म्यानचेस्टर सिटीका ‘असिस्ट किङ’ केभिन डे ब्रुएना
काठमाडौँ : प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले फुलहमलाई पराजित गर्दा केभिन डे ब्रुएनाले एक-एक गोल र असिस्टको योगदान गरे । जारी सिजनमा सिटीका खेलाडीहरूले अपेक्षित संख्यामा गोल गर्न नसकिरहेको अवस्थामा ब्रुएनाको गोलले प्रशिक्षक पेप ग्वार्डिओलालाई खुशी बनाएकै हुनुपर्छ ।
हुन त डे ब्रुएना आफैँ पनि स्वाभाविक लयमा छैनन् । तर अपेक्षित लयमा नहुदाँ पनि बेल्जियन प्लेमेकरले जारी सिजनमा सिटीका खेलाडीहरूकालागि १२ खेलमा १० असिस्ट प्रदान गरिसकेका छन् । फुलहम विरुद्धको जितमा डे ब्रुएनाले रहिम स्ट्रलिङकालागि गोल पास उपलब्ध गराए । अनि पेनाल्टीमा गोल गरे ।
डे ब्रुएना निर्णायक क्षणहरूमा गोल गर्न खप्पिस छन् । सहकर्मीहरूका लागि पास उपलब्ध गराउने उनको बानी त छदैँछ । तर टिमका लागि उनको योगदान गोल र गोलको लागि पासमा मात्र सिमित हुँदैन । उनी मिड फिल्ड देखि विपक्षीको पोस्टमा आक्रमण गर्नसम्ममा उत्तिकै क्रियाशिल रहन्छन् । शनिबार फुलहमको पोस्टमा सिटीबाट १६ पटक आक्रमण हुँदा डे ब्रुएना एक्लैले ६ पटक आक्रमण बुनेका थिए । यसबाट पनि पुष्टि हुन्छ, डे ब्रुएनाको योगदान कुनै एक विभागमा सिमित छैन ।
डे ब्रुएना पास मिलाउन मात्र होइन सहकर्मीबाट आएको पास लिन पनि उत्तिकै सिपालु छन् । कुनै पनि मिडफिल्डरका लागि पास मिलाउन मात्र होईन पास ‘रिसिभ’ गर्ने क्षमता पनि हुन जरुरी छ । त्यसकारण पनि इंगल्यान्डमा डे ब्रुएनालाई सबैभन्दा उत्कृष्ट मिडफिल्डरका रुपमा गनिन्छ । डे ब्रुएनाले यस वर्ष (सन् २०२० मा) १४ असिस्टको योगदान गरेका छन् । प्रिमियर लिगमा कुनै पनि खेलाडीले डे ब्रुएनाको यो रेकर्डलाई छुन सकेको छैन । डे ब्रुएनाको रेकर्डलाई मात्र होइन, उनको पास मिलाउने शैलीलाई पनि कुनै खेलाडीले नक्कल गर्न सक्दैनन् । धेरै विश्लेषकहरू यसै भन्छन् । डे ब्रुएना खेल दौरान कहिले पनि हतास देखिदैनन् । उनको एउटा महत्वपूर्ण विशेषता भनेको खेलमा उनले देखाउने धैर्यता हो । उनको बलमाथि नियन्त्रण राख्ने क्षमता परिपक्व छ । अनि उनमा समग्र खेललाई नै कुनै पनि क्षणमा परिवर्तन गर्नसक्ने ल्याकत उत्तिकै छ ।
