खेलकुद

सोल्स्यारमाथि म्यानचेस्टर युनाइटेडको भरोसा

इकागज |
साउन ९, २०७८ शनिबार १८:४७ बजे

काठमाडौँ - जेडोन सान्चो अनुबन्ध गरेको एक दिन पछि नै म्यानचेस्टर युनाइेडले प्रशिक्षक ओले गनर सोल्स्यारसँगको सम्झौता नविकरण गरेको छ । नर्वेका सोल्स्यारले शनिबार युनाइटेडसँग तीन वर्षे नयाँ सम्झौता गरेका हुन् । 

४८ वर्षिय सोल्स्यार डिसेम्बर, २०१८ मा युनाइटेड फर्किएका थिए । सन् १९९६ देखि २००७ सम्म युनाटेडका खेलाडी रहेका सोल्स्यारलाई सुरुमा कामचलाउ प्रशिक्षक बनाइएको थियो । जोसे मौउरिन्हो बर्खास्तीमा परेपछि तत्कालका लागि जिम्मेवारी सोल्स्यारले पाएका थिए । त्यसको तीन महिनापछि नै सोल्स्यार स्थायी प्रशिक्षक बने ।


मार्च, २०१९ मा सोल्स्यारले तीन वर्षका लागि सम्झौता गरेका थिए । गत वर्ष युनाइटेडलाई इंग्लिस प्रिमियर लिगको उप-विजेता बनाएपछि सोल्स्यारले थप केही वर्ष प्रशिक्षककै पदमा राखिरहने निर्णय गरिएको हो । सोल्स्यारको प्रशिक्षणमा युनाइटेड युरोपा लिगको फाइनल पनि पुगेकाे थियाे । 

युनाइटेडसँग सम्झौता नविकरण गरेपछि सोल्स्यार दंग देखिएका छन् । आफूले माया गरेका क्लबमा थप केही वर्षका लागि रहने मौका पाएपछि आफू हर्षित भएको उनको प्रतिक्रिया थियो । ‘म उत्साहित छु । हामीले युनाइटेडको टिम बलियो बनाइरहेका छौँ । युवा तथा पाका खेलाडीहरूको समिश्रण छ । मलाई खेलाडीबाट मात्रै होइन प्रतिभाशाली प्रशिक्षकहरूको पनि साथ र समर्थन छ । युनाइटेड ठूला उपाधि जित्ने क्लब हो । हामी त्यही बाटोमा छौँ । तर आउँदो सिजन हामीले थप सुधार गर्नुपर्नेछ,’ सोल्स्यारले भनेका छन् । 

खेलाडीका र"पमा पनि लोकप्रिय रहेका सोल्स्यार प्रशिक्षक बनेर फर्किएपछि पनि समर्थकमाझ उत्तिकै प्रिय छन् । मौउरिन्होको कार्यकालमा निराश बनेका युनाइटेड समर्थक सोल्स्यारप्रति आशावादी छन् । यद्यपि युनाइटेडले कुनै उपाधि जितिहालेको भने छैन । 

सोल्स्यारले युनाइटेडमा युवा खेलाडीहरूलाई मौका दिइरहेका छन् । आक्रामक फुटबलमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । बुर्नो फर्नान्डेज जस्ता खेलाडी अनुबन्ध गरेकाले पनि सोल्स्यारको आक्रामक फुटबल खेलाउने नीतिमा बल पुगेको छ । झन् शुक्रबार मात्रै युनाइटेडले टिममा सान्चो थपेको छ ।

म्यानचेस्टर सिटी र चेल्सीले सरुवा बजारमा निरन्तर खर्च गरिरहँदा युनाइटेड पछि पर्न चाहिरहेको छैन । त्यसकारण, सोल्स्यारको टिम पछिल्ला दिनमा रियाल म्याड्रिडका रक्षक राफाएर भारानसँग जोडिएको छ । 

   
 


Author

थप समाचार
x