खेलकुद

लाम्पार्ड इंगल्यान्डको प्रशिक्षक बन्न योग्य छन् : इभानोभिच

इकागज |
मंसिर १९, २०७७ शुक्रबार १२:१७ बजे

काठमाडौं : चेल्सीका पूर्व डिफेन्डर ब्रानिस्लाभ इभानोभिचले आफ्ना पूर्व सहकर्मी फ्रान्क लाम्पार्ड भविष्यमा इंगल्याड राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्न सक्षम रहेको बताएका छन् । 

डर्बी काउन्टीबाट प्रशिक्षण करियर सुरु गरेको लाम्पार्डले गत वर्ष मात्र चेल्सीको जिम्मेवारी सम्हाल्न सुरु गरेका हुन् । प्रशिक्षकका रुपमा काम गर्न थालेको नभए पनि लाम्पार्डले आफ्नो क्षमता प्रदर्शन गरिसकेको इभानोभिचको भनाइ थियो । ‘जब लाम्पार्डले प्रशिक्षक बन्ने निर्णय लिए तब नै उनी सफल हुने तय थियो,’ इभानोभिचले बेलायती अखबार डेली मेलसँग भनेका छन्, ‘उनी चेल्सीका लागि सही ब्यक्ति हुन् । त्यति मात्र होइन, उनी भविष्यमा इंगल्यान्डको प्रशिक्षक बन्न पनि योग्य छन्,’ 


चेल्सी आएको पहिलो सिजनमै लाम्पार्डले लन्डन क्लबलाई लिगको शिर्ष चार भित्र छनौट गराएका थिए । त्यस्तै, लाम्पार्डको नेतृत्वमा चेल्सीले एफए कपको फाइनल पनि खेल्यो । ४२ वर्षिय प्रशिक्षकले चेल्सीलाई च्याम्पियन्स लिगमा अपराजित राखेका छन् । त्यस्तै, प्रिमियर लिगमा पनि लाम्पार्डले चेल्सीलाई उपाधि दाबेदारका रुपमा अघि बढाइरहेका छन् । 

सन् २०१७ मा चेल्सी छाडेपछि रसियन लिग खेल्न जेनिट सेन्ट पिटर्सबर्ग पुगेका इभानोभिच यसै सिजन इंगल्यान्ड फर्केका हुन् । करिब नौ वर्ष लाम्पार्डसँगै चेल्सीमा खेलेका इभानोभिचले पूर्व इंग्लिस मिडफिल्डरले आधुनिक फुटबल राम्रोसँग बुझेको पनि धारणा राखे ।

‘लाम्पार्डसँग नवीन योजनाहरु छन् । उनको अन्र्तवार्ता हेर्दा नै थाहा हुन्छ की उनी कति तेज प्रशिक्षक हुन भनेर । उनी खेलाडीहरुलाई राम्रोसँग उपयोग गर्न जान्दछन् । खेलाडीहरुलाई आत्मविश्वासी बनाउछन् । उनीसँग सफल प्रशिक्षक बन्न चाहिने सबै गुणहरु छन्,’ इभानोभिचले आफ्ना पूर्व सहकर्मीको तारिफमा भने ।


Author

थप समाचार
x