मेस्सी टिममा नभएपछि बाँकी खेलाडीकाे प्रदर्शन राम्रो हुनैपर्छ: रोनाल्ड कुमन
काठमाडौँ- लियोनल मेस्सी विनाको बार्सिलोनाले नयाँ सिजनको ला लिगामा विजयी सुरुवात गरेको छ । आइतबार रातिको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४-२ ले हरायो ।
खेलपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमनले स्वभाविक प्रसन्नता व्यक्त गरे । ‘बार्सिलोनाको टिममा मेस्सी भइरहेको भए हामी सबै प्रसन्न हुन्थ्यो । विकल्प भएको भए मेस्सीलाई बार्सिलोनामैै राखिन्थ्यो । हाम्रो दुर्भाग्य हो, उनी बार्सिलोनामा छैनन् । यसकारण उनको अभावलाई बाँकी टिमले पूर्ती गर्नुपर्छ,’ कुमनले भने ।
बार्सिलोनाका लागि मेम्पिस डिपेले डेब्यु गरे । त्यस्तै एरिक गार्सियाले पनि बार्सिलोनाका लागि आफ्नो पहिलो खेल खेले । उनीहरू बाहेक युवा पेड्री, एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट, सर्जियो बुस्क्वेट्स, जेरार्ड पिकेलगायतका खेलाडी पनि बार्सिलोनाको टिममा थिए । कुमनलाई सोधियो, कुन खेलाडीको प्रदर्शन बाँकीको भन्दा बलियो थियो ? उनले रोजे डिपेलाई ।
‘डिपेले वास्तवमै सुन्दर खेल देखाए । एक असिस्ट पनि गरे । उनले सधैँ यही प्रकारको प्रदर्शन गरिरहेका हुन्छन्,’ कुमनले भने । डिपेबाहेक ब्रेथवेटको पनि प्रशंसा गरे, कुमनले । ‘उनको ध्यान टिमलाई सहयोग गर्नेमा हुन्छ । उनले आफ्नो प्रदर्शनमा पनि निकै सुधार गरेका छन् । उनी तिब्र गतिमा खेल्न सक्छन् यसकारण उनलाई रोक्न विपक्षीका लागि सजिलो हुँदैन,’ कुमनको भनाइ थियो । डेनमार्कका फरवार्ड ब्रेथवेटले बार्सिलोनाको जितमा दुई गोल गरेका थिए ।
बार्सिलोनाका डच प्रशिक्षकले रक्षक पिकेको प्रदर्शनमा पनि सन्तुष्टि जनाए । ‘गत सिजन पनि उनी हाम्रो टिमका लिडर थिए । यसपटक पनि उनको प्रदर्शन उही स्तरको छ । उनको व्यवहार पनि उदाहरणीय छ,’ हालै तलब कटौती स्विकार गरेका पिकेका बारेमा कुमनको भनाइ थियो ।
बार्सिलोनाले अब दोस्रो लिग खेलमा एथ्लेटिको बिल्बाओको सामना गर्नेछ । बिल्बाओले नयाँ सिजनको सुरुवात गर्न बाँकी छ । उसले आफ्नो पहिलो खेलमा सोमबार राति एल्चेसँग खेल्नेछ । आउँदो शनिबार राति बिल्बाओसँग भिडेपछि बार्सिलोनाले लिगको तेस्रो खेलमा गेटाफेलाई स्वागत गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया