खेलकुद

१९ वर्षमुनिको महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीको प्रशिक्षण सुरु

इकागज |
पुस १०, २०८१ बुधबार १८:३७ बजे

फाइल फाेटाे

काठमाडौँ  - मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् । 

चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारबाट प्रशिक्षण सुरु भएको हो । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी छन् । बन्द प्रशिक्षण यही पुस २२ गते सम्म चल्नेछ । बन्द प्रशिक्षण सकिएलगत्तै आउँदो जनवरीमा हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्ने प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए । 


अण्डर १९ महिला क्रिकेट टिमका कप्तान पुजा महतोले चितवनको खेल मैदान राम्रो भएको र आफूहरूलाई चितवनमा अभ्यास गर्न पाउँदा खुशी लागेको बताउँदै अभ्यासको क्रममा आफूहरूमा रहेको कमजोर पक्षलाई सुधार गर्ने बताइन् । 

अभ्यासका लागि चितवन पुगेका खेलाडीहरूलाई भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले स्वागत गरेका थिए । भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले चितवनमा बन्दै गरेको रंगशालाको नमुना मैदानमा हुने अभ्यासले रंगशाला निर्माणमा दबाब पर्ने बताइन् ।

भरतपुर महानगर पालिकाका उपमेयर चित्रसेन अधिकारीले विश्व कप खेलको लागि चितवनलाई छनौट गरेकोमा क्यानलाई धन्यवाद दिँदै विश्व कप प्रतियोगितामा विजयको लागि अग्रिम शुभकामना दिए । अभ्यास खेलमा आएका खेलाडीहरू लाई महानगरको तर्फ बाट सहयोग गर्ने उनले बताइन् ।।


Author

थप समाचार
x