अफगानी महिला टिमकी पूर्वकप्तानको आह्वान : सुरक्षित रहन महिला खेलाडीले परिचय लुकाऊ, राष्ट्रिय टिमको जर्सी जलाऊ
काठमाडौँ- अफगानिस्तानको शासन सत्ता तालिबानले कब्जा गरेपछि त्यहाँको खेलकुद गतिविधि रोकिएला कि भन्ने चिन्ता छ । महिलाप्रति कठोर देखिने तालिबानले महिला खेलकुदमाथि रोक लगाउन सक्ने आकँलन पनि गरिएको छ । यस्तोमा अफगानी महिला फुटबल टिमकी पूर्व कप्तान खालिदा पोपलले महिला फुटबलरहरूलाई आ-आफ्नो परिचय लुकाउन आह्वान गरेकी छिन् ।
सामाजिक सञ्जालका खाता बन्द गर्न, परिचय लुकाउन र जर्सी जलाउन आव्हान गरेकी छिन्, पोपलले । हाल डेनिस राजधानी कोपनहेगनमा रहेकी पोपलले तालिबानको विगतका कारण पनि महिला खेलाडीहरू डराउनु पर्ने बाध्यता रहेको बताएकी हुन् । ‘अफगानिस्तानमा तालिबानी लडाुकहरूले कयौँ पटक महिलाको बलात्कार र हत्या गरेका छन् । त्यो पनि ढुंगाले हानेर । यस्तोमा अफगानी महिला त्यसमाथि पनि खेलाडीहरू सुरक्षित छैनन्,’ पोपलले रोयटससँको अन्तर्वार्तामा भनेकी छिन् ।
अफगानिस्तानमा पहिलो पटक महिला फुटबल लिग आयोजन गर्न उल्लेख्य भूमिका खेलेकी पोपलले जवान महिलाहरूलाई अफगानी समाज परिवर्तनका लागि बलियो ढंगले उभिन आह्वान गर्ने गर्थिन् । तर यसपटक भने उनको सन्देश फरक छ ।
‘आज म सबै महिला खेलाडीलाई आ-आफ्नो परिचय लुकाएर बस्न आग्रह गर्छु । सामाजिक सञ्जालमा कुनै पनि तस्बिर, सूचना, परिवारका सदस्यहरूको परिचय नराखौँ । राष्ट्रिय टोलीकै जर्सी छ भने पनि लुकाऔँ । यसो भनिरहँदा मलाई असाध्यै पीडा भइरहेको छ । किनभने हामी सबैल आफ्नो देशका लागि खेल्दा गर्व महसुस गरेका छौँ । तर अहिलेको अवस्थामा जसरी भए पनि आफू सुरक्षित हुन जरुरी छ,’ पोपलले भनेकी छिन् ।
सन् १९९६ देखि २००१ सम्म तालिबान अफगानी सरकारमा थियो । त्यसबेला त्यहाँ इस्लमिक कानुन लागू गरिएको थियो । महिलालाई काम गर्न निषेध गरिएको थियो भने बालिकालाई विद्यालय तथा महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाइएको थियो । घरबाट बाहिर निस्कँदा महिलाका लागि बुर्का अनिवार्य गरिएको थियो । नियम उल्लघंन गर्नेलाई सार्वजनिक रूपमै कारबाही तथा बेइज्जत गरिन्थ्यो ।
यसपटक तालिबानले इस्लमिक कानुन अन्तर्गत रही महिला अधिकारको सम्मान गरिने र उनीहरूलाई अधिकार दिइने बताएको छ । तर पोप लगायतका अफगानी महिला ढुक्क छैनन् । ‘हाल अफगानी महिलाहरू डराएको अवस्था छ । खेलाडी मात्र होइन अधिकारकर्मी महिलाहरू पनि क्रशित छन् । उनीहरूलाई कसले सुरक्षा दिन्छ थाहा छैन । उनीहरूको ढोकामा कतिबेला तालिबान पुग्छन् भन्ने डर छ,’ पोपलले भनिन् ।
उता विश्व फुटबल नियामक निकाय फिफाले अफगानिस्तानको पछिल्लो अवस्थाले आफू चिन्तित भएको बताएको छ । ‘हामी अफगानिस्तान फुटबल संघ तथा अन्य जिम्मेवार निकायसँग सम्पर्कमा छौँ । त्यहाँको अवस्थालाई हामीले नजिकबाट नियालिरहेका छौँ,’ फिफाका प्रवक्ताले भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया