मेस्सी नभए पनि नयाँ सिजनका लागि हामी उत्साहित छौँः बार्सिलोना प्रशिक्षक कुमन
काठमाडौँ- बार्सिलोनासँगको सहयात्रा सकियो, आइतबार लियोनल मेस्सी क्याम्प नौउबाट निर्णय सुनाउँदै थिए । मेस्सीको पत्रकार सम्मेलन भएकै दिन बार्सिलोनाले जोआन गाम्पेर ट्रफीमा युभेन्टसको सामना गर्यो । त्यस खेल बार्सिलोनाले सहजै जित्यो ।
मेस्सीविनाको बार्सिलोनाका लागि मार्टिन ब्रेथवेट, मेम्पिस डिपे र रिकार्डो पुएचले एक–एक गोल गरे । क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टसले बार्सिलोनाको मैदानमा गोल फर्काउन सकेन ।
इटालियन क्लबसँग भिड्नुअघि नै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमन उत्साहित देखिए । मेस्सी नभए पनि आफ्नो टिम नयाँ सिजनका लागि तयार रहेको बताए । ‘मेस्सीको बिदाइका बाबजुद पनि हामी नयाँ सिजनका लागि उत्साहित छौँ । हामीसँग प्रतिभावान युवा खेलाडीहरु छन् । म के कुरामा स्पष्ट छु भने, हामीले नयाँ सिजनमा राम्रो गर्नेछौँ,’ कुमनले भने ।
स्टाडियो योहान क्रुफमा भएको खेलमा करिब तीन हजारको संख्यामा बार्सिलोना समर्थक उपस्थिीत थिए । समर्थकका अगाडि खेल्न पाउँदा आफूहरुको मनोबल बढेको कुमनको भनाइ थियो । ‘हामीले करिब एक वर्ष दर्शकविना नै खेल्यौँ । अन्ततः समर्थक रंगशालमा फर्किएका छन् । समर्थकका अगाडि खेल्न पाउँदा बेग्लै किसिमको उर्जा आउँछ,’ कुमनले भने ।
मेस्सीको बर्हिगमनसँगै सर्जियो बुस्क्वेट्स बार्सिलोनाका नयाँ कप्तान बनेका छन् । यसअघि बुस्क्वेट्स मेस्सीका डेपूटी थिए । ‘बार्सिलोनाको कप्तान हुन पाउनु गर्वको विषय हो । यसअघि बार्सिलोनाले एक सय एक कप्तान पायो । कार्लोस पुयोल । जाभी अनि त्यसपछि मेस्सी । बार्सिलोनालाई मेस्सीले उच्च विन्दुमा पुर्याए । उनको योगदान हामी कहिल्यै भुल्ने छैनौँ,’ बुस्क्वेट्सले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया