यू-२३ एसियन कप २०२३ छनौटमा नेपालको प्रतिस्पर्धा बलिया टिमसँग
काठमाडौँ: एएफसी यू-२३ एसियन कप २०२३ को छनौटमा नेपालले इरान, ताजिकिस्तान र लेबननको सामना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार जारी गरेको ‘ड्र’ अनुसार नेपाल र उल्लेखित टिमहरू समूह ‘बी’मा परेका छन् । उमेर समूहको एसियन कपकै आयोजक रहेको ताजिकिस्तान छनौट खेलहरु पनि आयोजना गर्नेछ ।
कुल ४२ टिम सहभागी हुने छनौट अक्टोबर २३ देखि ३१ सम्म आयोजना हुनेछ । ती टिमहरूलाई ११ समूहमा विभाजित गरिएको छ । आ–आफ्ना समूहमा विजेता बन्ने ११ टिम तथा उत्कृष्ट उप-विजेता सावित हुने थप चार टिम यू–२३ एसियन कपका लागि छनौट हुनेछन् । आयोजकका नाताले ताजिकिस्तानले प्रतियोगितामा स्थान पक्का गरिसकेको छ । प्रतियोगिता जुन १ देखि १९ सम्म खेलाइने तालिका छ ।
नेपाल बाहेक दक्षिण एसियाका अन्य चार टिम पनि छनौटमा सहभागी हुनेछन् । ती टिममध्ये श्रीलंका समूह ‘ए’ मा परेको छ । उसले सिरिया, कतार र यमनको सामना गर्नेछ । त्यसैगरी, माल्दिभ्सले समूह ‘सी’ मा इराक, बहराइन र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
उता बंगलादेश समूह ‘डी’ मा परेको छ । सो समूहमा बंगलादेश बाहेक साउदी अरब, कुवेत र उज्वेकिस्तान पनि छन् । भारत भने समूह ‘इ’ मा परेको छ । उसले संयुक्त अरब इमिरेट्स (युएई), ओमान र किर्गिज गणतन्त्रको सामना गर्नेछ । त्यसैगरी समूह एफमा भने तीन टिममात्रै छन् । त्यहाँ जोर्डन, प्यालेस्टिन र तुर्कमेनिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल अहलेसम्म यू-२३ एसियन कपका लागि छनौट हुन सकेको छैन । पछिल्ला तीन संस्करणका छनौट चरण हेर्ने हो भने दक्षिण एसियाका प्राय सबै टिमको प्रदर्शन खराब रहेको छ । सन् २०२० को संस्करणका लागि भएको छनौट खेलहरूमा नेपालले आफ्ना तीन खेलमै पराजय भोगेको थियो । कतारको दोहामा भएका खेलहरूमा नेपाल अफगानिस्तान, कतार र ओमानसँग पराजित भएको थियो । ती खेलहरूमा नेपालले कुल आठ गोल खाँदा एक गोल पनि फर्काउन सकेन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया