खेलकुद

फुटबल

इंगल्यान्डमा प्याट्रिक भिएराको नयाँ अध्याय

पूर्व क्लब फर्कने चाहना अपुरो !

इकागज |
असार २०, २०७८ आइतबार १९:३९ बजे

काठमाडौँ: इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले प्याट्रिक भिएरालाई आइतबार प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । पूर्व आर्सनल कप्तानले रोय हडसनलाई प्रतिस्थापन गरेका हुन् । चार वर्ष प्यालेसको प्रशिक्षक रहेका हडसनले गत सिजनको अन्त्यमा जिम्मेवारी त्यागेका थिए । 

सन् २०११ मा खेल करियरबाट सन्यास लिएका भिएराका लागि प्रशिक्षकका रुपमा प्यालेस तेस्रो क्लब हो । उनले प्यालेससँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका छन् । ‘म प्रिमियर लिग फर्कन पाउँदा हर्षित छु । अनि प्यालेसमा मौका पाउँदा पनि उति नै खुशी छु । क्लब र मेरा लागि अब नयाँ अध्याय सुरु हुन्छ,’ भिएराले भनेका छन् । 


भिएराले प्यालेसमा पहिलाबाटै बलियो जग रहेको र आफूले त्यसलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिक्रिया दिए । ‘प्यालेस कयौँ वर्षदेखि प्रिमियर लिगमा छ । क्लबको उदेश्य र योजना सुन्दा म उत्साहित छु । अब हामीले टिमलाई थप झन् बलियो बनाउँदै लानुपर्छ,’ भिएराले क्लब वेबसाइटसँग भने । 

भिएरा गत डिसेम्बरसम्म फ्रान्सेली क्लब निससँग आबद्ध थिए । उनी आफ्नो अन्तिम सिजन बर्खास्तीमा परे । पहिलो सिजन निसलाई लिग वानमा सातौँ बनाएका भिएराले दोस्रो सिजन शीर्ष पाँच भित्र डोर्‍याए । तर तेस्रो सिजन भने भिएराका लागि खराब रह्यो । उनी १६ लिग खेलपछि बर्खास्तीमा परे । 

खेलाडीका रुपमा भिएरा असााध्यै सफल रहे । नौ वर्ष आर्सनलमा रहँदा उनले तीन प्रिमियर लिग जिते । उनकै कप्तानीमा आर्सनलले २००३–०४ मा एकै खेल पनि नहारी लिग च्याम्पियन बनेको थियो । करियरको उर्ताद्धमा भिएराले इन्टर मिलान र म्यानचेस्टर सिटीबाट पनि खेले । क्लब फुटबलमा सफल भिएरा अन्तराष्ट्रिय फुटबलमा पनि उत्तिकै सफल रहे । उनले विश्वकप १९९८ जिते भने त्यसको दुई वर्षपछि युरो विजेता पनि बने । 

सन् २०११ मा सन्यास लिएपछि उनले सिटीबाटै प्रशिक्षण करियरको सुरुवात गरेका थिए । केही वर्ष सिटीको एकेडेमी टिम हेरेका भिएराले सन् २०१६ मा न्युयोर्क सिटी एफसीको जिम्मेवारी सम्हाले । सिटी फुटबल ग्रुपको स्वामित्वमा रहेको न्युयोर्क सिटी एफसीमा केही वर्ष रहेपछि उनी फ्रान्स फर्किए । तर निस बसाइको अन्त्य सुखद रहेन । 

भिएरा आर्सनलको प्रशिक्षक बन्ने हल्ला बारम्बार चल्यो । तर उनको पूर्व क्लब फर्कने चाहना पूरा भएन । यद्यपि उनलाई प्यालेसले इंगल्यान्ड भने फर्काएको छ । अब उनले प्रिमियर लिगको नयाँ सिजन अगस्ट १४ मा चेल्सीसँग भिड्दै सुरु गर्नेछन् । प्रिमियर लिगमा सुरुका दुई महिना प्यालेसले टोटनहम, लिभरपुल र लेस्टर सिटीको सामना गर्नेछ । 

 


Author

थप समाचार
x