खेलकुद

लिभरपुलले सलाहलाई ओलम्पिकमा भाग लिनबाट रोक्यो

इकागज |
असार १९, २०७८ शनिबार १४:५३ बजे

काठमाडौँ:इजिप्टका स्टार खेलाडी मोहम्मद सलाहले टोकियो ओलम्पिक गुमाउने भएका छन् । सलाहलाई उनको क्लब लिभरपुलले रिलिज नगर्ने इजिप्टले आफ्ना मुख्य खेलाडी बिनै ओलम्पिकको पुरुष फुटबलमा भाग लिनेछ । इजिप्टका प्रशिक्षक शाकी घरिबले ओलम्पिकका लागि घोषणा गरेको २२ सदस्यीय टिममा सलाह छैनन् । 

जुलाई २१ बाट सुरु हुने ओलम्पिकमा पुरुष फुटबलतर्फको प्रतिस्पर्धा भने जुलाई २२ बाट सुरु हुनेछ । ओलम्पिकमा कुनैपनि टिमले २३ वर्ष मुनिका खेलाडीहरु पठाउँछन् । त्यसमा तीन जना खेलाडी भने २३ वर्ष माथिका पनि समावेश गर्न सकिन्छ ।  


ओलम्पिकमा हुने फुटबल स्पर्धालाई फिफाले मान्यता दिँदैन । यस्तोमा लिभरपुलले सलाहलाई ओलम्पिकका लागि रिलिज नगर्ने अडान लिँदै आएको थियो । यसको पुष्टि गत महिना इजिप्टका फुटबल संघका अहम्मद मेगाहेदले गरेका थिए । 

अब भने सलाह ओलम्पिक हुँदै गर्दा लिभरपुलसँग प्रि–सिजनमा व्यस्त रहनेछन् । यदि उनी टोकियो जाने भएको भए लिभरपुलसँगको प्रि–सिजन गुमाउने थिए भने इंग्लिस प्रिमियर लिगका सुरुवाती तीन खेलमा पनि अनुपस्थीत रहनेछन् ।

ओलम्पिकमा जान रोके पनि लिभरपुलले सलाहलाई अफ्रिका कप अफ नेसन्समा सहभागी हुनबाट भने रोक्नसक्ने छैन । अफ्रिका कप अफ नेसन्स जनवरी ९ बाट फेब्रुअरी ६ सम्म आयोजना हुनेछ । 


 


Author

थप समाचार
x