खेलकुद

मेस्सीले बार्सिलोनासँग पाँच वर्षे नयाँ सम्झौता गर्ने

इकागज |
असार ३०, २०७८ बुधबार १९:५० बजे

काठमाडौँ: लियोनल मेस्सीले बार्सिलोनासँग पाँच वर्षे नयाँ सम्झौता गर्ने भएका छन् । स्पेनी अखबार स्पोर्टका अनुसार मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताबारेमा मौखिक सहमति भइसकेको छ । अर्जेन्टिनालाई हालै कोपा अमेरिका जिताएका मेस्सी गत जुन ३० बाट ‘फ्रि-एजेन्ट’ बनेका थिए । 

मेस्सीले बार्सिलोनासँग सम्झौता नविकरण गर्छन् वा गर्दैनन् भन्‍ने बारेमा अनुमान हुँदै आइरहेको थियो  । तर उनी सम्झौता नविकरण नगरी राष्ट्रिय टिमका लागि खेल्न दक्षिण अमेरिका फर्किए । अहिले पनि उनी अर्जेन्टिनामै छन् । यद्यपि उनका प्रतिनिधि र बार्सिलोनाबीच नयाँ सम्झौताका विषयमा कुराकानी जारी रहेको बताइएको छ । 
पछिल्लो सिजनदेखि नै मेस्सीले फरक लिगमा खेल्न चाहेको खबर आइरहेको थियो । यद्यपि बार्सिलोनामा जोआन लार्पोटा नयाँ अध्यक्ष बनेर आएपछि मेस्सी क्याट्लन क्लबमै रहने सम्भावना बढेको थियो । 


कोभिड-१९ का कारण विश्‍व अर्थतन्त्रमै असर पुगेका बेलमा युरोपका ठूला क्लबहरूको आम्दानी पनि घटेको छ । दर्शक रंगशाला पुग्‍ने अवस्था नभएपछि क्लबहरूले केही समययता टिकट पनि बेच्‍न पाएका छैनन् । जसका कारण क्लबहरू थप मारमा परेका छन् । यस्तो अवस्थामा बार्सिलोनाले करिब ५०० मिलियन युरो ऋण लिनु परेको र विद्यमान खर्चमा पनि कटौती गरेको छ । त्यसकारण खेलाडीहरूको तलब घटाउने र आवश्यक नपर्ने खेलाडीहरु पनि बेच्‍ने प्रयासमा बार्सिलोना छ । 

बार्सिलोनाको अर्थिक स्थिति सुदृढ नरहेको अवस्थामा मेस्सीले पनि केही कम तलब पाउने गरी नयाँ सम्झौता गर्न लागेको स्पोर्टको दाबी छ । मेस्सी बाहेक अन्य खेलाडीले पनि तलब कटौतीमा सहमति जनाइसकेको बताइएको छ । फिलिप्पे कौउटिन्हो, एन्टोइन ग्रिजमन, सामुएल उटिटी जस्ता खेलाडीलाई बेच्‍न ग्राहक क्लबको खोजी सुरु गरिएको छ । 
 


Author

थप समाचार
x