ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भएका संघ/संस्थाहरूलाई स्पष्टीकरण सोध्ने राखेपको निर्णय
![](https://ekagajcdn.prixacdn.net/media/albums/Rakhepa-1_WbpKyp1lKA.jpg)
फाइल फाेटाे
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्ले अदालतको आदेश विपरीत नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ/संस्थाहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
कार्यकारी समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनको लागि परिषद्बाट भएको निर्देशन विपरीत निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ/संस्थाहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भई तोकिएको समय भित्र स्पष्टीकरण पेश नगरेकोले कराँते महासंघलाई ३ दिनभित्र आफ्नो उचित कारण सहित लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
त्यस्तै परिषद्ले दिइएको शर्त पालना गर्ने नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल भलिबल संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई सफाइ पेश गर्न ३ दिन समय सीमासहित मौका दिने निर्णय गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
त्यस्तै अदालतको आदेश विपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको भनिएको ओलम्पिक कमिटिको कुनै पनि बैठक लगायतका काम कारबाहीहरूमा राष्ट्रिय खेल संघ र महासंघहरूलाई सहभागी नगर्न/नगराउन सार्वजनिक रूपमा सूचना जारी गर्ने निर्णय राखेपले गरेको छ ।
बैठकले नेपाल ओलम्पिक कमिटिको बैंक खाता रोक्का, वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का र भौतिक सम्पत्तिको अनाधिकृत रुपमा उपयोगमा रोक्काको लागि सम्बन्धित नियामक निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया