युरो २०२० मा कुन टिमले कति नगद पुरस्कार पाए ?
काठमाडौँ: पेनाल्टी सुटआउटमा बलियो ठहरिएपछि इटाली युरो २०२० च्याम्पियन बन्यो । इंग्ल्यान्डकै मैदान वेम्बलीमा इटालीले घरेलु टिममाथि ३–२ को जित दर्ता गर्यो । इटाली दोस्रो पटक युरो च्याम्पियन बनेको हो । इटालीले अन्तिम पटक सन् १९६८ मा युरोपियन च्याम्पियनसिप जितेको थियो । उता इंग्ल्यान्ड भने पहिलो पटक युरो जित्ने लक्ष्यमा थियो ।
यसपटकको युरोमा कुल ५१ खेल भए । जसमा एक सय ४२ गोल भए । युरो समापन हुँदा व्यक्तिगत अवार्डहरू पनि घोषणा गरिए । यस्तोमा गोल्डेन बुट पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको पोल्टामा पर्यो । उनले चार खेलमा पाँच गोल गरेका थिए । यसै प्रतियोगिताबाट रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले इरानका अलि डाईले राखेको कीर्तिमान बराबरी गरेका हुन् । दुवै खेलाडीका नाममा एक सय नौ गोल छ ।
यसैगरी सिल्भर बुट चेक गणतन्त्रका प्याट्रिक सिकले पाए । उनले पनि पाँच गोल नै गरे । तर सिकको नाममा एक अस्सिट पनि नभएपछि उनले सिल्भर बुटमै चित्त बुझाउनु पर्यो । गोल संख्यामा तेस्रो स्थानमा करिम बेन्जेमा रहे । यसै युरोबाट फ्रान्सको टिममा पुनरागमन गरेका बेन्जेमाले चार गोल गरे । उनी बाहेक अरु तीन खेलाडीले पनि समान चार गोल गरेका थिए । तर चार गोल नै गरेका अन्य खेलाडीहरू भन्दा बेन्जेमा कम समय मैदानमा रहेका कारण, ब्रोन्ज बुटको हकदार उनी नै बने ।
गोल्डेन बल भने इटालीका जियानलुइजी डोनारुमाले पाएका छन् । गोल्डेन बल प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई दिइन्छ । २२ वर्षीय डोनारुमाले फाइनलमा दुई पेनाल्टी बचाएका थिए । युरोको इतिहासमा गोल्डेन बल पाउने उनी दोस्रो गोलरक्षक हुन् । यसअघि डेनमार्कका कास्पर स्माइकलले सन् १९९२ को युरोमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । यसैगरी स्पेनका पेड्री सर्वोत्कृष्ट युवा खेलाडी बने । १८ वर्षीय मिडफिल्डरको खेलको चौतर्फी तारिफ भएको थियो ।
व्यक्तिगत विधातर्फ खेलाडीहरू पुरस्कृत भए नै, टिमहरूले पनि आ–आफ्नो स्थान अनुसारको नगद पुरस्कार पाएका छन् । गोल डटकमका अनुसार च्याम्पियन इटालीले ३४ मिलियन युरो प्राप्त गरेको छ । अनि उप–विजेता इंग्ल्यान्डले ३०.२५ मिलियन युरो पायो । सेमिफाइनलमा पुगेका स्पेन र डेनमार्कले क्रमशः २२.५ मिलियन युरो र २१ मिलियन युरो प्राप्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया