‘खेल जित्न कहिलेकाँही एउटै टिमका दुई गोलरक्षक मैदान उत्रनुपर्छ’
काठमाडौँ-गत सिजन च्याम्पियन्स लिग जितेको चेल्सीले बुधबार राति अर्को युरोपेली उपाधि जित्यो । च्याम्पियन्स लिग र युरोपा लिग विजेताबीच हुने युईएफए सुपर कपका भिडन्तमा चेल्सीले स्पेनी क्लब भिल्लारियललाई हरायो । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल आतिरित्त समय हुँदै पेनाल्टीतर्फ धकेलिएको थियो । जहाँ चेल्सी ६–५ ले अघि रह्यो ।
खेल पेनाल्टीमा जानुअघि चेल्सीका प्रशिक्षक थोमस टुचेलले अनपेक्षित निर्णय लिए । उनले गोलरक्षक परिवर्तन गरे । ११९ औँ मिनेटमा एडोवार्ड मेन्डी मैदानबाहिर निस्कदा, उनलाई प्रतिस्थापन गरे केपा अरिजाबालागाले । आखिरमा टुचेलको निर्णयले चेल्सीलाई च्याम्पियन बनायो । किनभने केपाले राउल अलबियोलको निर्णायक पेनाल्टी बचाउन सफल भए ।
नयाँ सिजन सुरु हुनुअघि नै उपाधि जितेपछि टुचेल प्रशन्न देखिए । उनले गोलरक्षक परिवर्तन गर्ने निर्णय योजना मुताबिक नै भएको पनि बताए । ‘यो निर्णय अनपेक्षित थिएन । हामीले गत सिजन एफए कपमा बार्नस्लीविरुद्ध पछिको खेलबाट गोलरक्षक परिवर्तन गर्ने भन्नेबारेमा छलफल गरेका थियौँ । हामीले दुई गोलरक्षकको पेनाल्टी तथ्यांक पनि विश्लेषण गर्यौँ । त्यसमा केपा अगाडि देखिए । अनि दुवै गोलरक्षकसँग कुराकानी गरेपछि निर्णय लिन गाह्रो भएन,’ टुचेलले भने ।
केपाका लागि मैदान छाड्न मेन्डी सहजै तयार भएको पनि टुचेलको भनाइ थियो । ‘मेन्डीले सहजै स्विकार गरेर राम्रो सन्देश दिए । मेन्डी र केपा दुवै टिमका लागि खेल्ने खेलाडी हुन् । यसकारण टिमलाई सहयोग गर्न मेन्डी तयार भएका हुन् । अन्त्यमा नतिजा हाम्रो पक्षमा आयो । परिवर्तनले सार्थकता पायो,’ टुचेलले थपे ।
खेलपछि मेन्डीको प्रतिक्रिया थियो, कहिलेकाँही उपाधि जित्न दुवै गोलरक्षकले खेल्न आवश्यक हुन्छ । केपा मैदानमा उत्रे उनले टिमका लागि शतप्रतिशत दिने कुरामा आफूले कहिल्यै शंका नगरेको मेन्डीको भनाइ थियो । ‘हामी दुवै चेल्सीका लागि खेल्छौँ । हाम्रो जिम्मेवारी टिमलाई सहयोग गर्ने हो । हामीले त्यो जिम्मेवारी मिलेर पूरा गर्यौँ,’ मेन्डीले भने ।
उता केपाले खेल दौरान आफू मैदानमा उत्रन तयार भएर बसेको प्रतिक्रिया दिए । ‘मेन्डीले चेल्सीका लागि असाध्यै राम्रो खेलेका छन् । यद्यपि मैदानमा म प्रवेश गर्ने अवस्था पनि आउनसक्छ भन्ने सोचेको थिए । मैले पेनाल्टीमा विपक्षीको मनोविज्ञान बुझ्ने प्रयास गरे र सफल पनि भए,’ केपाले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया