारेमा जिन्चेन्को चिन्तित हुन् स्वभाविक हो । ‘इंगल्यान्डका रक्षकहरू मजबुत देखिएका छन् । त्यसकारण उनीहरूविरुद्ध गोल गर्न हामीले जीवनकै सबैभन्दा राम्रो खेल देखाउनु पर्ने आवश्यक छ । तर हामीले के थाहा छ भने युरोमा कुनै पनि टिम पूर्ण छैनन्,’ जिन्चेन्कोले भनेका छन् । 

उता युक्रेनका प्रशिक्षक आन्द्रे सेभचन्कोले इंगल्यान्ड बलियो टिममध्येको एक भएको प्रतिक्रिया दिएका छन् । ‘इंग्लिस टिम सन्तुलित छ । उनीहरूसँग असाधारण खेलाडी छन् । फेरि इंगल्यान्ड पछिल्लो समय बलियो लयमा छ । त्यसकारण हाम्रा लागि उनीहरूविरुद्धको खेल असाध्यै गाह्रो हुनेछ,’ सेभचेन्कोले भनेका छन् । 

युक्रेन र इंगल्यान्डबीचको खेल रोमको ओलम्पिक रंगशालामा हुनेछ । समूह चरण तथा अन्तिम १६ को खेल वेम्बलीमा खेलेको इंगल्यान्ड जारी युरोमा पहिलो पटक घर बाहिर खेल्दैछ । यसअघिका सबै खेल इंगल्यान्डले घरेलु समर्थकका अगाडि खेलेको थियो । तर रोममा थोरै इंग्लिस समर्थक मात्रै पुग्ने अनुमान गरिएको छ । त्यसकारण इटालीको ओलम्पिक रंगशालामा जम्मा हुने अधिकांश दर्शक इटालियन हुने अपेक्षा छ । यस्तोमा सेभचेन्कोले इटालियनबाट आफ्नो टिमले समर्थन पाउने आशा राखेका छन् । 

‘कोभिड–१९ का कारण हाम्रा समर्थक युक्रनेबाट इटाली आउने सम्भावना भएन । त्यसकारण हामीले इटालीमा रहेको युक्रेनी समुदायलाई खेल हेर्न आउन आग्रह गरेका छौँ । अनि पक्कै पनि इटालीका नागरिकले पनि हामीलाई समर्थन गर्नेछन् भन्‍ने आशा छ,’ कुनैबेला इटालीको सिरी 'ए' खेलेका सेभचेन्कोले भने ।  


Author

थप समाचार
x