खेलकुद

म्यानचेस्टर युनाईटेडका काभानी प्रतिबन्धमा पर्न सक्ने

इकागज |
मंसिर १५, २०७७ सोमबार १३:३९ बजे

काठमाडौं : म्यानचेस्टर युनाईटेडका स्ट्राईकर एडिन्सन काभानी इंग्लिस फुटबल संघको प्रतिबन्धमा पर्नसक्ने बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । आइतबार काभानीले आफ्नो इन्सटाग्राम एकाउण्टमा स्टोरी अपलोड गर्दा रंगभेदी शब्दहरुको प्रयोग गरेको भन्ने आरोप लागेकाले त्यसमाथि छानबिन गर्दा प्रमाणित भएमा संघले उनलाई तीन खेलको प्रतिबन्ध लगाउन सक्ने बताइएको छ ।

आईतबार प्रिमियर लिगमा युनाईटेडलाई साउथह्याम्पटन विरुद्ध ३-२ को जित दिलाउन काभानीले दुई गोलको योगदान गरेका थिए । खेल सकिन साथ काभानीले इन्सटाग्राममा स्टोरी पोस्ट गरेको र त्यसमा रंगभेदी शब्दहरुको प्रयोग गरेको आरोप लगाईएको छ । जसमा इंगल्यान्डको फुटबल संघले छानबिन गर्ने निर्णय गरिसकेको छ ।


काभानीले इन्सटाग्राममा ‘ग्रसियस नेग्ररिटो’ भनेर पोस्ट गरेको तर त्यसलाई तत्कालै हटाएको बताईएको छ । तर रंगभेदी शब्दहरु प्रयोग गरी गरिएको पोस्ट हटाएपनि त्यसले प्रतिबन्धित हुनबाट कुनैपनि खेलाडीलाई बचाउन सक्दैन ।

गत वर्ष म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नादो सिल्भाले आफ्नै टिमका बेन्जामिन मेन्डीलाई स्पेनिस कार्टुनसँग तुलना गरेर सामाजिक सञ्जालमा पोस्ट गर्दा प्रतिबन्ध भोगेका थिए । सिल्भाले तुरुन्तै पोस्ट हटाए त्यसले फुटबल संघको प्रतिबन्धबाट र्पोचुगिज खेलाडीलाई बचाउन सकेन ।

काभानीलाई फुटबल संघले केही दिनमै स्पष्टीकरण सोध्नेछ । र, चित्तबुझ्दो जवाफ नआए उनलाई आउदो सोमबार सम्ममा प्रतिबन्ध लगाईएको घोषणा गरिनेछ । सन् २०११ मा उरुग्वेकै लुईस स्वारेजले युनाईटेडका प्याट्रिस इभ्रासँग ‘नेग्रिटो’ भन्ने शब्दको प्रयोग गर्दा लिभरपुलका पूर्व स्ट्राईकरलाई आठ खेलको प्रतिबन्ध लगाईएको थियो । त्यसबेला, स्वारेजले त्यो शब्द रंगभेदी नभएको जिकिर गरेपनि इंग्लिस फुटबल संघले त्यसलाई अस्विकार गरेको थियो ।

जारी सिजन सुरुहुन अघि नै फुटबल संघले सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका जारी गरेको थियो । जसमा, निर्देशिका उल्लघंन गर्ने खेलाडीलाई कम्तिमा तीन खेलका लागि प्रतिबन्ध गर्ने उल्लेख थियो । (अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा )


Author

थप समाचार
x