खेलकुद

जर्मन बुन्डेसलिगाः दर्शक फर्किएको खेलमा बायर्नको बराबरी

इकागज |
साउन ३०, २०७८ शनिबार १०:४२ बजे

काठमाडौँ- शुक्रबार राति जर्मन बुन्डेसलिगा फर्कँदा बोरुसिया मन्चुनग्लाडबाग र बायर्न म्युनिख भिडे । बोरुसिया पार्क रंगशालाबाट नयाँ सिजन सुरु हुँदा करिब २३ हजार दर्शक उपस्थित थिए । नयाँ नियम अनुसार बुन्डेसलिगा क्लबहरूका रंगशालामा २५ हजारसम्म दर्शकलाई प्रवेश अनुमति दिइएको छ । 

घरेलु दर्शकको समथ पाएको मन्चुनग्लाडबागले च्याम्पियन बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोक्यो । फ्रान्सेली फरवार्ड एलेसन प्लेयले खेलको १० औँ मिनेटमै मन्चुनग्लाडबागलाई अग्रता दिलाए । पहिलो हाफ सकिँनै लाग्दा रोबर्ट लेवान्डोस्कीले बराबरी गोल गरे । गत सिजन उच्च गोलकर्ता बनेका पोलिस स्ट्राइकरले जोसुआ किमिखको पासमा गोल गरेका थिए । 


दोस्रो हाफमा दुवै टिमले गोल थप्न सकेनन् । जबकि बायर्नले लोभलाग्दा कयौँ आत्रमण बुन्यो । बायर्नका विगंर सर्ज गानाब्री त वान भर्सेस वानमा पनि गोल गर्न चुके । 
पहिलो खेलमै रोकिएपछि बायर्नका नयाँ प्रशिक्षक युलियान नागल्सम्यानले आधिकारिक जितका लागि पर्खनुपर्ने भएको छ ।

प्रि-सिजनका चार खेलमा बायर्नलाई जित दिलाएका नागल्सम्यानले बुधबार राति अर्को कठिन परीक्षाको सामना गर्नेछन् । जसमा प्रतिद्वन्द्वी छ, गत सिजन डीएफबी पोकल जितेका बोरुसिया डर्टमन्ड । जर्मन सुपर कपको यो खेलपछि बायर्नले एफसी कोलोनको सामना गर्नेछ ।


Author

थप समाचार
x