खेलकुद

पीएसजी पुगेर मेस्सीले भने : लक्ष्य च्याम्पियन्स लिग

इकागज |
साउन २७, २०७८ बुधबार १९:५ बजे

काठमाडौँ- भर्खरै पेरिस सेन्ट जर्मन (पीएसजी)सँग आबद्ध लियोनल मेस्सी बुधबार पत्रकार सम्मेलनमा देखा परे । उनको साथमा थिए, पीएसजी अध्यक्ष नासेर अल खेलैफी । पीएसजीको खेलाडीका रुपमा पहिलो पटक पत्रकार सम्मेलनलाई सम्बोधन गरेका मेस्सीले विविध प्रश्नहरूको जवाफ दिए । 
प्रस्तुत छ, पत्रकार सम्मेलनको अंशः

बार्सिलोना बर्हिगमन


म बार्सिलोनासँग कुन हदसम्म नजिक रहेको छु, यो सबैलाई थाहा भएकै कुरा हो । त्यसकारण बार्सिलोना छाड्न कति गाह्रो भयो, तपाईहरूले अनुमान गर्न सक्नुहुन्छ । म एकदमै छोटो समयमा पीएसजी आइपुगे । हुन त पीएसजीसँग पहिलाबाटै कुरा भइरहेको थियो । तर त्यसबेला निर्णय लिने अवस्था थिएन । 

बार्सिलोना मेरो घर हो । जहाँ मैले यत्तिका वर्ष बिताए । बार्सिलोनाले मप्रति सधैँ स्नेह देखायो । सानै उमेरबाट त्यहाँ खेल्दा सबैले माया गरे, साथ दिए । सायद पीएसजी र बार्सिलोनाको च्याम्पियन्स लिगमा भेट हुनसक्छ । त्यो खेल रोमाञ्चक हुनेछ । तर आफ्नै घरमा फरक जर्सीमा खेल्दा अवश्य पनि अनौँठो लाग्नेछ । 

पीएसजी यात्रा

पीएसजीसँग जोडिन पाउँदा खुशी छु । यो क्लबसँग महत्वकांक्षा छ । म पनि अझै महत्वकांक्षी नै छु । हामी महत्वपूर्ण उपाधि जित्न तयार छौँ । मेरो उदेश्य पनि पीएसजीलाई सबै मुख्य प्रतियोगिता जिताउने हो । पीएसजीमा एक सय एक खेलाडी छन् । प्रत्येक पोजिसनमा प्रतिभावान खेलाडी छन् । म विश्वस्तरिय खेलाडीहरूसँग खेल्न गइरहेको छु । यसमा म दंग छु । हुनसक्छ, पीएसजीले अझै खेलाडी थप्नेछ । यस्तोमा यो टिम झनै बलियो हुनेछ । 

उदेश्य 

म फेरि च्याम्पियन्स लिग जित्न चाहन्छु । अहिलेका लागि मेरो सपना र लक्ष्य यही हो । च्याम्पियन्स लिग असाध्यै प्रतिस्पर्धात्मक प्रतियोगिता हो । त्यसकारण पनि यो विशेष छ । च्याम्पियन्स लिग जित्न पीएसजी सक्षम छ । हामी एक भएर खेले, युरोपेली च्याम्पियन बन्न असम्भव छैन । 

पीएसजीका बारेमा 

पीएसजी आउनु अगाडि नै यस क्लबका केही खेलाडीहरूलाई म चिन्थे । जस्तै, नेयमार, डि मारिया, पारादेस । उनीहरूसँगको चिनजानका कारण पनि मलाई निर्णय लिन सजिलो भयो । हुन त, मैले प्रशिक्षक माउरिसियो पोचेटिनोलाई पनि नचिनेको होइन । हामी दुवैजना अर्जेन्टिनाका हौँ । यसकारण पनि हाम्रो सम्बन्ध हुने नै भयो । 
 

फ्रान्सेली लिग वान 

मैले लिग वानका खेलहरू हेरेको छु । गएका केही वर्षमा यो लिगको स्तर बढेको छ । लिगको स्तरवृद्धीको एउटा कारण पीएसजी पनि हो । अन्य क्लबहरूले पनि राम्रो गरिरहेका छन् । जे होस् म नयाँ मैदान, नयाँ समर्थक र नयाँ लिगमा खेल्न आतुर छु । फ्रान्सेली सञ्चार माध्यमको सहयोगमा 


Author

थप समाचार
x