रोनाल्डोले युभेन्टस नछाड्ने
काठमाडौँ- युभेन्टस पुगेपछि क्रिस्टियानो रोनाल्डोले सरासर दुई पटक लिग जिते । गत सिजन भने युभेन्टस सिरी ए मा चौँथो स्थानमा रह्यो । लिग च्याम्पियन बन्न नसकेर निराश बनेका रोनाल्डो लिगको उच्च गोलकर्ता भने भए ।
लिगमा बाहेक युभेन्टस च्याम्पियन्स लिगमा पनि असफल भयो । एफसी पोर्टोसँग पराजित भएपछि युभेन्टसको च्याम्पियन्स लिगको अन्तिम १६ भन्दामाथि जान सकेन । इटाली र युरोप दुवै ठाउँमा युभेन्टस असफल भएपछि रोनाल्डोले नयाँ क्लब खोजी गर्ने हल्ला चलिरहेको छ ।
तर यस्तो हल्लामा कुनै सत्यता नरहेको युभेन्टसका उपाध्यक्ष पाभेल नेदभेदले दाबी गरेका छन् । उनका अनुसार रोनाल्डो आउँदो सिजन युभेन्टसमै रहनेछन् । ‘रोनाल्डो सोमबार अभ्यासमा आउनेछन् । उनले युभेन्टस छाड्ने सम्भावना छैन,’ शनिबार युभेन्टस र सेसेनाबीचको खेलपछि नेदभेदले भने ।
रोनाल्डोको युभेन्टससँगको सम्झौता एक वर्षपछि सकिँदैछ । ३६ वर्षीय फरवार्डले सम्झौता नवीकरण नगर्ने हो भने उनी जुन ३०, २०२२ मा ‘फ्रि–एजेन्ट’ बन्दै अर्को क्लब जान बाटो खुला हुनेछ । त्यसकारण युभेन्टसले रोनाल्डोलाई सित्तैमा क्लब छाड्न दिने भन्दा यही सरुवा बजारमा बेच्ने अनुमान गरिँदै आइएको छ । यस्तामा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) पोर्चुगिज कप्तानलाई अनुबन्ध गर्न तयार रहेको युरोपियन सञ्चार माध्यमहरूले दाबी गर्दै आएका छन् ।
रोनाल्डो सन् २०१८ मा रियाल म्याड्रिडबाट टुरिन पुगेका हुन् । च्याम्पियन्स लिग जित्नका लागि रोनाल्डोको उपस्थिती निर्णयक सावित हुने अपेक्षा गरिए पनि युभेन्टस आफ्नो लक्ष्यमा खरो उत्रन सकेको छैन । यद्यपि रोनाल्डोले गोल भने निरन्तर गरिरहेका छन् । त्यसकै नतिजा हो, ९७ लिग खेलमा ८१ गोल । उनले गत सिजन मात्रै पनि ३३ लिग खेलमा २९ गोल गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया