टोटनहम-सिटी भिडन्तअघि केनमाथिको दुविधा
काठमाडौँ- शुक्रबार रातिबाट इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएको छ । उद्घाटन खेलमा आर्सनलले हार व्यहोर्यो । त्यो पनि नव प्रवेशी बे्रन्टफोर्डसँग । शनिबार थप सात खेल हुँदैछन् । चेल्सीले लन्डनकै अर्को क्लब क्रिस्टल प्यालेसलाई स्टाम्फोर्ड ब्रिजमा स्वागत गर्दैछ । उता लिभरपुलको भेट नर्विच सिटीसँग हुनेछ ।
आइतबार भने प्रिमियर लिगमा दुई खेल हुनेछन् । न्यूकासल युनाइटेड र वेस्टह्याम युनाइटेड भिड्नेछन् म्यानचेस्टर सिटी टोटनहम हट्सपरको मैदान पुग्नेछ । सिटी र टोटनहमबीचको खेल यस साताकै ठूलो खेल हो । अनि विशेष पनि । विशेष ह्यारी केनका कारण ।
इंग्ल्यान्डका कप्तान केन इंग्लिस च्याम्पियनसँग जोडिँदै आएका छन् । बिदा मनाउन अमेरिका पुगेका केन ढिलोगरी मात्रै टोटनहमको अभ्यासमा सामेल भए । केन आफैँले पनि टोटनहम छाड्ने इच्छा व्यक्त गरेका छन् । उता सिटीलाई पनि केन जस्तो स्थापित स्ट्राइकरको खाँचो छ । सर्जियो अग्वेरो बार्सिलोना गएपछि उसको टिममा स्ट्राइकरका रुपमा गाब्रियल जिजस मात्र छन् ।
यद्यपि केन अनुबन्ध गर्न सिटीलाई सजिलो भने छैन । किनभने केनको टोटनहमसँगको सम्झौता सन् २०२४ मा मात्रै सकिनेछ । यस्तोमा टोटनहमले केनको मोल कमसेकम १० करोड तोकेको छ । जुन केही समयअघि सिटीले ज्याक ग्रेलिसका लागि तिरे बराबरको रकम हो ।
‘ह्यारी असाधारण स्ट्राइकर हुन् । उनको प्रतिभामाथि शंका गर्ने ठाउँ छैन । उनलाई अनुबन्ध गर्न हामी निश्चय पनि इच्छुक छौँ । तर अहिले उनी टोटनहम खेलाडी हुन् । यदि टोटनहम उनलाई बेच्न चाहँदैन भने हामीले थप टिप्पणी गर्ने ठाउँ छैन,’ केही दिनअघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका थिए ।
ग्वार्डिओलाले भनेझैँ केन असाधारण स्ट्राइकर नै हुन् । उनको गोलसंख्याले पनि पुष्टि गर्छ । गत सिजन नै पनि केन प्रिमियर लिगमा उच्च गोलकर्ता बने । त्यसअघि सन् २०१५-१६ र २०१६-१७ सिजनमा पनि केनले गोल्डेन बुट जितेका थिए । विश्वकप २०१८ को उच्च गोलकर्ता पनि केन नै हुन् । केही महिना अघि सकिएको युरो २०२० मा भने केनले सोचे अनुसारको प्रदर्शन गर्न सकेनन् । यद्यपि उनकै कप्तानीमा इंग्ल्यान्ड युरोको फाइनलसम्म पुग्यो । इंग्लिस टोली पेनाल्टीमा भाग्यमानी साबित भएको भए, केनले करियरकै पहिलो ट्रफी उचाल्थे ।
केन हाल २८ वर्षका भए । करियरको उत्कर्षमा रहेका उनले कुनैपनि उपाधि जितेका छैनन् । न त उनले टोटनहममा रहँदा कुनै उपाधि जित्ने सम्भावना देखेका छन् । यहीकारण उनले सिटी स्थान्तरण चाहेका हुन् । फेरि टोटनहम च्याम्पियन्स लिगमा समेत छैन । नयाँ युरोपेली प्रतियोगिता युरोपा कन्फ्रेन्स लिगको समूह चरणमा पुग्न समेत उसले प्ले-अफ जित्नु पर्नेछ ।
टोटनहमले नयाँ सिजनका लागि नुनो इस्प्रिटो सान्टोलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । नयाँ क्लबमा सान्टोका लागि केनलाई फकाउनु नै पहिलो चुनौती देखिएको छ । त्यसअघि सान्टोले केनालई सिटीविरुद्ध खेलाउने वा नखेलाउने भन्ने बारेमा निर्णय लिनुछ ।
‘हामीले यसबारेमा निर्णय लिइसकेका छैनौँ । तर मलाई लाग्छ मैले कुनै पनि खेलाडीलाई टोटनहमका लागि खेल्न मनाउनु पर्ने आवश्यकता छ । किनभने टोटनहम ठूलो क्लब हो । यस क्लबसँग आबद्ध हुन पाउँदा हामील गर्ब महसुस गर्नुपर्छ,’ सान्टोले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया