न्यूजिल्यान्ड भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टिमले अझै अभ्यास नगर्ने
काठमाडौं : न्यूजिल्यान्डले भ्रमणकारी पाकिस्तानी टिमलाई अभ्यास अनुमति नदिने निर्णयलाई यथावत राख्ने भएको छ । तीन टि-ट्वान्टी र दुई टेस्ट खेल्न न्यूजिल्यान्ड पुगेको पाकिस्तानी टिम हाल क्वारेन्टाइनमा छ । तर कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणमा पर्ने खेलाडीको संख्या १० पुगेपछि पाकिस्तानलाई अभ्यास सञ्चालन गर्न नदिने निर्णयलाई यथावत राखिने भएको हो ।
भ्रमणकारी टिममा गत साता पहिलो पटक संक्रमण देखिएपछि ५३ को संख्यामा रहेका पाकिस्तानी खेलाडी तथा प्रशिक्षकहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । तर आउँदो मंगलबार क्वारेन्टाइन अवधि सकिएकाले पाकिस्तानले अभ्यास सुरु गर्न अनुमति पाउने अपेक्षा गरेको थियो । तर शुक्रबार न्यूजिल्यान्डको स्वास्थ्य विभागले संक्रमणकारी खेलाडीको संख्या बढेकाले अभ्यासको अनुमति दिन नसकिने बताएको छ ।
‘हामीले यो अवस्थालाई ध्यानपूर्वक हेरिरहेका छौ । पाकिस्तानको टिम भित्र संक्रमण बढ्ने सम्भावना बलियो हुँदै गएको छ । त्यसकारण तत्काललाई अभ्यासको अनुमति दिन सकिदैन,’ न्यूजिल्यान्डको स्वास्थ्य विभागका कार्यकारी निर्देशक आस्ले ब्लुमफिल्डले वक्तव्य जारी गर्दै भनेका छन् ।
पाकिस्तानी टिम गत नोभेम्बर २४ मा न्यूजिल्यान्ड आइपुगेको थियो । पाकिस्तानले घरेलु टोलीसँग डिसेम्बर १८ मा पहिलो टि–ट्वान्टी खेल्ने तालिका छ । पर्याप्त अभ्यास नगरी घरेलु टिमविरुध्द खेल्ने–नखेल्ने भन्ने बहस पाकिस्तानमा चलिरहदा, पाकिस्तान क्रिकेट र्बोड (पिसिबी) का प्रमुख कार्यकारी अधिकृत वासिम खानले भने भ्रमणमा रहेका सदस्यहरूसँग राय मागेका छन् । तर खेलाडीहरू भने खेल्ने मनस्थितिमा रहेको बताइएको छ ।
‘खेलाडीहरू कठिन परिस्थितिबाट गुज्रेका छन् । उनीहरू खेलबाट टाढा रहन सक्दैनन् । तर पनि उनीहरूको राय माग्न आवश्यक थियो,’ पिसिबीका मिडिया अधिकृत सामी बर्नीले भने ।
पाकिस्तानी खेलाडीहरूले चार दिन क्वारेन्टाइनमा बिताएपछि सानो समूह बनाएर अभ्यास सुरु गर्ने तालिका थियो । तर कयौं खेलाडीहरूमा संक्रमण देखिएपछि न्यूजिल्यान्डका अधिकारीहरूले भ्रमणकारी टोलीलाई अभ्यास सुरु गर्न अनुमति नदिने निर्णय लिए ।
पचास लाख जनसंख्या रहेको न्यूजिल्यान्डमा अहिले सम्म १ हजार ७ सय १३ लाई कोरोना संक्रमण भएको पाइएको छ । समुदायमा कोरोना फैलनबाट धेरै हदसम्म रोक्न सफल न्यूजिल्यान्डले पाकिस्तान टिममा देखिएको संक्रमणलाई गम्भिर रुपमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया