आईपीएल सुचारु हुँदा अफगानी क्रिकेटर नछुट्ने
काठमाडौँ-अफगानिस्तानका रसिद खान र मोहम्मद नाबीले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने बताइएको छ । अफगानिस्तानको पछिल्लो अवस्थाका कारण दुवै अफगानी क्रिकेटर आईपीएलमा सहभागी हुन नसक्ने हुन् कि भन्ने अनुमान गरिँदै थियो ।
तर सनराइजर्स हैदराबादका प्रमुख कार्यकारी अधिकृत के सानमुगनले खान र नाबी संयुक्त अरब इमिरेट्स (युएई) आईपीएलका लागि उपलब्ध हुने प्रष्ट पारेका छन् । ‘हामी आईपीएलका लागि अगस्ट ३१ का दिन युएई जानेछौँ । खान र नाबी दुवै जना आईपीएल खेल्ने टिममा हुनेछन्,’ सानमुगनले भने । कोभिड–१९ महामारीका कारण रोकिएको आईपीएल २०२१ का बाँकी खेलहरू सेप्टेम्बर १९ बाट सुरु हुँदैछन् ।
तालिबानले अफगानी राजधानी काबुललाई कब्जामा लिएसँगै त्यहाँको मुख्य विमानस्थलको स्वभाविक सञ्चालनमा अवरोध आएको छ । केही दिनअघि अफगानी क्रिकेट स्टार खानले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय समुदायसँग आफगानिस्तानको हालतबारे ध्यानार्कषण गराएका थिए । खान र नाबी आईपीएलका लागि कुन मार्ग हुँदै युएई पुग्छन् प्रष्ट छैन ।
आईपीएलमा हैदराबाद अन्तिम स्थानमा छ । उसले यस सिजन खेलमात्र जित्न सकेको छ । हैदरबादले आफ्नो पछिल्लो खेल राजस्थान रोयल्सविरुद्ध खेलेको थियो । जसमा उ सजिलै पराजित भएको थियो । आईपीएल सुचारु हुँदा हैदराबादले पहिलो खेलमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया