खेलकुद

विश्वकपले पाकिस्तानलाई टी-ट्‍वान्टीको श्रेष्ठ टिममा पुनःस्थापित गराउनेछ : कप्तान आजम

इकागज |
भदौ २, २०७८ बुधबार १९:२१ बजे

काठमाडौँ - यसपालीको टी-ट्वान्टी विश्वकप अक्टोबर १७ बाट सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने विश्वकपको खेल तालिका पनि आइसकेको छ । पहिलो चरणमा दुई समूहमा विभाजित आठ टिम भिड्दैछन् । समूह ‘बी’ को पहिलो खेलमा ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । जुन विश्वकप २०२१ को पहिलो खेल हनेछ । 

समूह ‘बी’ मा ओमान र पपुवा न्युगिनी बाहेक बंगलादेश र स्कटल्यान्ड पनि छन् । विश्वकपको पहिलो दिनको दोस्रो खेलमा बंगलादेश र स्कटल्यान्ड भिड्नेछन् । त्यसैगरी अक्टोबर १८ मा दुई खेल हुनेछन् । समूह ‘ए’ मा आयरल्यान्ड र नेदरल्यान्ड्स अनि श्रीलंका र नामिबिया आपसमा प्रतिस्पर्धा गर्नेछन् । 


अक्टोबर १९ मा स्कटल्यान्डले पपुवा न्युगिनीको सामना गर्नेछ भने सोही दिनको दोस्रो खेलमा घरेलु टिम ओमान र बंगलादेश भिड्नेछन् । त्यसको भोलीपल्ट समूह ए मा नामिबिया र नेदरल्यान्ड्स तथा श्रीलंका र आयरल्यान्डबीचको खेल छ । अक्टोबर २१ मा बंगलादेशले पपुवा न्युगिनी र ओमानले स्कटल्यान्डको सामना गर्नेछन् । प्रारम्भिक चरणका अन्तिम खेलहरू अक्टोबर २२ मा हुनेछन् । त्यस दिनको पहिलो खेल नामिबिया र आयरल्यान्डबीच हुनेछ भने दोस्रो खेलमा श्रीलंका र नेदरल्यान्ड्सको भेट हुनेछ । 

प्रारम्भिक चरणबाट कुल चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर १२ मा भिड्न पहिलाबाटै आठ टिम तयार छन् । ती टिम भारत, अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिज हुन् । सुपर १२ का टिमहरु दुई समूहमा विभाजित हुनेछन् । सुपर १२ का खेलहरू अक्टोबर २३ बाट सुरु हुनेछन् । 

सुपर १२ को समूह २ मा भारत र पाकिस्तान छन् । दुई टिमबीच हुने खेलप्रति सर्वाधिक चासो छ । सुपर १२ अन्तर्गत भारत र पाकिस्तान अक्टोेबर २४ मा दुबईको अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । समूह २ मा भारत र पाकिस्तान बाहेक अफगानिस्तान र न्युजिल्यान्ड पनि छन् । यी चार टिमसँग प्रतिस्पर्धा गर्न प्रारम्भिक चरणबाट दुई टिम आइपुग्ने छन् । उता समूह १ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज छन् । सुपर १२ का दुई समूहका शीर्ष दुईमा रहने दुई-दुई टिम अन्तिम चारमा पुग्नेछन् । 

यसैबीच बाबर आजमले विश्वकप आफूहरुका लागि पाकिस्तानलाई टी-ट्वान्टीको सबैभन्दा बलियो टिमका रुपमा साबित गर्ने मौका रहेको प्रतिक्रिया दिएका छन् । यसो गर्न विश्वकप जित्नु पर्ने र आफूहरू यस्तो लक्ष्यका लागि तयार रहेको पाकिस्तानी कप्तान आजमको भनाइ थियो । 

‘पाकिस्तानी टिमका सबै खेलाडी उत्साहित छन् । सफलताका लागि हामी मेहेनत पनि गरिरहेका छौँ । यो विश्‍वकप हाम्रा लागि पाकिस्तानलाई टी-ट्वान्टीको सबैभन्दा बलियो टिमका रूपमा पुनःस्थापित गराउने मौका पनि हो । विश्वकप जुन परिवेशमा हुन गइरहेको छ, यो हाम्रा लागि उपयुक्त छ,’ बाबरले आईसीसीसँग भनेका छन् । 

पाकिस्तानले सुपर १२ को खेलमा अक्टोबर २७ मा न्युजिल्यान्डको सामना गर्नेछ । त्यसको दुई दिनपछि पाकिस्तानको भेट छिमेकी अफगानिस्तानसँग हुनेछ ।
‘विश्वकपको तालिका सार्वजनिक भएसँगै हामी तयारीको अन्तिम निर्णायक चरणमा पुग्‍न लागेका छौँ । विश्वकप अघि हामीले घरमै न्युजिल्यान्ड र इंग्ल्यान्डसँग खेल्ने तालिका छ । युएई जानुअघि हामी बढी भन्दा बढी खेल जित्‍न चाहन्छौँ,’ आजमले भने । 

यस विश्वकप आजमका लागि कप्तानका रूपमा पहिलो मुख्य प्रतियोगिता हुनेछ । सन् २०१७ मा पाकिस्तानले च्याम्पियन्स ट्रफी जित्दा आजम टिममा थिए । ‘विश्वकप २०१९ मा पाकिस्तानका लागि निराशाजनक रह्यो । त्यसबेला हामी नकआउटमा पुग्‍न सकेनौँ । यसपटक मेरो कप्तानीमा पाकिस्तान निराश हुनु नपरोस् भन्ने चाहना छ । एसियामा भएको आईसीसी इभेन्टमा पाकिस्तान च्याम्पियन बन्न सकेको छैन । आशा छ यसपटक हामीले इतिहास बनाउने छौँ,’ आजमले भनेका छन् ।   


 


Author

थप समाचार
x