खेलकुद

ओलिभर जिरुड अब एसी मिलानमा

इकागज |
साउन २, २०७८ शनिबार १७:१२ बजे

काठमाडौँ - फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड चेल्सीबाट इटालीको एसी मिलानतर्फ लागेका छन् । उनको स्थान्तरण शनिबार पक्का भयो । ३४ वर्षीय जिरुडका लागि मिलानले २० लाख युरो तिरेको बताइएको छ । 

करिब चार वर्ष चेल्सीमा रहेका जिरुडले मिलानमा नौ नम्बर जर्सी लगाउनेछन् । गत सिजन चेल्सीमा खासै खेल्न नपाएका जिरुड समर्थकमाझ भने लोकप्रिय थिए । सबै प्रकारको प्रतियोगितामा गरी चेल्सीको जर्सीमा कुल ११९ खेल खेलेका जिरुडले ३९ गोल गर्न सके । अनि च्याम्पियन्स लिग, युरोपा लिग र एफए कप पनि जिते । 


मिलान स्थान्तरणसँगै जिरुडले नौ वर्षे लामो इंग्ल्यान्ड बसाइमा पूर्णबिराम लगाएका छन् । सन् २०१२ मा फ्रेन्च क्लब मोन्ट्पेलियर छाडेका जिरुडले आर्सनलमा पाँच वर्ष बिताए । जाँदाजाँदै जिरुडले चेल्सी समर्थकसँग बिदा माग्दै उनीहरूलाई धन्यवाद पनि भनेका छन् ।

‘चेल्सीका सबै समर्थक, मेरा सहकर्मी, प्रशिक्षक टोली र समग्र क्लबलाई नै धन्यवाद भन्न चाहन्छु । यतिका वर्ष चेल्सीबाट खेलेर सुन्दर क्षणहरू बिताउने मौका पाए । अब म नयाँ यात्रा सुरु गर्दैछु । यसका लागि म खुशी छु अनि उत्साहित पनि,’ जिरुडले आफ्नो सन्देशमा लेखेका छन् । 
 
 


Author

थप समाचार
x