गत महिना लिभरपुलका विरुद्ध पेनाल्टीमा चुकेका डे ब्रुएनाले जारी सिजनको सुरुवाती खेलहरूमा जम्न सकेनन् । उल्भरह्याम्पटनसँगको उद्धघाटन खेलमा एक गोल र एक असिस्टको योगदान गरेपछि डे ब्रुएनाले त्यसपछिका चार खेलमा जादु देखाउन सकेनन् । तर उनको संर्घषपूर्ण प्रदर्शनमा ब्यस्त तालिकाको पनि भूमिका थियो । डे ब्रुएना सिटीको प्रि-सिजनमा पूर्णरुपमा सहभागी हुन सकेनन् । गत सिजन सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले डे ब्रुएनालाई आराम दिएनन् । न त सिजनको अन्त्यसँगै खेलाडीहरूलाई प्रिमियर लिग क्लबहरूले पर्याप्त छुट्टी नै दिन सके । त्यसकारण पनि डे ब्रुएना नयाँ सिजनको सुरुवाती खेलहरूमा थकित देखिन्थे ।
तर च्याम्पियन्स लिगका केही खेलहरूमा पाएको आराम र प्रिमियर लिगमा ग्वार्डिओलाले ‘लो इन्टेस’ खेल खेलाएका कारण, डे ब्रुएना पछिल्ला साताहरूमा केही हदसम्म चंगा देखिन्छन् । डे ब्रुएनासिटीका लागि पुनःउर्जावान देखिएसँगै सिटीले फुलहमबिरुद्ध सहज जित निकाल्यो । जितपछि सिटीचौथौ स्थानमा उक्लियो ।
शनिबार इतिहादमा डे ब्रुएनाले आफ्नो गोल संख्यालाई बढाउन सक्थे । उनले मौका पनि पाएका हुन् । तर फुलहमका गोलकिपर अरिओलाले नसोचेको खेल खेलिदिए । डे ब्रुएनाले आउँदा खेलहरूमा फुलहमसँगको जस्तो लय देखाए, गोल संख्या बढ्ने नै छ । त्यसो त, डे ब्रुएनाले लन्डन क्लबसँगको खेलमा देखाएको प्रदर्शनले एउटा बलियो सन्देश प्रवाह गर्यो । त्यो भनेको, डे ब्रुएना प्रशिक्षक ग्वार्डिओलाको योजनाको महत्वपूर्ण हिस्सा हुन् । डे ब्रुएना बिना सिटीको आक्रमण फिक्का रहन्छ । अनि उनी बिनाको मिडफिल्डले कुनै जादु देखाउन सक्दैन ।
डे ब्रुएनालाई प्रिमियर लिगको सबैभन्दा उत्कृष्ट मिडफिल्डर मानिन्छ । कत्तिले त उनलाई लिगकै सर्बोत्कृष्ट खेलाडीको दर्जा दिन्छन् । तर जब डे ब्रुएनाको खेल स्तरको बारेमा प्रशंसा हुन्छ, साथमा एउटा संशयको उत्पन्न हुन्छ । त्यो भनेको २९ वर्षिय डे ब्रुएना लामो समयसम्म सिटीमा रहन्छन्, रहँदैनन् भन्ने हो । हालको सम्झौता अनुसार डे ब्रुएना सिटीमा अझै दुई वर्ष रहनेछन् । सिटी उनको बसाई लम्बाउने दाउँमा छ । र, त्यसका लागि सिटीले डे ब्रुएनासँग कुराकानी पनि अघि बढाएको छ । सिटीका सर्मथकहरू चाडै खुशीको खबर सुन्न चाहन्छन् । वास्तबमा समग्र प्रिमियर लिग नै डे ब्रुएनासिटीमा रहुन भन्ने चाहन्छ । आखिरमा सबै लिगहरूलाई उत्कृष्ट खेलाडीको साथ चाहिने त हो ।
केही महिना अघिमात्र, सिटीको ब्यवस्थापनले ग्वार्डिओलालाई नयाँ सम्झौतामा राजी गरायो । अब डे ब्रुएनाको सम्झौता नविकरण गर्ने जिम्मा उनै ग्वार्डिओलाको काँधमा आएको छ । ग्वार्डिओलाले सिटीलाई फेरी पनि उपाधी जिताउने हो भने डे ब्रुएनाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । जसरी उनले बिगतमा गरेका थिए ।(गोलडटकमबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया