स्पेनी ला लिगाः भ्यालेन्सियामा नयाँ प्रशिक्षक बोरडालासको विजयी सुरुवात
काठमाडौँ- जोसे बोरडालास करिब पाँच वर्ष गेटाफेको प्रशिक्षक रहे । गत मेको अन्तिम साता भने उनी भ्यालेन्सियासँग आबद्ध भए । भयालेन्सिया, स्पेनी ला लिगाका ठूला क्लबमध्येको एक हो ।
तर यो क्लब खराब स्थितिमा छ । गत सिजन भ्यालेन्सिया १३ औँ स्थानमा सीमित भयो । समर्थकहरुले क्लब अध्यक्ष पिटर लिमविरुद्ध आन्दोलनसमेत गरे । मैदानबाहिरको समस्या समाधान गर्ने जिम्मा लिएका लिमले मैदानभित्र नतिजा सुधार्ने जिम्मा दिएका छन्, बोरडालासलाई । जसले सीमित स्रोत साधन भएको गेटाफेमा सन्तोषजनक काम गरेर देखाएका थिए ।
संयोग कस्तो भने, सिजनको पहिलो खेलमा बोरडालासले आफ्नो पुरानो क्लबको सामना गर्नुपर्यो । करिब १० हजार दर्शक उपस्थित मेस्टाला रंगशालामा बोरडालासले विजयी सुरुवात गरे । शुक्रबार रातिको खेलमा भ्यालेन्सियाले १–० को जित दर्ता गर्यो ।
खेलको तेस्रो मिनेटबाटै भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो । खतरनाक ट्याकल गरेको भन्दै रेफ्रीले मिडफिल्डर ह्युगो गुइलामोनलाई रातो कार्ड देखाए । सुरुवातमै झट्का व्यहोरे पनि भ्यालेन्सियाले ११ औँ मिनेटमा गोल गर्यो । कार्लोस सोलेरले पेनाल्टीमा गोल गरे । गेटाफे पनि खेलको ७६ औँ मिनेटमा १० खेलाडीमा सीमित भयो । उसका रक्षक एरिक काबाकोले दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
ला लिगामा शनिबार साँझ र राति चार खेल हुँदैछन् । जसमध्ये रियल म्याड्रिडले अलाभेसको सामना गर्दैछ । त्यस्तै आइतबार च्याम्पियन एथ्लेटिको म्याड्रिडले सेल्टा भिगोको भ्रमण गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया