आर्सन वेङगर भन्छन्, विश्वकप दुई-दुई वर्षमा गरिनुपर्छ
काठमाडौँ: विश्व फुटबल नियामक संस्था फिफाले विश्वकप दुई-दुई वर्षमा गर्ने बारे आवश्यक अध्ययन गरिरहेको छ । हाल पुरुष तथा महिला विश्वकप चार-चार वर्षमा आयोजना हुन्छ । यस सन्दर्भमा पूर्वआर्सनल प्रशिक्षक आर्सन वेङगरको भनाइ सार्वजनिक भएको छ । उनले फिफाले गरिरहेको सम्भव्यता अध्ययनलाई समर्थन गर्दै विश्वकप प्रत्येक दुई वर्षमा गर्नुपर्ने बताएका छन् ।
छनौट खेल तथा अन्तराष्ट्रिय ब्रेकको तालिकालाई व्यवस्थित गर्ने हो भने फिफाले दुई-दुई वर्षमा विश्वकप आयोजना गर्न गाह्रा नहुने वेङगरको भनाइ थियो । पूर्वआर्सनल प्रशिक्षक वेङगर हाल फिफाको ‘ग्लोबल फुटबल डेभलपमेन्ट’ प्रमुख छन् । फिफासँग आवद्ध भएपछि वेङगरले विश्वकप दुई-दुई वर्षमा आयोजना हुनुपर्ने बताउँदै आएका छन् । र, अन्तराष्ट्रिय फुटबलको क्यालेन्डरलाई पनि व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।
अन्तराष्ट्रिय फुटबलमा खेल संख्यामा भन्दा खेल स्तरमा ध्यान दिनुपर्ने वेङगरको भनाइ छ । त्यसकारण छनौट चरणका खेलहरू तथा अन्य अन्तराष्ट्रिय ब्रेकका क्रममा हुने मैत्रीपूर्ण खेलहरुको संख्या घटाउने भए विश्वकप दुई-दुई वर्षमा आयोजना गर्न सम्भव हुने वेङगरको भनाइ छ ।
हाल अन्तराष्ट्रिय ब्रेकका लागि बार्षिकरुपमा ५० दिन छुट्याइन्छ भने विश्वकप छनौटमा कुनै पनि टिमले १० खेल खेल्ने गर्छ । यस्तोमा वेङगरले अन्तराष्ट्रिय ब्रेकका लागि २८ दिन पर्याप्त रहने र विश्वकप छनौट दौरान एउटा टिमले सात खेल खेल्ने क्यालेन्डर बनाउन् पर्ने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया