खेलकुद

कोपा फाइनलमा भिड्दा मेस्सी मिल्‍ने साथी रहेको भुल्नेछुः नेयमार

इकागज |
असार २५, २०७८ शुक्रबार १४:४० बजे

काठमाडौँ: नेयमार र लियोनल मेस्सीले बार्सिलोनामा करिब चार वर्षसँगै खेले । नेयमार र मेस्सी सम्मिलित अग्रपंक्तिले क्याट्लन क्लबलाई एक च्याम्पियन्स लिग र दुई स्पेनिस ला लिगा जितायाे । नेयमारले बार्सिलोना छाडेपछि यी दुई खेलाडी कयौँ पटक आमनेसामने भएका छन् । 

उनीहरू फेरि एक पटक भिड्ने भएका छन् । कोपा अमेरिकाको फाइनलमा । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिताको उपाधि भिडन्तमा ब्राजिल र अर्जेन्टिना आइतबार बिहान आमनेसामने हुँदैछन् । रियो दे जनेइरोस्थित माराकाना रंगशालामा हुने त्यस भिडन्तअघि नेयमार र मेस्सीको मित्रताको चर्चा गरिदैँछ । 


नेयमार आफैँले पनि मेस्सी राम्रो साथी भएको बताएका छन् । तर कोपा फाइनलमा आफूले मेस्सीसँगको मित्रता भुल्ने प्रतिक्रिया दिए । ‘मैले सधैँ भन्‍ने गरेको छु, मेस्सी सर्वोत्कृष्ट खेलाडी हुन् । अनि मेरो मिल्ने साथी पनि । तर कोपाको फाइनलमा मित्रताको अर्थ रहनेछैन । उपाधि भिडन्तमा हामी बस् प्रतिद्वन्द्वीका रुपमा देखा पर्नेछौँ । म ब्राजिललाई च्याम्पियन बनाउन चाहन्छु । जित हासिल भएमा मेरा लागि पनि त्यो पहिला कोपा उपाधि हुनेछ,’ नेयमारले भनेका छन् । 

कोपाको पछिल्लो संस्करण ब्राजिलले जित्दा नेयमार अनुपस्थित थिए । उनले ब्राजिलको राष्ट्रिय टोलीबाट फिफा कन्फेडेरसन कप बाहेक अन्य प्रतियोगिता जित्‍न सकेका छैनन् । उता मेस्सीले पनि अर्जेन्टिनाको जर्सीमा महत्वपूर्ण मानिएको कुनै ट्रफी उचालेका छैनन् । त्यसकारण मेस्सीको लक्ष्य कोपा च्याम्पियन बन्‍नु नै हो । यस्तोमा दुई बलिया टिमबीचको भिडन्त कडा हुने अपेक्षा गरिएको छ । 

गोल संख्यामा ब्राजिलका सर्वकालिन महान् खेलाडी पेलेको नजिक रहेका नेयमार महादेशिय प्रतियोगिता र विश्वकप जित्‍न सधैँ दबाबमा रहने गरेका छन् । २९ वर्ष पुगिसकेका नेयमारसँग राष्ट्रिय टिमका लागि उपाधि हात पार्न धेरै समय पनि बाँकी पनि छैन । त्यसकारण पनि नेयमार यस पटकको कोपा फाइनलमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई हराउनै पर्ने दबाबमा छन् ।

‘ब्राजिल बाहिरीएको प्रतियोगितामा सधैँ मैले मेस्सी र अर्जेन्टिनाको समर्थन गरेको छु । जस्तै विश्वकप २०१४ फाइनलमा । तर जब आपसमा प्रतिसपर्धा गर्ने समय आउँछ, म मेस्सीसँगको मित्रता भुल्छु । भिडियो गेम खल्दा त साथीलाई हराउनै पर्ने दबाबमा रहन्छु भने यो त कोपा फाइनल हो,’ नेयमारको भनाई थियो । 
  
 


Author

थप समाचार
x