खेलकुद

प्याट्रिक भिएरा इंग्लिस प्रिमियर लिग फर्कदै

इकागज |
असार २०, २०७८ आइतबार १४:४५ बजे

फाइल फोटो

काठमाडौँ: पूर्व आर्सनल मिडफिल्डर प्याट्रिक भिएरा इंगल्यान्ड फर्कने भएका छन् । दी एथ्लेटिकका अनुसार उनी इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसको प्रशिक्षक बन्‍ने भएका हुन् । गत सिजनको अन्त्यमा पाका प्रशिक्षक रोय हडसन प्यालेसबाट अल्लगिएपछि इंग्लिस क्लब नयाँ प्रशिक्षकको खोजीमा थियो । 

उता ४५ वर्षिय भिएरा भने गत सिजन फ्रान्सेली क्लब निसबाट बर्खास्तीमा परेपछि जागिर विहिन थिए । उनी आइतबार प्यालेसको प्रशिक्षकमा नियुक्‍त हुने अनुमान दी एथ्लेटिकले गरेको छ । भिएराले आफ्नो खेल करियरबाट जुलाई, २०११ मा सन्यास लिएका थिए । उनको अन्तिम क्लब म्यानचेस्टर सिटी थियो । उनको प्रशिक्षण करियर पनि सिटीबाटै सुरु भएको थियो । उनलाई २०१३/१४ मा सिटी अण्डर–२१ को प्रशिक्षक बनाइएको थियो ।


भिएरा सिनियर टिमको प्रशिक्षक भने सन् २०१६ मा बने । पूर्व फ्रान्सेली मिडफिल्डरलाई न्युयोर्क सिटी एफसीले प्रशिक्षकमा नियुक्ति गरेकाे थियाे । तीन सिजन अमेरिकी लिगमा बिताएपछि भिएरा सन् २०१८ मा फ्रान्स फर्किए । त्यहाँ पनि उनी लगभग तीन सिजन नै रहे । 

प्यालेस कठिन समयबाट गुज्रिरहेका बेला भिएराले लन्डन क्लबको जिम्मेवारी सम्हाल्न लागिरहेका हुन् । प्यालेस गत सिजन लिगको १४ औँ स्थानमा रहेको थियो । त्यस्तै प्यालेसका ११ खेलाडीले यसै महिना क्लब छाडेका छन् । यस्तोमा टिम पुनःनिर्माण गर्नु भिएराको पहिलो प्राथमिकता हुनेछ ।

अगस्ट १९९६ देखि जुलाई, २००५ सम्म आर्सनलमा रहेका भिएरा इंगल्यान्ड फर्कदा आफूलाई प्रशिक्षकमा रुपमा अब्बल सावित गर्ने दाउमा हुनेछन् । उसो त प्यालेसका लागि भिएरा पहिलो रोजाइ थिएनन् । टोटनहम लागेका नुनो इसप्रिटो सान्टो र बोरुसिया डर्टमन्डका पूर्व प्रशिक्षक लुसियान फाब्रेसँग कुरा नमिलेपछि प्यालेसको नजर भिएरातर्फ सोझियो । 

बर्नलीका सन डाइच, पूर्व चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्ड, स्वान्सी सिटकिा स्टिभ कुपर लगायतसँग पनि प्यालेसको नाम जोडिएको थियो । तर अन्ततः प्यालेस र भिएराबीच सहमति भयो । भिएरा पटक पटक आर्सनल फर्कने हल्ला पनि चलेको थियो ।   
  


 


Author

थप समाचार
x