खेलकुद

मेस्सी गुमाएको ला लिगा आर्थिक संकट बोकेर फर्कँदै

इकागज |
साउन २९, २०७८ शुक्रबार ६:३२ बजे

काठमाडौँ- स्पेनी ला लिगाको नयाँ सिजन शुक्रबारबाट सुरु हुँदैछ । त्यो पनि लिगका रत्न मानिएका लियोनल मेस्सी विना नै । केही वर्षअघि युरोपकै बलियो मानिने लिगबाट मेस्सीले बिदा लिएका छन् । ला लिगाका लागि मेस्सी बर्हिगमन सर्वाधिक अनपेक्षित खबर रह्यो ।

ला लिगाबाट मेस्सी खोसिँदा सो लिगको स्तर खस्किएको पुष्टि हुन्छ । स्पेनी लिग कमजोर बनिरहेको छ भन्ने दाबीलाई बल पुर्‍याउने अर्को प्रमाण पनि छ । त्यो हो उसको खराब आर्थिक अवस्था । कोभिड–१९ महामारीका कारण ला लिगाले गत सिजन करिब दुई अर्ब युरो घाटा व्यहोर्यो । बार्सिलोना एक्लैको ऋण पनि एक अर्ब २० करोड युरो पुगिसकेको बताइन्छ ।


ला लिगाले आर्थिक संकटसँग जुध्न केही उपाय अबलम्वन गर्न चाहिरहेको छ । तीमध्ये, खेलाडीहरूको तलब सीमा तोक्ने एउटा अस्त्र हो । ला लिगाले नयाँ लगानीकर्ताको पनि खोजी गरिरहेको छ । यही योजना मुताबिक ला लिगाले गत साता मात्रै आफ्नो १० प्रतिशत शेयर बेच्‍ने निर्णय गरेको छ । अमेरिकी कम्पनी सीभीसीलाई ला लिगाको व्यापारिक आम्दानीको हिस्सेदार बनाउन लागिएको हो । तर आउँदो ५० वर्षसम्मका लागि मात्र । ला लिगाले निर्णय गरिसकेको भएपनि यसबारेमा आउँदो बिहीबार मतदान हुँदैछ ।

ला लिगाको निर्णयमा रियल म्याड्रिड र बार्सिलोनाको भने सहमति छैन । उनीहरुको भनाइ छ, आफूहरूको आम्दानीको हिस्सा ला लिगाले सीभीसीलाई जिम्मा लगायो । फेरि यी दुवै क्लब सुपर लिग योजनाका सदस्य हुन् । सुपर लिगको उदेश्य बढी भन्दा बढी आम्दानी नै हो । मुख्यगरी युरोपका ११ ठूला क्लब आपसमा प्रतिस्पर्धा गर्ने र त्यसबाट हुने आम्दानी बाढ्ने, सुपर लिगको योजना हो ।   

मेस्सी र केहि वर्षअघि युभेन्टस गएका क्रिस्टियानो रोनाल्डो विनाको ला लिगा कमजोर मान्न सकिए पनि यसले समग्र स्पेनी फुटबलमा असर परेको भने होइन । स्पेनमा एक सय एक युवा खेलाडी उत्पादन भइरहेका छन् । युरो र ओलम्पिक फुटबलमा स्पेनको प्रदर्शन हेर्दा आउँदो सिजन कयौँ युवा खेलाडीको उदय हुने देखिन्छ । सायद यस्तै अनुमानका कारण हुनसक्छ, स्पेनी क्लबहरु यसपटकको सरुवा बजारमा ठूलो खर्च गर्ने पक्षमा देखिएका छैनन् । 

बरु रियल र बार्सिलोना जस्ता क्लबहरु पनि ‘फ्रि-ट्रान्सफर’मा खेलाडी भित्र्याइरहेका छन् । सन् २०१४ देखि २०१८ सम्म प्रत्येक सिजन च्याम्पियन्स लिगमा एक छत्र नियन्त्रण जमाएका यी क्लबहरुले आफ्ना स्थापित स्टारहरुसँग नयाँ सम्झौता गर्न सकेनन् । जसरी बार्सिलोना कप्तान मेस्सीले क्लब छाडे त्यसरी नै रियलका कप्तान सर्जियो रामोस पनि स्पेन बाहिर पुगे । दुवै खेलाडीको नयाँ गन्तब्य पीएसजी नै बन्यो । 

आफ्ना स्टारहरु गुमाए पनि अन्य क्लबका स्टारहरुलाई भने बार्सिलोना र रियलले आर्कषित गर्न छाडेका छैनन् । बार्सिलोनाले सर्जियो अग्वेरो र मेम्पिस डिपे लगायतका स्थापित खेलाडी अनुबन्ध गर्दा रियलले बायर्न म्युनिखबाट डेभिड अलाबालाई खासेको छ । किलियान एमबाप्पे समेत रियलसँग जोडिएका छन् । 

खेलाडीहरुले छाडेको कुरा गरिरहँदा भुल्न नहुने अर्को बर्हिगमन जिनेदिन जिदानको हो । रियलमा उनको स्थान लिएका छन्, कार्लो एनसिलोट्टीले । दोस्रो पटक रियलका प्रशिक्षक बनेका जिदानका अघि केही चुनौती छन् । सरुवा बजारमा सधैँ ठूलो खर्च गर्ने गरेका रियलको यसपटक शान्त छ । एनसिलोट्टीलाई नयाँ खेलाडीहरुलाई टिममा कसरी उपयोग गर्ने भन्ने तनाव छैन । बरु भएकै खेलाडीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्ता छ । विशेषगरी ग्यारेथ बेल, मार्टिन आडेगार्ड र डानी सेबालोस जस्ता खेलाडीहरुका बारेमा एनसिलोट्टीको निर्णय के हुन्छ ? यसमा सबैको चासो छ । 

जब आर्थिक संकटको आँधीले क्लबहरुलाई छोप्छ, तब उनीहरुले आफ्नो स्थान नगुमाउनु नै उपलब्धी हो । यसको उदाहरण हो, एथ्लेटिको म्याड्रिड । च्याम्पियन प्रशिक्षक डिएगो सिमओनेलाई निरन्तरता दिएको एथ्लेटिकोले इटालियन क्लब रोड्रिगो डे पौउललाई अनुबन्ध गरेको छ । 

एथ्लेटिको बाहेक सेभिया पनि सरुवा बजारमा एक हदसम्म सक्रिय देखिएको छ । गत सिजन चौथो स्थानमा रहेको सेभियाले सुसोलाई स्थायीरुपमै अनुबन्ध गरेको छ भने टोटनहमबाट एरिक लामेलालाई भित्र्याएको छ । खेलाडी खरिदमा मात्र होइन विक्रीमा पनि सेभिया सक्रिय हुन चाहिरहेको छ । उसको लक्ष्य रक्षक जुल्स कौन्डेलाई महंगो रकममा बेच्ने हो । चेल्सी लगायतका क्लब कौन्डेसँग जोडिएको छ । 

गत सिजन शीर्ष चारमा पर्न नसकेको रियल सोसिडाडले पनि खेलाडी थपेको छ । उसले इंग्लिस क्लब बर्नमाउथबाट फुलब्याक डिएगो रिकोलाई स्पेन फर्काएको हो । साढे तीन वर्ष सोसिडाडमा रहिसकेका प्रशिक्षक इमानोल अलुगावासिलले यस पटक सोसिडाडलाई च्याम्पियन्स लिगमा छनौट गराउने अपेक्षा गरिएको छ । शीर्ष चारको दौडको अर्को दाबेदार क्लब भिल्लारियल पनि हो । युरोपा लिग जितेको भिल्लारियलले जुवान फोयथ, बौलाए डिया लगायतका युवा प्रतिभामाथि लगानी गरेको छ ।


Author

थप समाचार
x