खेलकुद

युरो उपाधि : रोबर्टो मान्सिनीकाे नजरमा सफलताको मानक

इकागज |
असार २७, २०७८ आइतबार २२:१ बजे

काठमाडौँ: युरो २०२० सुरु हुँनै लाग्दा रोबर्टो मान्सिनीले एउटा खुला पत्र लेखे । जसमा उनले वाचा गरेका थिए, ‘जसरी बालबालिका खुल्ला मैदानमा खुशी भएर खेल्छन्, हामी पनि युरोमा त्यसरी नै खेल्नेछौँ,’ मान्सिनीको वाचा पूरा भएको छ । किनभने इटाली युरोको फाइनल पुगेको छ । र, उपाधिका लागि आइतबार मध्यराति इंग्ल्यान्डसँग आमनेसामने हुँदैछ । 

मान्सिनीका खेलाडीहरूले पहिलो खेलबाटै रवाफ देखाए । टर्किस टिमको पोष्टमा तीन गोल गरे । खेलमा पर्याप्त गोल त गरे नै । आक्रमण बुन्ने मामलामा पनि खरो उत्रिए । यस्तो लाग्थ्यो, इटालियन खेलाडीहरूले नथाक्ने वाचा गरेका छन् । विशेषगरी अग्रपंक्तिबाट खेलिरहेका लोरेन्जो इन्सिग्ने र सिरो इममोबिलेले मैदानमा देखाएको प्रतिबद्धता तारिफयोग्य थियो । उनीहरूले समान एक गोल पनि गरे । र, गोलको खुशीयाली मनाउँदा ‘लाएलेनाटोरे नेल पालोन’ नाम गरेको चलचित्रप्रति समर्पण गरे । जुन चलचित्रको कथावस्तु फुटबलसँग सम्बन्धित छ । 


पहिलो जितबाटै इटालीमा गजबको माहोल देखियो । समर्थकहरू हौसिए । विश्वकप २०१८ मा इटाली छनौट हुनै असफल भएपछि समर्थकहरूमा यस्तो खुशी बिरलै देखिएको थियो । इटालीमा खुशी फर्कदा त्यसका लागि जिम्मेवार थिए, मान्सिनी । जसले खराब लयबाट गुज्रिरहेको टिमको जिम्मेवारी लिएका थिए । 

मान्सिनी प्रशिक्षक बनेपछि इटालीले केही बलिया टिमसँग मैत्रीपूर्ण खेल खेल्यो । नेदरल्यान्ड्ससँग बराबरीमा रोकियो भने फ्रान्सविरुद्धको खेलमा पराजय व्यहोर्यो । त्यसपछि नेसन्स कपमा पोर्चुगलले पनि इटालीलाई हरायो । सुरुवाती खेलहरूमा अपेक्षाकृत नतिजा आउन नसकेपछि टेलिभिजनमा इटालीको खेल हेर्न दर्शक घटे ।  तर मान्सिनी निराश भएनन् । बरु खेलाडीहरूलाई सम्झाए । र, गल्तीबाटै सिक्ने सन्देश दिए । 

हो, फुटबलमा सिक्ने समय हुन्छ । तर यस्तो सुुविधाको आयु निश्चित हुन्छ । अन्तिम १६ मा अस्ट्रियासँगको खेलअघि मान्सिनीको भनाइ यही थियो । ‘यो खेलमा गल्ती गर्ने छुट छैन । नकआउटका कुनैपनि खेलमा गल्ती गर्नु हुँदैन । तिमीहरूले जितका लागि खेल्नुपर्छ । यसबाहेक अर्को उपाय छैन,’ खेलाडीहरूलाई मान्सिनीको सन्देश थियो । 

सुन्दर फुटबल खेलाउने चाहना नराख्‍ने प्रशिक्षक सायदै हुन्छन् । यस मामलामा मान्सिनी पनि फरक छैनन् । तर उनको प्राथमिकता भने जित नै हो । उनको यही शैलीका कारण इटाली ३३ खेलमा अपराजित छ । यो इटालियन फुटबलमा नयाँ कीर्तिमान हो । यसअघि यो कीर्तिमान भिटोरियो पोज्जोको नाममा थियो । इटालीलाई दुई पटक विश्व विजेता बनाएका पोज्जोको एक दशकअघिको कीर्तिमान भंग गर्न सक्दा मान्सिनी दंग देखिए । ‘हामीले पोज्जोको कीर्तिमान तोडेका छौँ । तर उनले महत्वपूर्ण उपाधि जितेका थिए । त्यस मामलामा हामी पछाडि छौँ,’ मान्सिनीको भनाइ थियो । 

युरो सुरु हुँदा वा त्यसअघि आफ्नो लक्ष्यबारेमा मान्सिनी खासै खुलेका थिएनन् । तर महादेशिय प्रतियोगितामा एक पछि अर्को खेल जित्दै जाँदा मान्सिनी आत्मविश्वासी देखिन थाले । अनि टिमको लक्ष्य खुलाउन थाले । ‘हामी फाइनल पुग्न चाहन्छौँ । तर फाइनल पुग्नु मात्र चाँहि उपलब्धी होइन,’ स्पेनसँगको सेमिफाइनल अघि मान्सिनीले भनेका थिए ।

फाइनलमा स्थान बनाएको इटालीका लागि आफ्नो अपराजित यात्रा बोझ हुन सक्ला ? यो प्रश्न इंग्ल्यान्डसँग पराजित भएको खण्डमा झनै सान्दर्भिक हुनेछ । उपाधि गुमाए पनि टिममा मान्सिनीले ल्याएको परिवर्तन समर्थकले बिर्सने छैनन् । ३३ खेल खेल्दा २७ जित हासिल गरेको तथ्यलाई कसरी बिर्सने ? अनि ती खेलमा १० गोल मात्रै खाएर ८६ गोल फर्काएको तथ्यांकलाई पनि कसरी नजरअन्दाज गर्ने ? 

तर मान्सिनीले भनिसकेका छन्, उपाधि जितिएन भने यी जितको कुनै महत्व छैन । ‘हो, हामीले बलियो लय देखाइरहेका छौँ । तर हामी सफल भइसकेका छैनौँ । आइतबार राति च्याम्पियन बने मात्र हामी सफल ठहरिनेछौँ । किनभने ट्रफीको विकल्प छैन,’ मान्सिनीले युईएफएसँगको अन्तवार्तामा भनेका छन् । 

इटाली चौँथो पटक युरो फाइनलमा पुगेको हो । तर च्याम्पियन भने एक पटक मात्रै बनेको छ । सन् १९६८ मा इटाली विजेता बनेको थियो । त्यो पनि आफ्नै भूमिमा । त्यसपछि उसले दुई पटक विश्वकप पनि उचाल्यो । तर महादेशिय उपाधि भने थप्न सकेको छैन । सन् २००२ मा इटाली सफलताको नजिक पुगेको थियो । तर फाइनलमा फ्रान्ससँग निराश बन्यो । अनि युरो २०१२ को उपाधि भिडन्त त इटालीका लागि बर्सिनलायककै रह्यो । त्यस खेलमा इटालीले स्पेनसँग लज्जास्पद पराजय भोगेको थियो ।

यस पटकको फाइनलमा इटालीको हालत सन् २०१२ को जस्तो हुने सम्भावना कम छ । स्पेनसँगको फाइनलमा इटालीका भरपर्दा रक्षक जर्जियो किलिनीले २१ औँ मिनेटमै मैदान छाडेका थिए । दोस्रो हाफमा थियोगो मोट्टा पनि घाइते भएपछि इटाली १० खेलाडीमा सीमित भएको थियो । यसपाली मान्सिनीले लेफ्टब्याक लियार्नो स्पिनाजोला गुमाएका छन् । उनले चोटका कारण सेमिफाइनल खेलेनन् । फाइनलमा पनि उनी हुने छैनन् । स्पिनाजोलाको अभाव पक्कै पनि खड्किनेछ । अब आशा उनको स्थानमा खेलिरहेका एमरसन पालमिएरीमाथि छ । 

इटालीको रक्षापंक्ति स्वभाविक रुपमा बलियो छ । त्यसबाहेक मिडफिल्ड पनि प्रभावकारी देखिएको छ । जर्गिन्हो, मार्को भेराटी र निकोलो बरेला सम्मिलित इटालियन मिडफिल्डले साँच्चै लोभलाग्दो खेल देखाइरहेको छ । जर्गिन्हो र भेराटीले मैदानको बीच भागबाट खेलमा नियन्त्रण राख्ने प्रयास गर्दा बरेलाको जिम्मेवारी भने अग्रपंक्तिलाई सघाउने हो । यी तीन खेलाडी स्पेनको अग्रपंक्तिलाई रोक्न सफल भएका थिए । 

स्पेनसँगको खेलमा बाहेक अन्य खेलमा इटालीले विपक्षीविरुद्ध अत्याधिक बल पोसेसन राखेको छ । वेम्बलीमा उत्रदा पनि इटालीको यही हुनेछ । बल पोसेसन राख्ने र इंग्लिस मिडफिल्ड तथा रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्‍ने । 

फेरि वेम्बली मान्सिनीका लागि नौलो मैदान होइन । यही मैदानमा मान्सिनीले युरोपियन कप (त्यसबेलाको च्याम्पियन्स लिग)को फाइनल हारेका थिए । त्यसबखत उनी साम्पडोरियाबाट खेल्थे । र, उपाधि भिडन्तमा विपक्षी थियो, बार्सिलोना । रोनाल्ड कुमनले निर्णयक गोल गरेपछि इटालियन क्लब उप–विजेतामा सीमित भयो । आइतबार राति मान्सिनीसँगै फाइनल खेलेका उनका साथीहरु लुका भियाली र एटिलियो लोमबार्डो पनि वेम्बली फर्कदैछन् । दुवै पूर्वखेलाडी मान्सिनीको सहायक हुन् । 

समूह चरणका सबै खेल इटालीले रोममै खेल्ने मौका पायो । क्वार्टरफाइनल र सेमिफाइनलका लागि भने इटाली उत्रेको मैदान वेम्बली नै थियो । ती दुवै खेलमा इटालीलाई समर्थन गर्न इटालियन समर्थक थिए । तर फाइनलमा भने इंग्ल्यान्डका समर्थकको संख्या धेरै हुनेछ । यस्तोमा इटालीले आफूलाई फरक वातावरण पाउनेछ । जसका लागि मान्सिनीको टिम मानसिक रुपमा तयार हुनुपर्नेछ । फेरि फाइनल जिते मात्रै सफल भइने मान्सिनीको भनाइ पनि त छ । 
 

दी गार्डियनबाट 


Author

थप समाचार
x