जोर्डी अल्बाविरुद्ध बार्सिलोना समर्थकको नाराबाजी
पिकेले स्वीकारे तलब कटौतीको प्रस्ताव
काठमाडौँ-स्पेनी ला लिगामा आइतबार राति बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ को जित दर्ता गर्यो । बार्सिलोनाको जितमा फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल गरे । त्यस्तै रक्षकद्वय सर्जी रोबर्टो र जेरार्ड पिकेले एक–एक गोल थपे । उता सोसिडाडबाट कप्तान मिकेल ओयार्जबल र युलेन लाबेटेले गोल फर्काए ।
क्याम्प नौउमा भएको खेलमा बार्सिलोनाका केही समर्थकहरूले आफ्नै खेलाडीविरुद्ध नाराबाजी गरे । उनीहरूकोे नाराबाजी लेफ्ट ब्याक जोर्डी अल्बामाथि लक्षित थियो । अल्बाले तलब कटौतीको प्रस्ताव स्वीकार नगरेकाले उनीविरुद्ध नाराबाजी गरिएको बताइएको छ ।
पछिल्लो समय बार्सिलोनाको आर्थिक अवस्था खराब छ । यस्तोमा बार्सिलोनामा सिनियर खेलाडीहरूले तलब कटौती स्वीकार गर्ने बताइएको छ । अल्बाले तलब कटौती प्रस्ताव नस्वीकार्ने खबर आएपछि बार्सिलोनाका समर्थक आक्रोशित बनेका हुन् ।
बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भने तलब कटौतीको प्रस्ताव स्वीकार गरिसकेका बताइएको छ । उनले तलब कटौती स्वीकार गरेपछि बार्सिलोनाले मेम्पिस डिपे, एरिक गार्सिया र रेय मानाज दर्ता गर्न सकेको गोल डटकमले लेखेको छ ।
पिकेले आफू बाहेक अन्य कप्तानहरूले पनि तलब कटौती स्वीकार गर्ने बताएका छन् । बार्सिलोनामा चार कप्तान छन् । पहिलो रोजाइका कप्तान सर्जियो बुस्क्वेट्स हुन भने बाँकी कप्तान पिके, रोबर्टो र अल्बा हुन् । क्लबको आर्थिक अवस्था सुधार होस् भनेर सबै कप्तानले तलब कटौती स्वीकार गर्ने पिकेको भनाइ थियो ।
‘मैले तलब कटौती स्वीकार गरिसकेँ । अन्य कप्तानसँग पनि क्लबको कुराकानी भइरहेको छ । उनीहरुले पनि चाँडै नै सहमती जनाउने छन् । बार्सिलोना हाम्रो घर हो । हामी सबैले क्लबका लागि योगदान गर्नु नै छ । सुरुमा मैले निर्णय लिए । अब अरुले निर्णय लिनेछन् । यसमा कुनै शंका छैन,’ पिकेले भनेका छन् ।
‘अल्बाको विषयमा भने मिसअन्डरस्ट्यान्डिङ भएको हो । कहिले काँही यस्तो हन्छ । म, अल्बा सहित सबैजना कुराकानी गरिरहेका छौँ । लिग सुरु हुनै लाग्दा कुनै न कुनै खेलाडीले तलब कटौतीमा सहमती गरेको खबर आउनु पर्ने भएकाले मेरो नाम आएको हो । यस विषयमा सबैजना सकारात्मक छन् । त्यसकारण हाम्रो समर्थकहरूले चिन्ता लिनु पर्दैन,’ पिकेले थपे ।
आर्थिक संकटकै कारण बार्सिलोनाले लियोनल मेस्सीलाई नयाँ सम्झौता गराउन नसकेको हो । बार्सिलोनामा बसाइ लम्ब्याउने सम्भावना नरहेपछि मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) तर्फ लागेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया