चेल्सीविरुद्ध लिड्स : गहिरो प्रतिद्वन्द्विताबीच तीन अंकको लडाई
काठमाडौँ : प्रिमियर लिगमा यस साता चेल्सी र लिड्स युनाइटेड भिड्दैछन् । कुनै बेला लिगमा ठूलो प्रतिद्वन्द्विता राख्ने यी दुई टिम १६ वर्षपछि पहिलोे पटक आमने सामने हुँदैछन् । चेल्सी र लिड्सको प्रतिद्वन्द्विता करिब ७० वर्ष पुरानो छ । तर शनिबार स्टाम्फोर्ड ब्रीजमा भेट हुँदा चेल्सी र लिड्सका खेलाडीहरुले सन् १९६० र ७० को दशकमा उचाईमा पुगेको प्रतिद्वन्द्वितालाई खासै सम्झिने छैनन् । अनि यी दुई क्लबका खेलाडीहरु एक आपसलाई खासै चिन्दैनन् पनि ।
तर प्रशिक्षकद्धय भने एक आपसका बारेमा राम्रो जानकारी राख्छन् । कारण ? चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड र लिड्सका प्रशिक्षक मार्सेलो बिएल्सा गत वर्ष मात्र इंग्लिस फुटबलको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा आमने सामने भएका थिए । त्यति मात्रै होईन, यी दुई एउटा विवादमा पनि सामेल भए । विवाद पनि अचम्म लाग्दो थियो ।
च्याम्पियनसिपमा लिड्स र डर्बी काउन्टी भिड्ने तालिका थियो । डर्बीले खेल तयारीका लागि गरिहेको अभ्यासको सुराकी गर्न बिएल्साले आफ्नो सहयोगीलाई पठाए । डर्बीले आपत्ति नजनाउने कुरै भएन । इंग्लिस फुटबल लिग प्रशासनले लिड्सलाई जरिवाना गरायो । तर कुरा यत्तिमै सकिएन । लाम्पार्डले बिएल्सासँग माफीको अपेक्षा गरे । तर बिएल्साले सुराकी गर्नु किन आफुले अंगिकार गरेको प्रशिक्षण विधिकै अंश हो भनेर पत्रकारहरुका अगाडि ६६ मिनेट लामो प्रस्तुती दिए ।
सन् २०१८-१९ को त्यो सिजन लिड्सले डर्बीलाई चार मध्ये तीन खेलमा पराजित गर्यो । तर प्रिमियर लिगमा बढुवा गराउने प्लेअफमा भने लिड्स सफल हुन सकेन । लाम्पार्डले बिएल्सालाई प्लेअफमा समग्रमा ४-३ ले हराए । फलस्वरुप, बिएल्साले लिड्सलाई इंग्लिस फुटबलको पहिलो श्रेणीमा बढुवा गराउन थप एक वर्ष पर्खिनु पर्यो ।
बिएल्सालाई महत्वपुर्ण खेलमा हराएपनि लाम्पार्डको रिस मरेन । त्यसकै नतिजा हो, बिएल्साले गत वर्षको अन्त्यमा फिफाबाट ‘फेयर-प्ले’ अर्वाडले पुरस्कृत हुदाँ लाम्पार्डले असन्तुष्टि जनाएको । ‘यस्तो अर्वाडका लागि बिएल्सा जस्ता प्रशिक्षकले मत पाउँछन् । अचम्म लाग्छ,’ लाम्पार्डको प्रतिक्रिया थियो । शनिबार हुनै खेल चेल्सी र लिड्सबीचको प्रतिद्वन्द्विताको नयाँ चरणको सुरुवात हो । त्यसो त चेल्सी र लिड्सको प्रतिद्वन्द्विता सन् १९६० को दशकबाट सुरु भएको हो । जब, डन रेभी प्रशिक्षक भएर आए, लिड्स इंग्लिस फुटबलको शक्तिका रुपमा उदायो ।
इंगल्यान्डमा बढ्दै गएको हुलदङगा, उत्तर दक्षिण बीचको विभाजन र फरक खेल्ने शैलीका कारण चेल्सी र लिड्सको प्रतिद्वन्द्विताले बढावा पाउँदै गयो । सन् १९७० मा जब चेल्सीले पहिलो पटक एफए कप जित्दै थियो, पराजित विपक्षी थियो लिड्स । त्यो समय चेल्सी र लिड्सको प्रतिद्वन्द्विता उचाईमा थियो ।
फेरि पनि बिएल्सालाई हराउँदा लाम्पार्ड खुशी नै हुनेछन् भन्ने कुरामा दुई मत छैन । तर उनले त्यो खुशीलाई ब्यक्त गर्ने छैनन् । किनभने यस सिजन लाम्पार्डका लागि बिएल्सा भन्दा ठूला चुनौतीहरु छन् ।
‘फुटबलमा प्रतिद्वन्द्विता सधै एउटै ठाउँको क्लबहरुका बीच हुनुपर्छ भन्ने छैन । त्यसकारण पनि चेल्सी र लिड्सको प्रतिद्वन्द्विता ऐतिहासिक छ भन्नेमा संकोच छैन,’ चेल्सीका पूर्व मिडफिल्डर जो कोल भन्छन्, ‘जब म चेल्सीको खेल हेर्दै हुर्किदै थिए, त्यतिबेला लिड्सलाई फोहोरी टिमका रुपमा लिइन्थ्यो । चेल्सीका अहिलेका खेलाडीहरुले पनि लिड्ससँगको प्रतिद्वन्द्विताबारेमा थाहा पाउनुपर्छ ।’
फेरि पनि बिएल्सालाई हराउँदा लाम्पार्ड खुशी नै हुनेछन् भन्ने कुरामा दुई मत छैन । तर उनले त्यो खुशीलाई ब्यक्त गर्ने छैनन् । किनभने यस सिजन लाम्पार्डका लागि बिएल्सा भन्दा ठूला चुनौतीहरु छन् । लाम्पार्डसँगै चेल्सीमा खेलेका कोल, लाम्पार्ड र बिएल्साका बीच कुनै प्रतिद्वन्द्विता नभएको र भएपनि त्यो फगत मिडिया र सर्मथकहरुका लागि कुराकानी गर्न एउटा विषय मात्र भएको मान्छन् । ‘लाम्पार्डले च्याम्पियनसिपमा भएको घटनालाई भुलिसके । उनी अहिले फरक परिवेशमा छन् । तर पनि यी दुई क्लबबीचको खेल महत्वपुर्ण छ । टेलिभिजनमा देखाइनेछ । लाखौं दर्शकहरुले विश्वभरी नै हेर्नेछन्,’ कोलको भनाई थियो ।
चेल्सी यस सिजन लिग उपाधी दौडमा छ । त्यसकारण पनि लाम्पार्ड नेतृत्वको चेल्सीलाई लिड्सविरुद्ध जित निकाल्नै पर्नेछ । तर दुबै प्रशिक्षकले सुराकी घटनालाई फेरि उल्लेख गर्ने छैनन् । अनि त्यो एउटा घटनाले बिएल्सालाई कमजोर प्रशिक्षकका रुपमा दर्ज गराउने पनि होइन । लाम्पार्डलाई राम्रोसँग थाहा छ की बिएल्सा चेल्सीलाई रोक्न बलियो रणनीति बनाउन सक्षम छन् ।
सिजनको पहिलो खेलमै लिड्सले लिभरपुललाई आच्छुआच्छु बनाएको थियो । त्यस्तै, म्यानचेस्टर सिटी र आर्सनल जस्ता टिमहरुलाई लिड्सले यो सिजन बराबरीमा राकेको छ । एभरटनलाई त उसकै मैदानमा हारको स्वाद चखायो । त्यसकारण, पनि चेल्सी विरुद्धका खेलमा लिड्स कमजोर मानसिकताका साथ प्रस्तुत हुनेछैन ।
इंगल्यान्डका पूर्व स्ट्राइकर तथा च्याम्पियन्सिपलाई नजिकबाट नियाल्ने डिन एस्टोन बिएल्सालाई प्रतिद्वन्द्वी अनुसारको रणनीति बनाउन सक्ने प्रशिक्षकका रुपमा लिन्छन् । ‘बलिया टिमविरुद्ध बिएल्सा अनुमान नै गर्न नसकिने तरिकाले रणनीति बनाउँछन्,’ एस्स्टोनको भनाई थियो ।
चेल्सी पछिल्ला आठ खेलमा अपराजित छ । आफ्ना खेलाडीहरुले देखाएको बलियो लयका कारण चेल्सी प्रशिक्षक लाम्पार्ड उत्साहित देखिन्छन् । तर उनले ठुला टिमहरुविरुद्ध बेजोड प्रदर्शन गरिरहेको लिड्सलाई कम आक्ने छैनन् । प्रिमियर लिगमा लिड्स १० खेलबाट १४ अंक बनाउदै, १२ औ स्थानमा छ । चेल्सीविरुद्ध जित वा बराबरी गर्नसके लिड्सको शीर्ष ६ भित्र पर्ने सपनामा उर्जा थपिनेछ । शनिबारको खेलमा, न त लाम्पार्डलाई न त बिएल्सालाई एकआपसका विरुद्धमा केही प्रमाणित गर्नुपर्ने आवश्यक छ । उनीहरु केवल, महत्वपुर्ण तीन अंक आफ्नो पोल्टामा पार्ने धुनमा हुनेछन् । (गोल डटकमबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया