खेलकुद

युरो फाइनलः निडर इटालीलाई पन्छाएर वेम्बलीमा इतिहास रच्‍ने दाउँमा इंग्ल्यान्ड

इकागज |
असार २७, २०७८ आइतबार १८:४३ बजे

काठमाडौँ: पछिल्लो ५५ वर्षमा इंग्ल्यान्डले कुनै पनि मुख्य उपाधि जित्न सकेको छैन । यसपटक भने उ इतिहास रच्ने संघारमा छ । तर त्यसका लागि इंग्लिस टोलीले युरो २०२० फाइनलमा इटालीलाई पन्छाउन सक्नुपर्छ । यी दुई टिमबीचको भिडन्त आइतबार मध्यराति वेम्बली रंगशालामा हुँदैछ । 

यस्तोमा इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टिम इतिहास रच्न तयार रहेको सन्देश दिइसकेका छन् । उनको सन्देशमा वजन पनि छ । किनभने उनको नेतृत्वमा इंग्ल्यान्डले सशक्त प्रदर्शन गरिरहेको छ । अनि इंग्लिस समर्थकहरूले पनि उनकै भरमा सपना देखेको छन् । 


इंग्ल्यान्डले अहिलेसम्म जितेको एउटै मुख्य उपाधि भनेको विश्वकप हो । त्यो पनि सन् १९६६ मा । त्यसपछि इंग्ल्यान्ड विश्वकपमा सेमिफाइनल कट्न सकेको छैन । युरोमा पनि उसको उपलब्धी भनेको सेमिफाइनल नै थियो । तर यसपटक इंग्लिस खेलाडीहरूले कमाल गरे । पहिलो पटक युरो फाइनलमा पुगेर । 

उपाधि भिडन्त हुने वेम्बलीमा ६० हजार दर्शक उपस्थित हुनेछन् । तीमध्ये करिब एक हजार इटालियन हुने अनुमान गरिएको छ । वेम्बली पुग्न नसक्ने इंग्लिस समर्थकहरु टेलिभिजन अगाडि हुनेछन् । सबैले फाइनल हेर्न पाउन भनेर इंग्ल्यान्डमा विद्यालय, व्यापार र अन्य क्षेत्र खुल्ने र बन्द हुने समय परिवर्तन गरिएको छ ।  

वास्तवमा भन्‍ने हो भने इंग्ल्यान्डमा अहिले पर्व आएको छ । रानी एलिाजावेथ द्वित्तीयदेखि प्रधानमन्त्री बोरिस जोनसनसम्मले इंग्लिस टिमलाई शुभकामना दिएका छन् । शुभकामना दिने व्यक्तिहरूको सूचीमा हलिउड कलाकार टम क्रुज पनि छन् । 

लन्डनका सडक इंग्लिस समर्थहरूले भरिएका छन् । यस्तो दृश्यले प्रशिक्षक साउथगेट भावुक देखिएका छन् । नदेखिउन पनि किन, जबकि प्रत्येक दिन सयौँको संख्यामा इंग्लिस समर्थकहरू सेन्ट जर्ज पार्कमा भेला हुन्छन् । र, आफ्नो टिमको पक्षमा नारा लगाउँछन् । 

‘हाम्रो टिमलाई सम्मान दिइएको छ । खेलाडी तथा प्रशिक्षकलाई देशले पहिचान गरेको छ । रानीदेखि प्रधानमन्त्रीले पत्र लेखेका छन् । योभन्दा खुशीको कुरा अरु के हुन सक्छ,’ साउथगेटले भने, ‘हामीले अभ्यास गर्ने सेन्ट जर्ज पार्कमा टाढा-टाढाबाट मानिसहरू आइरहेका छन् । हामीलाई शुभकामना दिइरहेका छन् । हामी उनीहरू सबैका लागि उपाधि उपहार दिन चाहन्छौँ ।’

खासमा साउथगेट प्रशंसाको हकदार हुन् । सन् २०१६ मा जिम्मेवारी सम्हालेपछि उनले इंग्लिस टिममा व्यापक परिवर्तन ल्याएका छन् । उनकै रणनीतिमा खेल्दा इंग्लयान्डले यो युरोमा आफ्नो तागत देखाएको छ । त्यसकै नतिजा हो, नकआउटमा जर्मनी, युक्रेन र डेनमार्कमाथि प्राप्त जित ।

इंग्ल्यान्ड यो अवस्थामा सजिलै आइपुगेको भने होइन । अनि उसले महेनेतको फल चाखिसकेको पनि छैन । गत विश्वकपमा साउथगेटको टिम सेमिफाइनलबाटै घर फर्किएको थियो । त्यसबखत इंग्ल्यान्डलाई निराश बनाउने टिम थियो, क्रोएसिया । यसपटक त्यही क्रोएसियामाथि इंग्ल्यान्डले समूह चरणमा बदला लियो । जे होस विश्वकपको निराशालाई इंग्ल्यान्डले यसपटक भुल्न सक्छ । युरो ट्रफी उचालेर ।

‘विश्वकपमा सेमिफाइनल पुगेका हामी यस पटक युरो उपाधि नजिक छौँ । अब हामीले अन्तिम खेल जित्नैपर्छ,’ कप्तान ह्यारी केनले भनेका छन् । केन र उनका साथीहरू युरो फाइनल पुग्दा युरोपियन फुटबल संघ (युईएफए) माथि आरोप लागेको छ । अन्य टिमको आरोप छ, युईएफएले इंग्ल्यान्ड नै च्याम्पियन बनेको हेर्न चाहेको छ । उनीहरूको असन्तुष्टि इंग्ल्यान्डले प्राय खेल वेम्बलीमा खेल्न पाएकाले हो । हुन पनि इंग्ल्यान्डले आफ्ना सातमध्ये छ खेल वेम्बलीमै खेलेको छ । 

हुन त इंग्ल्यान्डको आलोचना संयुक्त अधिराज्य (यूके)भित्रकै अन्य देशले पनि गर्छन् । फाइनलमा उनीहरूको शुभेच्छा इटालीमाथि हुनेछ । स्कटल्यान्डका अखबारहरूले त प्रष्टैसँग इटालीले जितोस भन्ने लेखेका छन् । स्कटल्यान्डको दी नेशनल नाम गरेको अखबारले लेखेको छ ,‘रोबर्टो मान्सिनी, तिमीमाथि हाम्रो भरोसा छ ।’ 

हुन त इंग्लिस र यूकेका अन्य टिमका समर्थकहरूबीचको प्रतिद्वन्द्वीता नयाँ होइन । इंग्ल्यान्ड र स्कटल्यान्डका टिमहरूबीचको प्रतिद्वन्द्वीता त विश्वकै सबैभन्दा पुरानो हो । त्यसैले हुनसक्छ समूह चरणको खेलका क्रममा वेम्बलीमा स्कटल्यान्डको राष्ट्रिय गान बज्दा इंग्लिस समर्थकहरूले होहल्ला गरेको । हुन उनीहरूले जर्मन र डेनिस राष्ट्रिय गान बज्दा पनि हल्ला गरे । त्यसकारण साउथगेटले सार्वजनिक आह्‍वान नै गरेका छन्, इटालीको राष्ट्रिय गान बज्दा होहल्ला नगर्न भनेर । 

तर इटालीका खेलाडीहरूले भने इंग्लिस समर्थकहरूको व्यवहारप्रति खासै चासो दिएका छैनन् । ‘घरेलु टिमका समर्थकले सधैँ होहल्ला गर्छन् । यो नयाँ कुरा होइन । यस्तो विगतमा पनि भएको छ र भविष्यमा पनि हुनेछ । हामी अन्य कुराको वास्ता नगरी खेल जित्ने प्रयासमा हुनेछौँ,’ इटालियन कप्तान जर्जियो किलिनीले भनेका छन् ।

किलिनी सम्मिलित इटालियन टिमलाई जारी युरो कै सबैभन्दा बलियो टिम मानिएको छ । किनभने उसले यसपटक खेल नै त्यस्तै देखाएको छ । इटालीले समूह चरणमा सबै खेल जित्यो । र, एकै गोल पनि खाएन । नकआउटमा पनि इटालीले बलिया बेल्जियम र स्पेनलाई पन्छायो । 

इटाली ३३ खेलमा अपराजित छ । यस्तो सफलता इटालीले मान्सिनीको नेतृत्वमा हासिल गरेको हो । जो सन् २०१८ मा इटालीको प्रशिक्षक बनेका हुन् । रुस विश्वकपमा छनौट नै हुन नसकेको इटालीलाई मान्सिनीले उद्धार गरेका छन् । उसो त इटाली युरो फाइनल पुगेको यो पहिलो पटक होइन । सन् २००२ र २०१२ मा पनि इटालीले फाइनलको यात्रा तय गरेको थियो । तर इटाली सन् २००२ मा फ्रान्ससँग पराजित भयो । अनि सन् २०१२ मा भने स्पेनसँग । 

चार पटकको विश्वकप विजेता इटालीका अगाडि दोस्रो पटक च्याम्पियन बन्ने मौका छ । स्पेनसँग चार गोल खाएको इटालियन टिमको रक्षापंक्ति सम्हालेका किलिनी र लियानार्दो बोनुची अहिले पनि टिमका प्रमुख सदस्य हुन् । जो दोस्रो प्रयासमा युरो च्याम्पियन बन्ने लक्ष्यमा छन् । हुन पनि उनीहरु नयाँ च्याम्पियन बन्न एक कदम मात्रै पछाडि छन् । 

‘मैले साथीहरूलाई धैर्यपूर्वक खेल्नुपर्छ भनेको थिए । हामीले अहिलेसम्म त्यही गरेका छौँ । त्यसकारण हामी सुन्दर मौकाका अगाडि आइपुगेका छौँ । आशा छ हामीले आफ्नो लयलाई फाइनल खेलमा पनि कायम राख्छौँ,’ किलिनीले भने ।एएफपीको सहयोगमा  


Author

थप समाचार
x