Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

खेलकुद

बार्सिलोना घर हो, चाँडै फर्कन्छु : मेस्सी

इकागज |
साउन २४, २०७८ आइतबार १७:५ बजे

काठमाडौँ - लियोनल मेस्सीले बार्सिलोनाबाट बिदा लिएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत मेस्सीले क्लब, साथी खेलाडी र बार्सिलोना सहरसँग बिदा मागे । क्याम्प नौउमै भएको पत्रकार सम्मेलनमा मेस्सीले बार्सिलोनासँगको २१ वर्षे यात्रा टुंगिएको घोषणा गर्दै गर्दा नयाँ यात्राबारे पनि संकेत गरे । 

मेस्सीले आफू फ्रान्सेली क्लब परिस सेन्ट जर्मेन (पीएसजी)सँग आबद्ध हुनसक्ने सम्भावना रहेको बताए । यद्यपि पीएसजी बाहेक अरु क्लबसँग पनि आफू सम्पर्कमा रहेको मेस्सीको भनाइ थियो । गत जुलाई १ बाट ‘फ्रि-एजेन्ट’ रहेका मेस्सी पीएसजीसँग लगातार जोडिँदै आएका छन् । कतिपय युरोपेली सञचार माध्यमहरुले त मेस्सीले पीएसजीसँग स्थानान्तरण सहमति समेत गरिसकेको लेखेका छन् ।


हुन त सहमति मेस्सीले बार्सिलोनासँग पनि गरेकै थिए, नयाँ सम्झौताका लागि । तर मेस्सीकै शब्दमा भन्दा, आर्थिक तथा संरचनागत व्यवधानका कारण उनी र क्याट्लन क्लबबीचको सहमति हस्ताक्षरमा परिणत हुन सकेन । गत बिहीबार मात्रै बार्सिलोनाले मेस्सीसँग नयाँ सम्झौता गर्न नसकिने पुष्टि गरेको थियो । उसले पनि उही कारण दियो, आर्थिक व्यवधान । 

‘मैले र मेरो परिवारले बार्सिलोनामै रहनेबारे साचेका थियौँ । नयाँ सम्झौता हुन्छ भन्नेमा हामी सबै ढुक्क पनि थियौँ । तर बिदा माग्ने दिन आयो । हाम्रो बार्सिलोना बसाइ एकदमै सुखद रह्यो,’ मेस्सीले भने,‘ २१ वर्षपछि म बार्सिलोना छाड्दैछु । बार्सिलोना मेरो घर हो । हामी फेरि फर्कनेछौँ । मैले मेरो बच्चाहरुलाई पनि वाचा गरेको छु, हामी फर्कनेछौँ भनेर ।’

नयाँ सम्झौताका विषयमा मेस्सी र बार्सिलोना कैयौँ साता छलफलमा रहे । कतिसम्म भने मेस्सीले बार्सिलोनाले राखेको तलब कटौति प्रस्ताव पनि स्विकारेका थिए । जस अनुसार उनले नयाँ पाँच वर्षे सम्झौतामा साविकको भन्दा ५० प्रतिशत कम तलब पाउने थिए । तर नयाँ सिजनका लागि स्पेनी ला लिगाले कडा आर्थिक अनुशासनको नीति ल्याएपछि मेस्सी र बार्सिलोनाको सहमति कार्यन्वयन हुन पाएन । 

उसैपनि अन्य लिगमा जस्तै ला लिगामा पनि फाइनान्सियल फेयर प्ले (एफएफपी) लागू गरिएको छ । जसको मतलब हो, कुनै पनि क्लबले आम्दानी भन्दा बढी खर्च गर्न पाउँदैन । यसमा ला लिगा कडा रुपमा प्रस्तुत हुने भएपछि बार्सिलोनाले मेस्सीलाई नयाँ सिजनका लागि दर्ता गर्न नपाउने भए । केही समयअघि अनुबन्धन गरिएका सर्जियो अग्वेरोलाई पनि बार्सिलोनाले दर्ता गर्न सकेको छैन । 

मेस्सीको अबको यात्रा फ्रान्सतर्फ मोडिने सम्भावना प्रबल छ । यद्यपि मेस्सीले यसबारेमा निर्णय दिन मानिसकेका छैनन् । पत्रकार सम्मेलन दौरान पनि मेस्सीले पीएसजीका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘अहिले नै केही भन्न सक्‍ने अवस्थामा म छैन । मलाई धेरै टेलिफोन कल आइरहेको छ । हेरौँ के हुन्छ ।’ 


Author

थप समाचार
x