खेलकुद

लिभिङस्टोनको कीर्तिमानी शतकले पनि बचाएन इंग्ल्यान्डलाई

इकागज |
साउन २, २०७८ शनिबार ९:४३ बजे

काठमाडौँ : लायम लिभिङस्टोनले कीर्तिमानी शतक प्रहार गरे पनि इंग्ल्यान्डले पहिलो टी-ट्वान्टीमा शुक्रबार राति पाकिस्तानसँग ३१ रनको हार व्यहोरेको छ । ट्रेन्ट ब्रिजमा लिभिङस्टोनले ४३ बलमा १०३ रन बनाएका थिए । जुन टी-ट्वान्टीमा कुनै पनि इंग्लिस ब्याट्सम्यानले सर्वाधिक थोरै बलमा बनाएको शतक हो ।

यसअघि पाकिस्तानलाई नै एक दिवशिय श्रृंखलामा हराएको इंग्ल्यान्डको टिममा प्रमुख रोजाईका जेसन रोय, जोनी बेरिस्टो र टम कुरान जस्ता खेलाडी टिममा फर्किएका थिए । तर उनीहरूको उपस्थितीले पनि पाकिस्तानविरुद्ध जित निस्केन । इयोन मोगार्नको कप्तानीमा रहेको इंग्लिस टोलीले टस जितेर बलिङ गर्ने निर्णय गर्दा पाकिस्तानले ६ विकेट खर्चेर कुल २३२ रन बनायो । जुन टी-ट्वान्टीमा उसले तयार गरेको सर्वाधिक योगफल थियो ।


पाकिस्तानका ओपनरद्वयले बलियो सुरुवात दिलाए । मोहम्मद रिजवानले ४१ बलमा ६३ रन बनाए भने कप्तान बाबर आजमको नाममा ८५ रन रह्यो । आजमले तीन छक्का र आठ चौका प्रहार गरे । पाकिस्तानका लागि फखार जमान र मोह्मद हाफिजको साझेदारी पनि महत्वपूर्ण सावित भयो । उनीहरूले १६ बलमा ४६ रनको साझेदारी गरे ।

जवाफि ब्याटिङमा उत्रेको घरेलु टोली इंग्ल्यान्ड २०१ रनमा सीमित भयो । पाकिस्तानका शहिन अफ्रिदीले तीन विकेट लिए । सुरुमै डाविड मालनलाई पभेलियन फर्काएका अफ्रिदीले बेरिस्टोलाई पनि आउट गरे । इंग्ल्यान्डका लागि रोयले ३२ रन जोडे । कप्तान मोर्गनले पनि उल्लेख्य रन जोड्न सकेनन् । उनको नाममा १६ रन मात्रै रह्यो ।


Author

थप समाचार
x