खेलकुद

प्रिमियर लिग २०२१/२२ः अक्टबोरबाट खेलाडी तथा दर्शकका लागि खोप अनिवार्य

इकागज |
साउन २७, २०७८ बुधबार १६:३२ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबार रातिबाट सुरु हुँदैछ । कोभिड–१९ महामारीको सन्त्रासबीच गत सिजन अन्त्य भएको थियो । प्रिमियर लिग फर्कनै लाग्दा पनि कोभिडको प्रभाव कायमै छ । 

यस्तोमा बेलायत सरकारले प्रिमियर लिग क्लबका खेलाडीहरू तथा रंगशालामा उपस्थित हुने सबै दर्शकले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने बताइसकेको छ । कमसेकम अक्टोबर १ बाट यो नियम लागू हुने बताइएको छ । तर नयाँ सिजनका सुरुवाती महिनाहरूका लागि भने खेलाडीलाई खोप अनिवार्य गरिएको छैन । 


यद्यपि सबै क्लबले आ–आफ्ना खेलाडीहरूलाई खोप लगाउन आव्हान गरिरहेका छन् । तर उनीहरूले पनि खेलाडीलाई अनिवार्य खोपको नियम लगाउन सकेका छैनन् । न त खोप सम्बन्धी स्पष्ट नियम नै बनाउन सकेका छन् । 

तर कोभिड सम्बन्धी अन्य नियम भने कडाइका साथ लागू गरिएको छ । जस्तै, सातामा दुई पटक खेलाडीहरूको पीसीआर परिक्षण । तर प्रिमियर लिग सुरु भइसकेपछि यस नियममा पनि परिमार्जन गरिने दी एथ्लेटिकले लेखेको छ ।

समर्थकका लागि ? 

दी एथ्लेटिकका अनुसार प्रिमियर लिगका खेल हेर्न दर्शकका लागि दुई विकल्प हुनेछन् । पहिलो, पछिल्लो ४८ घण्टामा गरिएको परिक्षणको रिपोर्ट । जसमा निश्चय पनि नेगेटिभ आएको हुनुपर्ने । अनि दोस्रो विकल्प भनेको खोपको दुवै डोज लगाएको प्रमाणपत्र ।  

रंगशालामा चेक प्वाइन्टहरूको स्थापना गरिनेछ । जहाँ सुरक्षा गार्डहरूले दर्शकहरूसँग परिक्षण रिपोर्ट वा खोप लगाएको प्रमाण पत्र माग्नेछन् । यदि दर्शकले यस किसिमको प्रमाण देखाउन नसके, उनीहरूलाई कारबाही गरिनेछ । तर कारबाही भने क्लबले आफ्नो नियम अन्तर्गत रहेर गर्नेछ । 

गत जुलाईमा बेलायती सरकारले रंगशाला पुग्ने सबै दर्शकले खोप लगाएको हुनुपर्ने बताएको थियो । यो नियम अक्टोबर १ भन्दा अगाडि कडाइका साथ लागू गरिने छैन । त्यसबेला सम्म कोभिड परिक्षण गर्दा नेगेटिभ आएको रिपोर्टले नै काफी हुनेछ । 

र, यसपटक खेलाडीहरूले समूहमा खुशीयाली मनाउन पनि पाउनेछन् । गत सिजन डिसेम्बर पश्चात, खेलाडीहरुलाई गोलको खुशीयाली मनाउँदा सर्तक रहन भनिएको थियो । जस्तै, खेलाडीहरूले एक अर्कालाइै अंगालो मार्न पाउँदैन थिए । नयाँ सिजनमा भने उनीहरुले आफूले चाहेको तरिकाले खुशीयाली मनाउन पाउनेछन् । 


Author

थप समाचार
x