संकटमा रियल म्याड्रिड
काठमाडौँ : रियल म्याड्रिड यो सिजन साच्चै संकटमा छ । रियलले न त घरेलु लिगमा राम्रो गर्न सकेको छ न त च्याम्पियन्स लिगमै । जिनेदिन जिदान नेतृत्वको रियल स्पनिस ला लिगाको चौथो स्थानमा छ । रियलले लिगमा १० खेलमध्ये पाँचमा मात्र जित दर्ता गरेको छ । उता च्याम्पियन्स लिगमा त रियल अर्को चरणमा पुग्ने नपुग्ने टुङ्गो नै छैन । जारी सिजनमा रियलले अपेक्षित लय समाउन नसक्दा प्रशिक्षक जिदान दबाबमा छन् । च्याम्पियन्स लिगमा मंगलबार युक्रेनी प्रतिद्वन्द्वी शाख्तर डोनेस्कसँग पराजित भएपछि त जिदान थप अफठ्यारो अवस्थामा पुगेका छन् ।
गत शनिबार ला लिगामा भिल्लारियलसँग बराबरी खेलेपछि जिदान पत्रकार सम्मेलनमा निराश देखिन्थे । खासमा उनी पत्रकारसँग कड्किरहेको देखिन्थे । ‘तपाईहरू (पत्रकार) आफ्नो काम गर्न नछाड्नुस । म आफ्नो काम गर्न छाड्दिन । म अन्तिमसम्ममा पनि टिमका लागि मेहेनत गरिरहने नै छु,’ उनको भनाई थियो ।
जिदान निराश देखिनु अचम्मलाग्दो घटना होइन । उनले स्पेनिस क्लबलाई तीन च्याम्पियन्स लिग जिताएका छन् । अनि दुई लिग पनि । त्यसकारण जारी सिजनमा टिम खराब लयमा रहदाँ उनको निराशा जायज हो । जिदानले बिगतमा रियलका लागि गरेको योगदानका आधारमा पनि उनलाई समय दिनुपर्छ भन्ने धारणा छ । जुन गलत होइन । तर यतिबेला, रियलका सर्मथक र म्याड्रिडका मिडिया खुशी छैनन् । जिदानमाथि दबाब दुबै तप्काबाट छ ।
रियलले गत साता च्याम्पियन्स लिगमा इन्टर मिलानलाई हरायो । तर रियलको जितमा जिदानका खेलाडीहरूको मेहेनत भदा पनि इन्टरका आर्तुरो भिडालले पाएको रातो कार्डलाई कारक मानियो । त्यसपछि, लिगमा रियल अलाभेसँग स्तब्ध भयो । अलाभेससँग हारेसँगै, रियल लिगको पछिल्ला तीन खेलमा जितविहिन छ ।
यता च्याम्पियन्स लिगमा मंगलबार शाख्तरसँग फेरि पराजित भएपछि रियलको नकआउटमा पुग्ने सम्भावना पातलो बनेको छ । रियल युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको समूह चरणबाट कहिले पनि बाहिरिएको छैन । तर यसपटक उ किर्तिमानको नजिक छ ।
शाख्तरसँगको खेलमा रियल हरेका विभागमा बलियो देखिएको थियो । रियलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्यो । अनि युक्रेनी क्लबको पोस्टमा १५ पटक आक्रमण गर्यो । तर मौका सिर्जना गरेर मात्रै खेल जितिदैन ।
खेलमा रियलका दुई मुख्य खेलाडी अनुपस्थित थिए । कप्तान सर्जियो रामोस र एडेन हार्जाड । खेल दौरान रियललाई उनीहरूको अभावले पिरोलेको प्रस्टै देखिन्थ्यो । तर रियलसँग रामोस र हाजार्ड जस्ता खेलाडीहरूको संख्या बढाउन पर्याप्त स्रोत छ । त्यसकारण, दुई खेलाडी नहुँदैमा पराजित हुनुपर्ने टिम होइन, रियल । त्यसमाथि, कोरोना भाइरसले मुख्य खेलाडीहरू गुमाएको शाख्तरसँग ।
त्यसो त शाख्तर रियलविरुद्ध उत्रिदा उति आत्मविश्वासी थिएन । किनभने युक्रेनी लिग विजेताले पछिल्ला दुई खेलमा जर्मन क्लब बोरुसिया मन्चुनग्लाडबागसँग लज्जासपद पराजय भोगेको थियो । मन्चुनग्लाडबागसँग दुई खेलमा १० गोल खाएको शाख्तरको रक्षापंत्तीलाई करिम बेन्जेमा सम्मिलत रियलले माथ खुवाउन सकेन ।
रामोसको अनुपस्थितीमा राफाएल भारानले रियलको रक्षापंत्ति सम्हाल्ने अपेक्षा गरिएको थियो । तर उनी कप्तान रामोस बिना हतास देखिए ।
खेलपछि रियलका मिडफिल्डर टोनी क्रुसले आफ्नो टिम यस सिजन गोलका लागि संर्घषरत रहेको स्विकार गरे । शाख्तरसँगको खेलमा रियलको हालत क्रुसको भनाईसँग मिल्दोजुल्दो थियो । गत सिजन रियलले लिग जित्दा स्पेनिस क्लबको रक्षापंत्ति मजबुत देखिएको थियो । तर जारी सिजन रियलको रक्षापंत्ति पनि भताभुङ देखिएको छ । च्याम्पियन्स लिगको पाँच खेलमा नौ गोेल खानु त्यसकै नतिजा हो । कप्तान रामोस बिनाको रियल रक्षापंत्ति त झन खेलको पहिलो मिनेटबाटै कमजोर देखिन्छ ।
रामोसको अनुपस्थितीमा राफाएल भारानले रियलको रक्षापंत्ति सम्हाल्ने अपेक्षा गरिएको थियो । तर उनी कप्तान रामोस बिना हतास देखिए । शाख्तरले पहिले गोल गर्दा भारानकै गल्ती देखियो । त्यसमाथि झन् जिदानले लुकास भास्केजलाई राइटब्याक बनाएर खेलाउँदा रियलको रक्षापंत्ति थप कमजोर बनेको छ ।
यस सिजन ला लिगामा होस वा च्याम्पियन्स लिगमा, भास्केज बारम्बार विपक्षीको निशानामा परिरहेको देखिन्छ । भास्केज विङगर हुन् । तर रियलका पहिलो रोजाइका राइटब्याक ड्यानी कार्बहाल र त्यही स्थानमा खेल्ने अर्का अल्भारो ओड्रियोला घाइते भएपछि जिदानले भास्केजलाई प्रयोग गरिरहेका छन् । तर भास्केजलाई रक्षापंत्तिमा खेलाउने जिदानको निर्णयलाई रियलका पूर्व खेलाडी लगायतले पचाउन नसकिरहेको अवस्था छ । कमसेकम सेन्ट्रल डिफेन्समै खेल्ने खेलाडीलाई राइटब्याकका रूपमा उपयोग गरिनुपर्ने उनीहरूको धारणा छ ।
‘समूह बी’ मा रियल र शाख्तरको समान ७-७ अंक छ । समूह चरणको बाँकी खेलहरूमा रियलले मन्चुनग्लाडबाग र शाख्तरले इन्टर मिलानको सामना गर्दैछन् । नकआउट चरणमा पुग्न रियलले आफ्नो खेल त जित्नुपर्ने नै छ । साथै शाख्तर र इन्टरको खेलबाट रियललाई फाइला पुग्ने किसिमको नतिजा आउनुपर्नेछ ।
जिदानले गत साता टिमको खराब प्रदर्शनका बारेमा ब्याख्या गर्न आफुसँग शब्द नरहेको अभिब्यक्ति दिए । तर, जिदानसँग रियलको समस्या सुल्झाउने बाहेक अर्को उपाय पनि त छैन । किनभने, रियलको खराब लयले निरन्तरता पाएमा उनले थप प्रश्नको सामना गर्नुपर्नेछ । त्यसपछि, उनले क्लबका लागि गरेको योगदान पनि दाउँमा पर्नेछ ।
त्यसो त जिदानले किभको पराजयपछि आफुले राजिनामा नदिने प्रस्ट पारिसकेका छन् । जिदानको निर्णय बेठिक छैन । तर उनले आफ्नो काम गर्न जरुरी छ । पत्रकारले आफ्नो काम त गरिरहने नै छन् । (गोल डटकमबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया