खेलकुद

‘भारतीय युवा खेलाडी देखेर ईर्ष्या लाग्छ’

इकागज |
साउन २, २०७८ शनिबार १४:५० बजे

काठमाडौँ - भारतका दुई क्रिकेट टोली यतिबेला विदेश भ्रमणमा छन् । एउटा टोली श्रीलंकासँग एक दिवशिय तथा टी–ट्वान्टी खेल्न कोलम्बो पुगेको छ भने नियमित कप्तान विराट कोहलीको नेतृत्वमा रहेको अर्को टोली इंग्ल्यान्डमा छ । कोहली सम्मिलत टोलीले इंग्ल्यान्डसँग पाँच टेस्ट खेल्नेछ । 

कोहली सहितका मुख्य खेलाडी इंग्ल्यान्ड भ्रमणमा रहँदा श्रीलंका पुगेको टिमको कप्तानी शिखर धवनले गरेका छन् । राहुल द्रबिड प्रशिक्षक रहेको यस टिममा धवन बाहेक, हार्दिक पान्ड्या, पृथ्वी श लगायतका खेलाडी छन् । यी खेलाडीहरूले श्रीलंकाली टोलीलाई कडा टक्कर दिने विश्वास गरिएको छ । 


यसै विषयमा श्रीलंकाका पूर्वब्याट्सम्यान रसेल आर्नोल्डले भारतीय टिमबारेमा प्रतिक्रिया दिएका छन् । उनले भारतीय ओपनर शले आइतबारबाट सुरु हुने श्रृंखलामा प्रभावशाली प्रदर्शन गर्ने अनुमान गरे । ‘श्रीलंकासँग अभिस्का फर्नान्डो जस्ता ब्याट्सम्यान छन् । जसले घरेलु टिमका लागि सशक्त खेल देखाउन सक्छन् । उता भारतीय टिममा धवन र पान्ड्या जस्ता आक्रामक खेलाडी छन् । जसले खेललाई आफ्नो हिसाबले डोर्‍याउन सक्छन् । तर मलाई लाग्छ, श भारतीय टिमका लागि झनै महत्वपूर्ण सावित हुन सक्छन्,’ आर्नोल्डले भने । 

श्रृंखलाको पहिलो एक दिवशिय खेलमा आइतबार भारतले श्रीलंकाको सामना गर्दा, ओपनिङमा शले धवनसँग साझेदारी गर्ने अनुमान गरिएको छ । पछिल्लो समय ओझेलमा परेका भनिएका शका लागि श्रीलंकाविरुद्धको खेल आफूलाई पुनःप्रमाणित गर्ने मौका हुनेछ । 

भारतको घरेलु प्रतियोगिता विजय हजारे ट्रफीमा बलियो प्रदर्शन गरेपछि श पुनः भारतीय छनौटकर्ताहरूको नजरमा परेका हुन् । त्यस प्रतियोगितामा मुम्बईलाई च्याम्पियन बनाउन शले कुल ८२७ रन बनाएका थिए । दाँया हाते ब्याट्सम्यानले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि तारिफयोग्य खेल देखाए । कोभिड–१९ महामारीका कारण सेप्टेम्बरमा आईपीएल स्थगित हुनुअघि शले आठ खेलमा कुल ३०८ रन जोडेका थिए । 

श्रीलंकाको भ्रमणमा रहेको भारतीय टिममा कोहली र शर्मा मात्रै होइन, ऋषभ पन्त, मोहम्मद शामी जस्ता खेलाडी पनि छैनन् । यस्तोमा श्रीलंकाका पूर्वकप्तान अर्जुना रानातुंगाले भारतले ‘कमजोर टिम’पठाएर आफूहरूको अपमान गरेको प्रतिक्रिया दिइसकेका छन् । तर आर्नोल्ड भने विश्वकप विजेता रानातुंगा जस्तो नकारात्मक देखिएनन् । बरु उनले भारतका युवा खेलाडीहरू देखेर आफूलाई ईष्या लाग्ने गरेको बताए ।

‘भारतसँग उसका सिनियर खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नसक्ने युवा खेलाडीहरू छन् । युवा भनिएको यही टिम पनि अनुभव विहिन छैन । धवन, पान्ड्या, चहाल, कुलदिप यादव जस्ता खेलाडीहरू प्रतिभाशाली त छँदैछन् अनि अनुभवी छन् । त्यसकारण, यो टिम उत्साहजनक छ,’ आर्नोल्डले भनेका छन् । 

 
  
 


Author

थप समाचार
x